बुटवल । उद्योग व्यापार संघ बुटवलले आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवलमा आयोजना गर्ने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको सचिवालय बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन परिसरमा स्थापना गरिएको छ ।
संघले बिहीबार सचिवालय रहने भवनमा विधिपूर्वक पूजाआजा सहित सचिवालय स्थापना गरेको हो ।
संघले बुटवल मण्डपमा पुसमा लाग्ने पहिलो पटक मेला आयोजना गरेको हो ।
अब स्टल दर्ता, मेला स्थल व्यवस्थापन, स्टल तथा पेभेलियन निर्माण, व्यवसायीको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलगायतका तयारी लगायतका कामहरु यही सचिवालयबाट हुने संघले जनाएको छ ।
सचिवालय स्थापनापछि बोल्दै संघका अध्यक्ष लोकनाथ पन्थीले यो मेला उद्योग व्यापार संघ बुटवलको मात्र नभई समग्र रुपन्देहीवासीको साझा आर्थिक उत्सव भएकाले उद्योगी–व्यवसायी, कृषक, पर्यटन व्यवसायी, लगानीकर्ता, उपभोक्ता तथा आम नागरिक सबैको सहयोग आवश्यक रहेको बताए ।
स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण मूल नारासहित आयोजना गर्न लागेको ब्यापार मेलाले साना, मझौला देखि ठूला उद्योगी, व्यवसायी लाई समेटेर रुपन्देहीको अर्थतन्त्र चलायमान बनाउने बताए ।
मेलामार्फत उद्यमशीलताको विकास गर्न उत्प्रेरित गर्ने, औद्योगिक व्यवसायको प्रवद्र्धन गर्ने तथा रोजगारी सिर्जनामा टेवा पु¥याउने उद्देश्य राखिएको अध्यक्ष पन्थीले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष पदम जीसीले हालसम्म दुई सय स्टल दर्ता भइसकेका जानकारी दिंदै अब स्टल बुकिङ र दर्ताको काम मेला सचिवालयबाटै हुने बताए ।
मेलाको संरक्षकमा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग व्यापार महासंघ रहेका छन् । त्यसैगरी सह–आयोजकमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघ रहेका छन् ।
मेला सम्पन्न गर्न २९ वटा उपसमिति गठन गरी तयारीका कामहरु धमाधम भइरहेको मेलाका संरक्षक संघका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।
मेलामा ४५० देखि ५०० वटासम्म स्टल रहने संघका महासचिव विजय आचार्यले जानकारी दिए ।
मेलामा स्वदेशी उत्पादनका स्टललाई प्राथमिकता दिइने र स्थानीय व्यवसायीलाई समेत विशेष प्राथमिकता दिइने संघले जनाएको छ ।
मेलामा अटोमोबाइल्ससहित १६ वटा पेभेलियन रहनेछन् । विद्युतीय गाडीदेखि कृषि, पर्यटन, हस्तकला, आईटी, स्वास्थ्य, शिक्षा तथा निर्माण सामग्रीसम्मका उत्पादन र सेवालाई समेटिनेछ ।
१४ दिनसम्म सञ्चालन हुने मेलामा करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको र मेलामा ८ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य राखिएको संघका सचिव एवं प्रचार प्रसार उपसमिति संयोजक सौरभ भुसालले बताए ।

