बुटवल । बुटवल उपमहानगरपालिका–११ योगिकुटीस्थित देवस्थल मन्दिर परिसरमा ४५ वर्ष पुरानो स्वामीको रुख ढल्न थालेपछि नयाँ विरुवा रोपिएको छ ।
वि.सं. २०३८ सालमा स्वर्गीय सुन्दर गिरीले मन्दिर परिसरमा स्वामीको बिरुवा रोपेका थिए । हुर्किएर ठूलो भएको स्वामीको रुख पछिल्लो समय अचानक कोल्टे पर्न थालेपछि हटाएर नयाँ विरुवा रोपिएको हो । रुखका हाँगा हटाउने क्रममा भित्री भाग पूर्ण रूपमा कुहिएको र जुनसुकै बेला ढलेर दुर्घटना हुन सक्ने जोखिम देखिएपछि पुरानो रुख हटाउनुपरेको स्वर्गीय गिरीका छोरा पुणानन्द गिरीले जानकारी दिए ।
बुबाको निधनपछि आफूले नै उक्त रुखको रेखदेख गर्दै आएको बताउँदै उनले बुबाको सम्झनालाई जीवित राख्ने तथा हरियाली जोगाउने उद्देश्यले नयाँ विरुवा रोपेको बताए । पुरानो रुख ढल्न थालेपछि त्यसको ठाउँमा नयाँ विरुवा रोपिएको उनको भनाइ छ ।
गर्मी मौसममा उक्त रुखको छहारीमा स्थानीय तथा बाटो हिँड्ने बटुवाहरूले बसेर शीतलता लिने गरेका थिए । रुखले वर्षौंदेखि मन्दिर परिसरको शोभा बढाउनुका साथै यात्रुहरूलाई छहारी प्रदान गर्दै आएको स्थानीय बताउँछन् ।
पुरानो रुख हटाउनुपरे पनि त्यसको ठाउँमा नयाँ विरुवा रोपेर हरियाली र वातावरण संरक्षणमा गिरी परिवारले उदाहरणीय काम गरेको स्थानीयको भनाइ छ ।
