कमल पन्थी
हाम्रो समाजको बुझाइ
नेपाली समाजमा धर्म र अध्यात्म एकअर्काका पर्याय हुन् भन्ने बुझाइ व्यापक छ । मन्दिर जानु, पूजाआराधना गर्नु, व्रत बस्नु, तीर्थ गर्नु, धार्मिक ग्रन्थको पाठ गर्नु र परम्परागत संस्कार पालना गर्नुलाई प्रायः आध्यात्मिक जीवनको परिचायक मानिन्छ । निश्चय नै यी अभ्यासले मानिसलाई आस्था, अनुशासन र आन्तरिक शान्तितर्फ प्रेरित गर्न सक्छन् । प्रस्तुत लेखमा धर्म र अध्यात्मको परिचय, तिनको समानता र भिन्नता तथा आस्तिकता र नास्तिकताका दार्शनिक आधारलाई विवेचना गर्दै प्रचलित बुझाइको समीक्षा गर्ने प्रयास गरिएको छ । उद्देश्य कुनै मान्यता वा विश्वासको पक्ष–विपक्षमा बहस गर्नु होइन; बरु विषयलाई विवेक, तर्क, आत्मचिन्तन र खुला दृष्टिकोणबाट बुझ्ने प्रयास गर्नु मात्र हो ।
अध्यात्मः परिचय र मर्म
सामान्यतः हामीहरु अध्यात्म र धर्मलाई एकै किसिमले बुझ्ने गर्छौँ तर अध्यात्म र धर्म फरक फरक हुन । अध्यात्म भनेको आत्मज्ञान हो । तत्वमीमांसा अर्थात तत्वज्ञान (Metaphysics) हो । वास्तविकताको सिद्धान्त हो । अधि+आत्म= अध्यात्म । आफैभित्र बढी खोतल्नु आफैभित्र अनन्य सम्भवना खोज्नु नै अध्यात्म हो।नेपाली बृहत शव्दकोषका अनुसार,‘आत्मा र परमात्माका गुण एवं तिनको पारस्परिक सम्बन्धका विषयमा गरिने चिन्तन, निरुपण वा विवेचना, भित्री ज्ञान अध्यात्म हो ।’
अध्यात्म कुनै धर्म होइन् । यो मनको विज्ञान हो।धर्मले विशेष आस्था परम्परा र अनुशासनमा आधारित भएर चल्ने हो भने अध्यात्मले मानिसको भित्री चेतनालाई बुझ्न र विकसित गर्न खोज्छ । यो आम अनुसन्धानको बाटो हो, जहाँ बाह्य देवी देवता भन्दा पनि मन, भावना र बिचारहरुको सुक्ष्म अध्ययन गरिन्छ ।अध्यात्म भन्नुको अर्थ हो मनलाई निरीक्षण गर्ने आफ्नो उपस्थितिलाई अनुभूति गर्ने र चेतनाको गहिरो तहमा प्रवेश गर्नु हो । जो आफूलाई तथा अरुलाई पनि जान्दछ त्यो चेतन हो।जो आफूलाई तथा अरुलाई पनि जान्दैन त्यो जड हो । अध्यात्म भनेकोः म को हुँ? जीवनको वास्तविक अर्थ के हो ? सत्य र शान्ति कहाँ छ ? जस्ता प्रश्नहरुको आन्तरिक खोज हो।यो अनुभवमा आधारित हुन्छ । मन,चेतना र आत्मासँग सम्बन्धित हुन्छ ।
धर्मः परिचय र शूक्ष्म अर्थ
धर्म संस्कृत शब्द हो,पाली भाषामा यसलाई धम्म भनिन्छ । प्राणी जगत्मा जसले जे गरिरहेको छ त्यो इमानदारीपूर्वक गर्नु धर्म हो । आफ्नो कर्तव्य निर्वाह गर्नु धर्म हो । सत्य विषयलाई धारण गर्नुलाई धर्म भनिन्छ । धर्म भनेको प्राकृतिक नियम, नैतिक मार्ग, सत्यको पालना, आत्मबोध र समाजका समस्याहरूबाट मुक्ति प्राप्त गर्ने बाटो हो । धर्म जीवनलाई शुद्ध पार्ने नैतिक र विवेकी बनाउने मार्ग पनि हो।सत्य विषयलाई धारण गर्नुलाई धर्म भनिन्छ । नियम भनेकै धर्म हो । नियम छाड्नेको अस्तित्व रहँदैन । मन, वचन र कर्मलाई पवित्र राखेर अरुको उपकार भलाईमा लाग्नु धर्म हो । धर्म आत्मवल हो,सकारात्मक सोच हो । धर्म गर्नु भनेको आफूलाई चिन्नु, सामाजिक जीवन बिताउनु, परिवारवाट माथि उठ्नु, समुदायभन्दा माथी उभिनु, स्वार्थको घेरालाई तोड्नु हो ।
नेपाली बृहत् शब्दकोषका अनुसार स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्य कार्य पुण्यकर्म भनेको छ । यही शब्दकोषले धर्मलाई पुण्य सत्कर्म पनि भनेको छ । प्राचीन कालदेखि नै धर्मलाई ईश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रानुसारको कर्म भनी बुझ्ने गरिएको छ । धर्म यो अर्थभन्दा पनि व्यापक पनि छ।धर्मलाई स्वभाव वा प्रकृतिसंग पनि जोडेर हेर्ने गरिन्छ । व्यक्ति वा वस्तुमा सधै रहिरहने गुण वा मूल वृत्ति,प्रकृति स्वभावलाई धर्म भनिएको छ । धर्म भनेको स्वाभाविक गुण वा सहजवृत्ति हो । असल आचरण सदाचार र नियम हो ।
स्वधर्मः आफूले आफैँलाई नियममा बाँध्नु स्वधर्म हो । ‘स्व’को अर्थ आफू र ‘धर्म’को अर्थ नियम, कानुन, न्याय, कर्तव्य हो । आफूले अवलम्वन गरेको समाजका निम्ति कल्याणकारी कार्य वा आफ्नो कर्तव्य नै स्वधर्म हो । स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहःआफ्नो धर्म पालना गर्दै मृत्यु भए पनि त्यो उत्तम हुन्छ तर अरुको धर्म अपनाउनु भयावह हुन्छ भनेर श्रीमदभागवदगीता ३.५ मा उल्लेख गरिएको छ । ’ धर्म र स्वधर्मका बारेमा महाभारतमा कृष्णले अर्जुनलाई लामो समय खर्च गरेर सम्झाएका छन् ।
धर्मलाई स्वभावका रुपमा हेर्दा
आगोको धर्म तातो हुनु हो । हिउँको धर्म चिसो हुनु हो । पानीको धर्म तिर्खा मेटाउनु÷तल बग्नु हो । सूर्यको धर्म प्रकाश दिनु हो । पृथ्वीको धर्म सबैलाई आश्रय दिनु हो । मानवको धर्म परोपकार गर्नु हो । पत्रकारको धर्म सही सूचना दिनु हो । न्यायाधीशको धर्म न्याय दिलाउनु हो । राजधर्मको अर्थ राजाले निर्वाह गर्ने कर्तब्य हो । प्रकृति अनुकूलको जीवन पनि धर्म हो । सूर्य नियमले उदाँउछ–अस्ताउँछ, मौसम विधिवतरुपमा परिवर्तन हुन्छ,प्रकृति (जसमा राम्रो रितिले क्रियाशीलता हुन्छ) ले आफ्नो कर्तव्य निर्वाह गर्छ, प्राणी जन्मन्छ बढ्छ, मर्छ । नियम भनेकै धर्म हो । नियम छोड्नेको अस्तित्व रहँदैन ।
धर्मको शास्त्रिय मर्म
– ‘परोपकार पुण्डाय’अरुको परोपकार गर्नुलाई वेदव्यासले धर्म भनेका छन् ।
– धर्मो रक्षति रक्षितः अर्थात् जसले धर्मको रक्षा गर्छ धर्मले उसको रक्षा गर्छ । (महाभारत र मनुस्मृति) यहाँ ‘धर्म’ भन्नाले केवल कुनै सम्प्रदाय वा पूजाविधि मात्र होइन, तर कर्तव्य, नैतिकता, सत्य, न्याय र सही आचरण भन्ने बुझिन्छ । जब मानिसले आफ्नो जीवनमा सत्य र नैतिकताको पालना गर्छ, तब त्यो सदाचारले संकट र कठिनाईमा आफैं ढाल बनेर उसको रक्षा गर्छ ।
-‘यातो धर्मस्ततो जय’ ’अर्थात जहाँ धर्म हुन्छ, त्यहाँमात्रै विजय सम्भव हुन्छ । (महाभारत) भारतको सर्वोच्च अदालतको प्रतीक जसलाई यसले आफ्नो आधिकारिक आदर्श वाक्यको रुपमा ग्रहण गरेको छ । (विकिपिडिया)
– ‘धर्मेण धार्यते लोक’ अर्थात् धर्मद्वारा नै संसार धानिएको छ अथवा धर्मले नै लोकको धारण र संरक्षण गर्छ ।
– पूर्वीय दर्शनमा भगवत गीताको पहिलो अध्याय नै ‘धर्म’ शब्दबाट सुरु भएको छ । प्रथम अध्यायमा धृतराष्ट्रले भनेका छन्,‘धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः। मामका पाण्डवाश्चैव किमकुर्वत संजय ।
धर्म र विज्ञान
‘विज्ञानविहीन धर्म दृष्टिविहीन हुन सक्छ भने धर्मविहीन विज्ञान दिशाहीन’ महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन
प्राविधिक समस्याका कारण अन्तरिक्षमा नौ महिना बिताएपछि सन २०२५ मार्च १८ मा पृथ्वीमा फर्किएकी भारतीय मूलकी अमेरिकी नागरिक (नासाको अन्तरिक्ष यात्री) सुनिता विलियम्स आफ्नो घर पुगेर आरध्यदेवको पूजा गर्दै मंगलाचरण गर्छिन् । विज्ञानको उच्चतम सीमासम्म पुगेकी सुनिता विलियम्सले धर्म र आध्यात्मलाई आत्मसात गर्छिन्, किनकि यो अन्धविश्वास नभई चेतनाको उच्चतम रूप हो।विज्ञानले भौतिक रहस्य उजागर गर्छ, प्रविधि प्रदान गर्छ, र जीवनलाई सहज बनाउँछ तर मानव चेतना केवल भौतिक संसारमा सीमित हुँदैन । विज्ञानले शरीरको उपचार गर्न सक्छ,तर मनको शान्ति दिन सक्दैन भन्ने बलियो प्रमाण हो ।
विज्ञानले बाह्य जगत्को रहस्य उद्घाटन गर्छ भने धर्मले मानवको आन्तरिक चेतना र आध्यात्मिक गहिराइको बोध गराउँछ । विज्ञानले जुनसुकै घटना वा वस्तुको‘कसरी’ भन्ने प्रश्नको उत्तर खोज्छ भने धर्मले त्यो घटना वा अस्तित्वको ‘किन’ भन्ने अन्तर्यको खोजी गर्छ । सरल भाषामा भन्दा विज्ञानले हामीलाई साधन दिन्छ तर धर्मले त्यो साधनको सदुपयोग गर्ने विवेक, मूल्यबोध र दूरदृष्टि प्रदान गर्छ । विज्ञानबिनाको धर्मले मानिसलाई कुप्रथा र जडतातर्फ धकेल्छ भने धर्मविनाको विज्ञानले मानिसलाई संवेदनहीन र संहारक बनाउँछ । यी दुवैको सुन्दर समन्वय र सन्तुलनमा मात्रै समग्र मानव जातिको वास्तविक कल्याण सम्भव छ ।
धर्म र राजनीति
धर्मसँग जोडेर हेर्दा विश्वभरी चार प्रकारका राज्य रहेका छन् ।
– धार्मिक राज्यः धार्मिक राज्यमा धर्मग्रन्थ नै संविधानसरह हुन्छ, जस्तो भेटिकन सिटी, जहाँ पोप प्रमुख हुन्छन् ।
– धर्मप्रभावित राज्यः धर्मनिरपेक्ष तर धर्मप्रभावित राज्य धेरै छन् जसमा बेलायत, अमेरिका, स्क्याण्डेनेभियन मुलुकहरू पर्छन् । बेलायतकी महारानी या राजा चर्च अफ इंग्ल्याण्डको प्रमुख हुन्छन् । धेरै कामहरू प्रार्थनाबाट सुरु गरिन्छ । अमेरिकाको पैसामै ‘वी ट्रष्ट इन गड’ लेखिएको छ । ईश्वरको नाममा सपथ ग्रहण गरिन्छ ।
– धर्मनिरपेक्ष राज्यः धर्मनिरपेक्ष राज्यले सबै धर्मलाई समान रूपले हेर्छ, धार्मिक भेदभाव राख्दैन ।
– धर्मविरोधी राज्यः धर्म मान्दैन।पूर्वसोभियत सङ्घ,माक्र्सवादी (पोलपोट) शासनकालको कम्बोडिया, चीन, उत्तर कोरिया धर्मविरोधी राज्य हुन् जहाँ धर्मको कुनै स्थान हुँदैन ।
नेपाल र धर्मनिरपेक्ष राज्य
‘धर्मनिरपेक्ष’ धर्म र निरपेक्ष दुई वटा शब्द मिलेर बनेको छ । निरपेक्षको शाब्दिक अर्थ मतलव नगर्नु, चासो नराख्नु वा अलग हुनु भन्ने हुन्छ । नेपाललाई अन्तरिम संविधान, २०६३ जारी भएसँगै धर्मनिरपेक्ष राज्य घोषणा गरिएको हो । नेपालको संविधान,२०७२ को धारा ४ मा नेपाल ‘धर्मनिरपेक्ष राज्य हो’ भनिएको छ ता पनि सनातनदेखि चलिआएको धर्म–संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनी स्पष्टीकरणमा लेखिएको छ ।’ नेपालअधिराज्यको संविधान,२०४७ मा ‘नेपाल हिन्दू अधिराज्य हो’ भनिएको थियो ।
विश्वमा धर्मनिरपेक्षता कठोर र उदारगरी दुई प्रकारका छन् । भारत अमेरिका लगायत धेरै मुलुकहरू उदारको सूचीमा पर्छन् भने फ्रान्स कठोर धर्मनिरपेक्ष मुलुकमा पर्छ । स्मरणहोस फ्रान्समा धर्मको सङ्केत दिने बस्त्र या चिन्ह लगाएर विद्यालय जान र सार्वजनिक स्थानमा हिँड्नसमेत पाइँदैन ।
धर्मप्रति माक्र्सवादी दृष्टिकोण
धर्मको सामाजिक भूमिकालाई आलोचनात्मक दृष्टिले हेर्ने विचारकहरूमध्ये कार्ल माक्र्स र भ्लादिमिर लेनिन उल्लेखनीय छन् । माक्र्सले धर्मलाई ‘जनताको अफिम’ भनेका छन् । जसले मानिसलाई लठ्ठ बनाउँछ । यस भनाइको आशय धर्मले दुःख, अन्याय र शोषणबाट पीडित मानिसलाई सान्त्वना दिन सक्ने भए पनि त्यसले कहिलेकाहीँ वास्तविक समस्याको समाधान खोज्ने चेतनालाई कमजोर बनाउन सक्छ भन्ने हो । लेनिनले पनि धर्मलाई ‘फलहीन फूल’ अर्थात् फल नदिने फूलसँग तुलना गर्ने अभिव्यक्तिले पनि बाहिरी आकर्षण वा आश्वासनले मात्र जीवनका वास्तविक समस्याको समाधान हुँदैन भन्ने आलोचनात्मक भाव व्यक्त गर्न सक्छ ।
आस्तिक, नास्तिक र मध्यमार्गी
आस्तिकःभगवान हुनुहुन्छ भन्ने पूर्ण विश्वास गर्ने । पुनर्जन्मलाई स्वीकार्ने भएकाले अर्को जन्मलाई सफल बनाउन पुण्य कर्मतर्फ उत्प्रेरित हुने । वेद, उपनिषदलाई प्रमाण मान्ने र ईश्वरीय सत्ता स्वीकार्ने ।
नास्तिकःभगवान् हुनुहुन्छ भन्नेमा विश्वास नगर्ने । पुनर्जन्मलाई नस्वीकार्ने । केवल भौतिकवादी भन्न रुचाउने ।
मध्यमार्गीःभगवान्लाई नपूर्ण विश्वास÷नपूर्ण इन्कार । ढुंगाको मूर्तिमा देवता नहोलान तर त्यसको अनादर गर्न पनि नसक्ने । चेतनाले विज्ञान स्वीकार गरेपनि अवचेतन मनमा संस्कार जीवित । दिमागले भन्छ देवता छैनन् तर मनले चुपचाप ईश्वरलाई स्वीकार्छ ।
निष्कर्षः अध्यात्म समग्रमा एउटा छाता हो । मूल हो । धर्म बाटो हो । अध्यात्म ठुलो घेरा हो । धर्म अध्यात्मको एउटा अंश हो तर आध्यात्मिक बन्नकालागि व्यक्ति धार्मिक बन्नु पर्छ । धर्मले यसरी गर भनेर सिकाउँछ भने अध्यात्मले अनुभूति गराँउछ । धर्मले मानिसलाई अध्यात्मतर्फ लैजान सक्छ तर केवल बाहिरी कर्ममा मात्र सिमित भयो भने अध्यात्म नपुग्न पनि सक्छ । ज्ञान, आत्मचिन्तन र परमात्माको साक्षात्कारमा विश्वास राख्ने अध्यात्मिक हो । कर्मकाण्ड, पूजापाठ वा अन्धविश्वास धर्म होइन, जीवनलाई मर्यादित रूपमा धारण गर्ने, समाजलाई सुव्यवस्थित राख्ने एवं प्रत्येक व्यक्तिलाई आत्मिक र भौतिक उन्नतिको मार्गमा डोराउने शाश्वत नियम नै धर्म हो । अध्यात्म सत्य, आत्मा, चेतना, जीवनको सार र आन्तरिक अनुभुतिको खोज हो । धर्म त्यस खोजलाई व्यवस्थितरुपमा अभ्यास गर्ने मार्ग, परम्परा, आस्था, नियम वा संस्कार हुन्छ । अर्थात् अध्यात्म मूल अनुभूति हो भने धर्म त्यसतर्फ पुग्ने बाटो हो । धेरै चिन्तकहरु भन्ने गर्छन्–धर्मविना अध्यात्म हुन सक्छ तर साँचो अध्यात्मविना धर्म केवल कर्मकाण्डी बन्न सक्छ ।
