बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरे । लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र अभ्यासपछि टोली फाइनलका लागि तयार रहेको बताए । उनका अनुसार टोलीले तीन दिनको विश्राममध्ये दुई दिन आराम र एक दिन अभ्यासमा बिताएको थियो ।
लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा पुगेको र जितको लय कायम राखेको भए पनि फाइनलमा त्यसले मात्र नतिजा निर्धारण नगर्ने पौडेलले बताए । क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल भएकाले उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।
एनपिएलमा सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेल जितेको भए पनि उसलाई कमजोर आँक्न नहुने पौडेलले बताउनुभयो । सुदूरपश्चिम बलियो प्रतिद्वन्द्वी भएकाले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो । लगातार दोस्रोपटक कप्तानका रूपमा उपाधि जित्ने अवसरलाई व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको सफलताका रूपमा लिएको उनले बताए । फाइनलसम्म आइपुग्न सबै खेलाडीले मिहिनेत गरेकाले उपाधि जित्नु टोलीका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो क्वालिफायरमा लुम्बिनीसँग व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्य रहेको बताए । उनले लुम्बिनीको बलियो बलिङ आक्रमणलाई फाइनलको मुख्य चुनौतीका रूपमा लिएको उल्लेख गरे । फाइनलका लागि टोलीको तयारी राम्रो भइरहेको बताउँदै ऐरीले लुम्बिनीको बलिङ सामना गर्ने रणनीतिमा विशेष ध्यान दिइएको जानकारी दिए । जारी प्रतियोगितामा विदेशी खेलाडी आउने र जाने क्रमले टोलीको संयोजनमा परिवर्तन गर्नुपरेको उनले बताए । विदेशी खेलाडी बाहिरिँदा नयाँ खेलाडी भित्र्याउनुपर्ने अवस्थाले ब्याटिङ क्रम व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ थियो ।
लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक पुरानो हारको हिसाब बराबर गर्दै पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ । यता लुम्बिनी भने दोस्रोपटक उपाधि चुम्दै एनपीएलमा आफ्नो वर्चस्व स्थापित गर्ने दाउमा छ ।
गत संस्करणको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिएको थियो । जवाफमा लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर ८६ रनको लक्ष्य पूरा गरेको थियो । लुम्बिनीले गत संस्करणको उपाधि यात्रामा लगातार ६ खेल जितेको थियो । सुरुवाती चरणमा तीन हार बेहोरेर पनि उत्कृष्ट पुनरागमन गरेको टोलीले एलिमिनेटर, दोस्रो क्वालिफायर र फाइनल जित्दै उपाधि उचालेको थियो । यसपटक पनि लुम्बिनीले आफ्नो बलियो लयलाई निरन्तरता दिएको छ । जारी संस्करणमा अहिलेसम्म एउटा मात्र खेल हारेको लुम्बिनी लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ ।
यस सिजन लिग चरणको पहिलो भेट र पहिलो क्वालिफायर दुवैमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको थियो । त्यसैले फाइनलमा लुम्बिनीसँग लगातार चौथो जित निकाल्दै उपाधि रक्षा गर्ने अवसर हुनेछ । यता सुदूरपश्चिमसँग भने यस सिजनका दुवै हारसहित अघिल्लो फाइनलको बदला लिँदै पहिलोपटक एनपीएल उपाधि जित्ने अवसर छ । दुई फरक लक्ष्य बोकेका यी टोलीबिच शनिबार हुने फाइनलले एनपिएलको तेस्रो संस्करणको च्याम्पियन निर्धारण गर्नेछ ।
विजेताले १ करोड ५० लाख पाउने, सर्वोत्कृष्ट खेलाडीले कार
एनपिएलको यो सिजनमा विजेता क्लबले एक करोड ५० लाख पुरस्कार पाउनेछ । यो पुरस्कार नेपाली खेलकुदमा दिने सबैभन्दा ठुलो राशिको हो । दोस्रो संस्करणमा विजेता क्लबले एक करोड १० लाख पुरस्कार पाएको थियो । त्यस्तै, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान हासिल गर्नेले ३० लाख पाउनेछन् । अघिल्लो संस्करणमा दोस्रो हुनेले ५१ लाख, तेस्रोले २५ लाख र चौथोले १५ लाख पाएका थिए । त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एकजना नेपाली खेलाडीले कार पाउनेछन् ।
कुन टिमले उपाधि जित्छ भन्ने कौतुहलतासँगै कुन खेलाडी उत्कृष्ट बन्ला ? प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर र इमर्जिङ प्लेअरको पुरस्कार कसले पाउला भन्ने सबैको चासो छ । एनपीएलमा सबैभन्दा चर्चामा रहेको पुरस्कार कार हो । जुन नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले पाउनेछ । यस्तै समग्रमा प्लेअर अफ टुर्नामेन्ट हुने खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिता उत्कृष्ट ब्याटर र बलर सँगै इमर्जिङ प्लेअरले पनि मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछ ।
सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीलाई पनि विशेष क्याप प्रदान गरिनेछ । तर सबैको चासो अहिले कुन नेपाली खेलाडीले कार जित्ला भन्ने नै छ । यसमा विशेषगरी प्लेअफ, फाइनल पुग्ने टिमकै खेलाडीहरू मुख्य दाबेदारको रुपमा छन् । कार पुरस्कार जित्नका लागि व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शनका साथै टिमको जितमा गरेको योगदानलगायत विषय हेरिनेछ । यसअघि पहिलो सिजन सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी र दोस्रो सिजन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले उत्कृष्ट नेपाली खेलाडी बन्दै कार पुरस्कार जितेका थिए ।
रनमा समरा, विकेटमा रिजन अगाडि, फाइनलमा पुगेका दुवै टोलीका खेलाडीको औषत प्रदर्शन
फाइनलअघि प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पोखरा एभेन्जर्सका युवराज समरा हुन् । उनले चार खेलमा एक शतक र दुई अर्धशतकसहित २९४ रन बनाएका छन् । ७३.५० को औसत र १७९.२६ को स्ट्राइक रेटमा ब्याटिङ गरेका समराको उच्च स्कोर १०२ रन हो । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विराटनगर किंग्सका लोकेश बम दोस्रो स्थानमा छन् । उनले सात खेलमा २४२ रन बनाएका छन् । चितवन राइनोजका रवि बोपारा २३८ रनसहित तेस्रो र पोखरा एभेन्जर्सकै कुशल भुर्तेल २३५ रनसहित चौथो स्थानमा छन् । चितवनका डाविड मलानले २२० रन बनाएका छन् ।
बलिङतर्फ चितवन राइनोजका रिजन ढकाल प्रतियोगिताकै सर्वाधिक सफल बलर हुन् । उनले १७ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन १६ रन खर्चेर चार विकेट लिनु हो । चितवनकै कमलसिंह ऐरी र सुदूरपश्चिमका स्कट कुगेलेइनले समान १३ विकेट लिएका छन् । जनकपुर बोल्ट्सका राहुल यादवले १२ विकेट लिँदा लुम्बिनीका शेर मल्लले ११ विकेट हात पारेका छन् । सुदूरपश्चिमका अनिल खरेल र लुम्बिनीका रुबेन ट्रम्पलम्यानले समान १० विकेट लिएका छन् । यसले फाइनलमा भिड्न लागेका दुवै टोलीको बलिङ आक्रमणमा पनि प्रभावशाली खेलाडी रहेको देखाउँछ ।
लुम्बिनीः डिकवेला र शेर मल्लको प्रभाव
साविक विजेता लुम्बिनीको ब्याटिङमा श्रीलंकाली विकेटकिपर ब्याटर निरोशन डिकवेला पछिल्ला खेलमा प्रभावशाली देखिएका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध अविजित ५९ रन बनाउँदै उनले टोलीलाई फाइनल पु¥याउन महत्वपूर्ण योगदान दिएका थिए । ३७ बलको सामना गरेका उनले सात चौका र दुई छक्का प्रहार गरेका थिए ।
ओपनर डार्सी सर्ट र आसिफ शेखबाट भने लुम्बिनीले थप प्रभावकारी सुरुआतको अपेक्षा गर्नेछ । सर्टले प्रतियोगितामा १४८ रन बनाएका छन् भने कप्तान रोहित पौडेलको नाममा सात खेलबाट १२१ रन छ । मध्यक्रममा सन्दीप जोराको प्रदर्शन पनि टोलीका लागि महत्त्वपूर्ण हुनेछ । बलिङमा शेर मल्ल लुम्बिनीका सबैभन्दा सफल खेलाडी हुन् । उनले ११ विकेट लिएका छन् । रुबेन ट्रम्पलम्यानले १० तथा किशोर महतोले नौ विकेट लिएका छन् । पहिलो क्वालिफायरमा शेर र ट्रम्पलम्यान दुवैले दुई–दुई विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङलाई दबाबमा राखेका थिए ।
फाइनलमा पनि लुम्बिनीको बलिङ आक्रमणको नेतृत्व शेर र ट्रम्पलम्यानले गर्नेछन् । सुरुआती ओभरमा विपक्षी ब्याटरलाई दबाबमा राख्नुका साथै मध्य ओभरमा विकेट निकाल्नु उनीहरूको प्रमुख जिम्मेवारी हुनेछ । किशोर महतोको अनुभव र नेपाली बलरहरूको साथले लुम्बिनीको बलिङलाई थप बलियो बनाउन सक्छ ।
सुदूरपश्चिमः कप्तान ऐरीको प्रदर्शन निर्णायक
सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरी प्रमुख खेलाडी हुन् । उनले प्रतियोगितामा २१७ रन बनाएका छन् । पहिलो क्वालिफायरमा लुम्बिनीविरुद्ध ५२ रन बनाएका ऐरी दोस्रो क्वालिफायरमा चितवनविरुद्ध भने १५ रनमै आउट भएका थिए । फाइनलमा उनीबाट टोलीले जिम्मेवार इनिङ्सको अपेक्षा गर्नेछ ।
पछिल्ला खेलमा थारिन्दु रत्नायके सुदूरपश्चिमका लागि निर्णायक खेलाडीका रूपमा देखिएका छन् । दोस्रो क्वालिफायरमा चितवनविरुद्ध ४२ बलमा अविजित ५३ रन बनाउँदै उनले टोलीलाई फाइनल पु¥याएका थिए । प्रतियोगितामा उनको कुल रन १२९ पुगेको छ । बलिङमा पनि उनले ६ विकेट लिएका छन् । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने रत्नायके फाइनलमा सुदूरपश्चिमका महत्वपूर्ण खेलाडी हुनेछन् ।
विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि पछिल्लो खेलमा चितवनविरुद्ध १३ बलमा २३ रन बनाउँदै टोलीलाई योगदान दिएका थिए । इशान पाण्डेले प्रतियोगितामा १३२ रन बनाएका छन् । ओपनिङदेखि मध्यक्रमसम्मका ब्याटरले जिम्मेवारीपूर्वक खेल्न सके सुदूरपश्चिमको ब्याटिङ बलियो बन्न सक्छ । बलिङमा न्युजिल्यान्डका स्कट कुगेलेइन सुदूरपश्चिमका सबैभन्दा सफल खेलाडी हुन् । उनले १३ विकेट लिएका छन् । अनिल खरेलले १० र हेमन्त धामीले सात विकेट हात पारेका छन् । दोस्रो क्वालिफायरमा चितवनविरुद्ध कुगेलेइनले तीन विकेट लिएका थिए भने रत्नायकेले पनि दुई विकेट लिँदै बलिङमा प्रभाव जमाएका थिए ।
फाइनलमा कुगेलेइनको तीव्र गति र अनुभव सुदूरपश्चिमका लागि मुख्य हतियार बन्न सक्छ । अनिल खरेल र हेमन्त धामीले पनि लुम्बिनीको ब्याटिङलाई नियन्त्रणमा राख्नुपर्नेछ । विशेषगरी लयमा रहेका डिकवेला र कप्तान रोहितलाई छिट्टै आउट गर्न सके सुदूरपश्चिमले खेलमा पकड बनाउन सक्छ । यस संस्करणमा भएका आपसी भेट र पछिल्लो प्रदर्शनका आधारमा लुम्बिनी केही बलियो देखिन्छ । उसले लिग चरण र पहिलो क्वालिफायर दुवैमा सुदूरपश्चिमलाई पराजित गरेको छ । ब्याटिङमा डिकवेलाको लय तथा बलिङमा शेर मल्ल र ट्रम्पलम्यानको प्रभावकारी प्रदर्शन लुम्बिनीका बलिया पक्ष हुन् ।
यद्यपि सुदूरपश्चिमलाई कमजोर आँक्न मिल्दैन । लगातार तेस्रो पटक फाइनल खेल्न लागेको टोलीसँग निर्णायक खेलको अनुभव छ । कुगेलेइनको बलिङ र रत्नायकेको पछिल्लो लयले टोलीलाई आत्मविश्वास दिएको छ । दोस्रो क्वालिफायरमा चितवनविरुद्ध कठिन परिस्थितिका बाबजुद जित निकाल्नुले पनि सुदूरपश्चिमको संघर्ष गर्ने क्षमता देखाएको छ ।

