भारतको राजकीय भ्रमणमा प्रधानमन्त्री शाह

मेचीकाली संवाददाता

८ मंसिर २०८३, सोमबार

बुटवल । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन् । उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए । विमानस्थलमा प्रधानमन्त्री शाहलाई गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाई गरेका थिए ।
गुरुङ, श्रेष्ठ र खरेलबाहेक प्रधानमन्त्री शाहको बिदाइमा विगतमा जस्तो कुनै तामझाम र लावालस्कर देखिएन । उनले नेपाली सेनाबाट सम्मान गारत (गार्ड अफ अनर) पनि लिएनन् । भ्रमण टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् भने निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन् ।

प्रधानमन्त्री शाह भारतीय समयअनुसार आइतबार दिउँसो करिब सवा ३ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेका थिए । प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसरमा भारतका लागि नेपालका राजदूत डा.निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् । प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । त्यहाँ प्रधानमन्त्री शाहले भारतीय सेनाको सलामी लिएका थिए । भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई विमानस्थलमा सलामी दिएका हुन् । विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा पुगेका थिए । सोही होटलमा आइतबार साँझ भारतीय विदेशमन्त्री डा.एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल श्रेत्रीले जानकारी दिए । प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।

यस्तैगरी, सोमबार प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम छ । उनले भारतीय समयअनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा शाह र मोदीबिच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबिच सहमति तथा सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भएको छ । मोदीसँगको भेटवार्ताको क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबिच छलफल हुनेछ ।

भ्रमणका क्रममा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै, नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानवसंशाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयु) आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ ।
सोमबार नै अपराह्न सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति निवासमा हुने भेटघाटपछि अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल प्रस्थान गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले प्रधानमन्त्री बालेनको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । भ्रमणबाट दुई देशबिचको सम्बन्ध अझ प्रगाढ बन्ने र दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा छ । प्रधानमन्त्री बालेनको यो दोस्रो औपचारिक विदेश भ्रमण हो । यसअघि प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए । २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका शाहको भारत भ्रमण विगतका प्रधानमन्त्रीहरूको भ्रमणभन्दा फरक देखिएको छ ।