बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।
बस चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढा लगायत यात्रुहरू घाइते भएका छन् । गम्भीर घाइतेहरूमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेका छन् ।
घाइतेहरूको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
