बनगाई माविका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

मेचीकाली संवाददाता

२० कार्तिक २०८३, बिहीबार
1 shares

बुटवल । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, लुम्बिनी क्षेत्रीय समिति, बुटवलको आयोजनामा रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ स्थित बनगाई माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा १ देखि १० सम्मका करिब ८० जना आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई प्रतिविद्यार्थी ७ थानका दरले कापी, डटपेन र पेन्सिलसमेत प्रदान गरिएको लुम्बिनी प्रदेश शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष एवं कार्यक्रम संयोजक रूपक अर्यालले जानकारी दिए ।

कार्यक्रम नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, लुम्बिनी क्षेत्रीय समिति, बुटवलका अध्यक्ष विष्णु वाग्लेले सानो सहयोगले विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा टेवा पुग्नुका साथै अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास गरे ।
संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मेखबहादुर अधिकारी, संघका पूर्व केन्द्रीय सदस्य कमल नेपाल लगायतले बोल्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नु सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताए । उनीहरूले यस्ता कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्नुका साथै शिक्षाप्रति सकारात्मक ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक नगेन्द्र ददुवाले विद्यालयको तर्फबाट सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा संघका सल्लाहकार श्रवणकुमार जैसवाल, सदस्यहरू मोहन भण्डारी, नारायण मरासिनी, रामप्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राकेश चौधरी, सहायक प्रधानाध्यापक गोविन्द श्रेष्ठ तथा पूर्व प्रधानाध्यापक गोकुलराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयकी शिक्षिका मीरा ज्ञवालीको स्वागत तथा शिक्षक सन्तोष पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।