रमेश पराजुली
बुटवल । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा ग¥यो ।
लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । यस सिजन लुम्बिनी मात्र अपराजित छ । उता पोखराको भने यो लगातार तेस्रो हार हो र अंकविहिन हुँदै पूछारमा छ । यस सिजन अहिलेसम्म पोखराले मात्र कुनै पनि खेल जित्न सकेको छैन ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४७ रन बनाए । यस्तै विकेटकिपर निरोशान डिकवेलाले २८ बल खेल्दै २ चौका र१ छक्का मदतमा अविजित २७ रन जोडे । रोहित र डिकवेलाले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । ओपनर डार्शी सर्टले १३ र आसिफ शेखले ९ रन बनाएर आउट भए । पोखराका लागि बिपिन खत्रीले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।
पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक २५ रन बनाए । यस्तै ओपनिङ गरेका कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यस सिजन पहिलो खेल खेलेका अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए । सदारा समिराविक्रमा ७, बिपिन आचार्य १, शकिब अल हशन ३, अर्जुन घर्ती ६ रनमा आउट भए । बिपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे । पोखरालाई कम स्कोरमा रोक्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । यस्तै तिक भण्डारीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।
यस्तैगरी मंगलबार नै भएको अर्को खेलमा विराटनगरले जनकपुरलाई २ रनले पराजित गर्दै जित हासिल गरेको छ । जितका लागि विराटनगरले दिएको १७५ रनको लक्ष्य पच्छाएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमा समेटियो । जनकपुरका लागि सैफ हसनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७१ रनको योगदान दिए । उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी विशाल सुसलिङले ३० बलमा ४३ रन बनाए भने जेम्स निसमले १५ बलमा २७ रन जोडे ।
यता बलिङतर्फ विराटनगरका लागि आन्द्रे रसेलले ४ विकेट लिए भने एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रनको योगफल बनाएको थियो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए ।
उनले २ चौका र ५ छक्का प्रहार गरे । लोकेश बमले ४० बलमा ३ चौका र ३ चक्काको सहयोगमा ५० रन बनाए । शुभम रञ्जाने ५ बलमा ७ रनमा अविजित रहे । बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे । यस जितसँगै ४ खेल खेलेको विराटनगरले २ मा जित तथा २ मा हार बेहोर्दै ४ अङ्क बनाएको छ । त्यस्तै समान ४ खेल नै खेलेको जनकपुरको पनि समान २ मा जित तथा २ खेलमा पराजय भोगेको छ । जनकपुरको पनि समान ४ अङ्क नै छ ।
