लोप हुँदै गाउँघरका काठेकोल

मेचीकाली संवाददाता

६ पुष २०७९, बुधबार
382 shares

गुल्मी । आधुनिक प्रविधिको प्रयोगसँगै आजभोलि गाउँघरमा मेशिनको प्रयोग बढ्दै गएको छ । यसबाट गुल्मी जिल्लामा परम्परागतरूपमा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठेकोलहरू पनि लोप हुँदै जान थालेका छन् । विगतमा ग्रामीण क्षेत्रमा चिउरी तथा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका ती कोलहरू यति बेला आधुनिकीकरणसँगै विस्तारै लोप हुँदै जान थालेका छन् ।

विगतमा जिल्लाको मुसिकोट, इस्मा, गुल्मीदरबार, हर्दिनेटालगायतका ठाउँहरुमा काठेकोलको प्रयोग हुँदै आएको थियो । स्थानीय कृषकले परम्परागतरूपमा काठेकोलको प्रयोग गरी आफूले उत्पादन गरेको चिउरी, तोरी, सर्सिउँलगायतका वस्तुहरू प्रशोधन गर्दै आइरहेका थिए । तर स्थानीयस्तरमा पुराना सामग्रीको संरक्षणमा पालिका र स्थानीयस्तरबाट समेत खासै देखिँदैन । परम्परागत प्रविधिलाई संरक्षण गर्न र त्यसको महत्व बुझाउन नसक्दा त्यस्ता वस्तुहरू लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का रेशम चालीसेले बताए । पुराना वस्तुहरूको संरक्षण गर्ने भन्दा पनि मानिसहरूले कसरी आफूलाई सहज माध्यमबाट छिटो छरितो हुन्छ भन्ने बुझाइ रहेको उनले बताए ।

गाउँघरमा अझै पनि कतिपय कृषकहरूले काठे कोलको माध्यमबाट चिउरी पेल्दै आइरहेका छन् । काठेकोलको प्रयोग गर्दा लगानी कम लाग्ने भएपनि उक्त कोलमा पेलेर तेल निकाल्ने काम भने त्यत्ति सजिलो छैन । विगतमा वरपरका सबैजना मिलेर पालैपालो हप्तौँ लगाएर भए पनि काठेकोलमा तोरी र चिउरी पेल्ने गरेको बलिथुमका गंगु कुँवरको अनुभव छ । गाउँघरमा बढदो आधुनिकीकरण प्रविधिसँगै स्थानीयवासीबाट संरक्षणको अभावमा यतिबेला ती काठे कोलहरू लोप हुने अवस्थामा पुगेका हुन् ।
हाल तोरी, सर्सिउँलगायतका तेल निकाल्ने वस्तुहरू आधुनिक मेशिनबाट पेल्ने गरे पनि चिउरीको दाना पेल्नका लागि भने काठे कोल निकै उपयोगी हुने कुँवरले बताए । गुल्मीदरबार–१ बलिुथुमकी मनकुमारी सर्तुङ्गे यतिबेला आफ्नै आँखाअगाडि नयाँ पुस्ताले विस्तारै विस्तारै पुराना सामग्रीहरुको प्रयोग गर्न छाड्दै जान थालेको भन्दै गुनासो व्यक्त गरिन् । पुराना वस्तुहरूको संरक्षणका गर्नुभन्दा पनि कसरी छिटो र सजिलो हुन्छ भन्ने मान्यता बढ्दै गएको उनको भनाइ छ ।

गाउँघरका बूढापाकाहरू पनि पुराना वस्तुको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालेका छन् । विगतमा यस्ता कोलहरू गाउँलेहरूले आफूहरूलाई पायक पर्ने सार्वजनिक स्थानहरूमा गाडेर प्रयोग गर्दै आइरहेका थिए । अझै पनि कतिपय कृषकहरूले असार महिनादेखि चिउरीको दाना सङ्कलन गर्ने र असोज महिनादेखि मङ्सिर महिनामा उक्त दानालाई कोलमा पेलेर घिउ उत्पादन गर्दै आइरहेका छन् ।

काठे कोलको संरक्षण गर्ने हो भने चिउरीको घिउबाटै मनग्य आम्दानी गर्न सकिने कृषकहरूको भनाइ छ । अहिले गुल्मीदरबारको टापुडाँडा, सालधारा, रातामाटालगायतका स्थानमा काठे कोललाई स्थानीयवासीहरूले संरक्षण गर्दै आइरहेका छन् । जिल्लामा आयोजना हुने मेला महोत्सवमा मात्र यस्ता वस्तुहरूको खोजी हुने र अन्य समयमा संरक्षण, संवद्र्धन र यसको प्रवद्र्धनमा कसैको ध्यान पुग्न भने अझै सकेको छैन ।