रमेश पराजुली
बुटवल, मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । भने लगातार दोस्रोपटक उपाधि चुम्ने दाउमा रहेको लुम्बिनी लायन्स उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा च्याम्पियन बनेको सुदूरपश्चिमले पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो । पहिलो र दोस्रो संस्करणमा लगातार फाइनलमा पुगेर उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले यसपटक भने नयाँ इतिहास कायम ग¥यो । एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग नै फाइनलमा पराजित भएको थियो ।
सुदूरपश्चिमको शानदार जित
सुदूरपश्चिमको जितका नायक बनेका जर्ज मुन्सेको आक्रामक शतकको मद्दतमा सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि १० विकेटको शानदार जित निकालेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पच्छाएको सुदुरपश्चिमले १३.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा ग¥यो । गत वर्षको फाइनलदेखि यस संस्करणको कवालिफायरसम्म लुम्बिनीले लगातार तीन खेलमा सुदूरपश्चिमलाई पराजित गरेको थियो । फाइनलमा भने स्कटिस ब्याटर मन्से चम्किएछि सुदूरपश्चिमले सबै हारको बदला लिँदै लुम्बिनीलाई पराजित ग¥यो ।
सुदूरपश्चिमका लागि यसअघि प्लेअफका दुई खेलमा चल्न नसकेका मुन्सेले फाइनलमा शानदार ब्याटिङ गरे । उनले अविजित १२५ रनको विस्फोटक इनिङ्स खेले । उनले मात्र ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १२५ रनको योगदान दिएका हुन् । उनको ब्याटिङले लुम्बिनीका बलरलाई सुरुदेखि नै दबाबमा राखेको थियो ।
मुन्से एनपिएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् भने एनपिएलमा शतक प्रहार गर्ने छैटौं खेलाडी हुन् । यस्तै यस सिजन शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले शतक प्रहार गरेका थिए ।
फाइनलमा मुन्सेलाई साथ दिएका विनोद भण्डारीले पनि अविजित ३० रन बनाए । उनले २७ बलमा ३ चौका प्रहार गर्दै ३० रन जोेडेका हुन । दुवै ब्याटरबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भएको थियो । मन्सीले २८ बलमा अर्धशतक पूरा गरेका थिए भने ४९ बलमै शतक प्रहार गर्दै आफ्नो आक्रामक लय देखाए । सुदूरपश्चिमले पावरप्लेमा मात्रै ६० रन जोडेको थियो । त्यसपछि पनि लुम्बिनीका बलरले विकेट लिन सकेनन् ।
यस्तैगरी, लुम्बिनीका लागि दिलिप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० र विकेटकिपर निरोशन डिकवेलाले २८ रन बनाए । अली शेखले २४ र डार्शी सर्टले २१ रन जोडे । लुम्बिनीका ओपनर आसिफ शेख फाइनलमा व्यक्तिगत १ रनमा आउट भए । यसै सिजन लुम्बिनीमा अनुबन्त्र भएका उनी तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा एबलीडब्लु आउट भए । आसिफले रिभ्यु लिएपनि डिएआरस पछि बलले स्टम्प लागेको दिएपछि उनी आउट भए ।
छैटौं ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो बलमै सर्टलाई बोल्ड गरे । सर्टले १८ बल खेल्दै ४ चौका मदतमा २१ रन जोडे । ३५–२ को स्थितीबाट कप्तान रोहित कुमार पौडेल र विकेटकिपर निरोशन डिकवेलाले लुम्बिनीको इनिङ्स सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । डिकवेलालई ११औं ओभरमा थरिन्दु रत्नायकेले बोल्ट गरपछि रोहितले दिलिप नाथसँग ३४ रनको साझेदारी गरे ।
डिकवेलाले १७ बल खेल्दै १ चौका र २ छक्का मदतमा २८ रन जोडे । रोहित १५औं ओभरको अन्तिम बलमा रनआउट भएका थिए । रोहितले ३१ बल खेल्दै ४ चौका मदतमा ३० रन जोडे । त्यसपछि आएका सन्दिप जोरा ४ रन बनाएर आउट भए । दिलिप नाथ र अली शेखले त्यसपछि लुम्बिनीका लागि छैटौं विकेटका ३३ रनको साझेदारी गरे । लेट केमियो इनिङ्स खेलेका अली शेखले १२ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा २४ रन योगदान गरे ।
अन्तिमसम्म ब्याटिङ गरेका दिलिप नाथले ३१ बल खेल्दै ३ छक्का मदतमा अविजित ३९ रन बनाए । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा थरिन्दु रत्नायके र कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए ।
लिगचरणमा सुदूरपश्चिमको यात्रा भने निकै संघर्षपूर्ण रह्यो । पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले पोखरालाई हराउँदै खेलमा पुनरागमन गरेको थियो । त्यसपछि तेस्रो खेलमा विराटनगरसँग पराजित भए पनि चितवन, कर्णाली, जनकपुर र काठमाडौँलाई लगातार हराउँदै लिग चरणमा दोस्रो स्थान हासिल ग¥यो । सुदूरपश्चिमले लिग चरणमा १० अङ्क बटुलेको थियो ।
त्यसपछि पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको थियो । चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनल यात्रा तय गर्न सफल भयो । यसरी सुदूरपश्चिमले लगातार दुई खेल जित्दै लगातार तेस्रोपटक उपाधि भिडन्तसम्मको यात्रा तय गर्न सफल भएको थियो । त्यसो त लुम्बिनीले प्रतियोगिताको सुरुआतदेखि नै राम्रो खेल प्रदर्शन गर्दै आएको थियो । पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको लुम्बिनीको दोस्रो खेल चितवन राइनोजसँग वर्षाका कारण रद्द भएको थियो ।
त्यसैगरी, पोखरा र जनकपुरलाई हराएको लुम्बिनी पाँचौँ खेलमा काठमाडौँसँग पराजित भएको थियो । त्यसपछि कर्णाली र विराटनगरलाई हराउँदै लिग चरणको शीर्ष स्थानमा रह्यो । लिग चरणमा लुम्बिनीले ११ अङ्क बटुलेको थियो । पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पराजित ग¥यो । यससँगै टोलीले सिधैँ फाइनलमा स्थान बनाएको थियो ।
विभिन्न ८ टोली सहभागी यस प्रतियोगितामा काठमाडौँ गोर्खाज ७ खेलमा ४ जित र ३ हारसहित ८ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । यता चितवन राइनोज ३ जित, ३ हार र एक खेलमा बराबरीसहित चौथो स्थानमा रह्यो । चितवनले ७ अङ्क जोडेको थियो । त्यसैगरी विराटनगर किङ्स पाँचौँ र कर्णाली याक्स छैटौँ स्थानमा रहे । दुवै टोलीले समान ७ खेलबाट ३ जित र ४ हारसहित समान ६ अङ्क जोडका थिए । नेट रनरेटका आधारमा विराटनगरले कर्णालीलाई पछि पारेको हो । पोखरा एभेन्जर्स २ जित र ५ हारसहित ४ अङ्क जोडेर सातौँ स्थानमा रह्यो । त्यस्तै, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स पनि दुई जित र ५ हारसहित समान ४ अङ्क जोड्दै अन्तिम स्थानमा सीमित भयो । नेट रनरेटमा भने पोखरा जनकपुरभन्दा अगाडि रह्यो ।
रिजन बने सर्वोत्कृष्ट नेपाली खेलाडी, पाए कार र बाइक
एनपिएलको तेस्रो संस्करणमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन् । चितवन प्लेअफ पुगेपनि फाइनल भने पुग्न सकेन । रिजनले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडाको कार पुरस्कार पाएका छन् । यस्तै रिजनले उत्कृष्ट बलर घोषित हुँदै पल्सर मोटरसाइकल पनि जिते । सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत उनले जिते । उनले प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै कुल १७ विकेट लिएका थिए । सर्वाधिक विकेटकर्ताको अवार्डसँगै उनले २ लाख रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भए । उनले पुरस्कारस्वरूप ५ लाख रुपैयाँ प्राप्त गरे । नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने खेलाडी बनेका लोकेश बमले पल्सर मोटरसाइकल पुरस्कार पाए । यस्तै इमर्जिङ खेलाडीको अवार्ड जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादवले जिते। उनले पनि मोटरसाइकल पुरस्कार प्राप्त गरे ।
चितवन राइनोजका कमिल मिसरा प्रतियोगिताको इनर्जेटिङ खेलाडी घोषित भए । उनले पुरस्कारस्वरूप २ लाख रुपैयाँ प्राप्त गरे । यसरी एनपिएलको तेस्रो संस्करणमा रिजन ढकाल दुई अवार्ड जित्दै कार उपहार पाउने मुख्य आकर्षण बने । दीपेन्द्रसिंह ऐरी, लोकेश बम, राहुल यादव र कमिल मिसराले पनि व्यक्तिगत प्रदर्शनका आधारमा विभिन्न पुरस्कार प्राप्त गरे ।
सुदूरपश्चिमलाई १० विकेटको जितसहित च्याम्पियन बनाउन सहयोग गरेका सुदूरपश्चिमका जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए । यस्तै उपविजेता लुम्बिनी लायन्सले स्प्रिट अफ क्रिकेटको अवार्ड प्राप्त ग¥यो । तेस्रो संस्करणको एनपिएल च्याम्पियन बनेको सुदूरपश्चिमले १ करोड ५० लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको लुम्बिनीले ८० लाख नगद पुरस्कार पायो । यस्तै तेस्रो हुने काठमाडौँ गोर्खाजले ४० लाख र चौथो स्थान हासिल गर्ने चितवन राइनोजले ३० लाख पाएको छ ।
आठवटै क्लबका लागि रंगशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री बालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने तयारीस्वरूप आठवटै क्लबका लागि आफ्नै क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका छन् । प्रधानमन्त्री शाहले फेसबुक स्टाटसमार्फत तेस्रो सिजनको एनपिएल च्याम्पियन सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने जानकारी दिएका हुन् ।
उनका अनुसार ती रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछन् । प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने जनाएका छन् ।
सरकारको योजनाअनुसार आठवटै एनपीएल क्लबका लागि छुट्टाछुट्टै रंगशाला निर्माण गरिनेछ । त्यसअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ । काठमान्डु गोर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला तथा चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई क्लबको घरेलु मैदानका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठवटै क्लबका लागि फ्लडलाइटयुक्त रंगशाला निर्माण गर्ने योजना कार्यान्वयन भएमा नेपाली क्रिकेटमा घरेलु मैदानको अवधारणा विकास हुनुका साथै एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।

