बुटवल । हामी जुन शहरमा जन्मिएका छौँ, हुर्किएका छौँ–त्यही शहरको इतिहास र सांस्कृतिक जराबारे हामीलाई कति थाहा छ ? यही गम्भीर प्रश्नलाई केन्द्रमा राखेर इन्टलेक्च्युअल एकेडेमीले ‘हामी बस्ने शहरको कथा’ शैक्षिक कार्यक्रम सुरु गरेको छ । यसै सिलसिलामा बुधवार कार्यक्रमको पहिलो शृंखला सम्पन्न भएको हो ।
बुटवलको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक बनावटमा केन्द्रित पहिलो शृंखलामा अध्येता तथा वरिस्ठ साहित्यकार देवेन्द्रराज शाक्यले आफ्नो विद्वतापूर्ण प्रस्तुति रखे । उनले जितगढी युद्धको ऐतिहासिक महत्वदेखि लिएर बुटवलको पुरानो व्यापारिक परम्परा र सामाजिक संरचनाबारे जीवन्त चर्चा गरे । नुन, कपडा, अन्न र जडीबुटीको व्यापारिक केन्द्रको रूपमा बुटवलले खेल्दै आएको भूमिका र यहाँको नामाकरणका रोचक प्रसङ्गहरू सुनाउँदा कक्षाकोठामा उपस्थित विद्यार्थीहरू मन्त्रमुग्ध भएका थिए ।
शाक्यले नयाँ पुस्तालाई आफ्नो शहरको इतिहास पढ्न, बुझ्न र संरक्षण गर्न आग्रह गर्दै भने,‘इतिहास केवल बितेको समयको फेहरिस्त मात्र होइन, यो त उज्ज्वल भविष्य निर्माणको आधारशिला पनि हो ।’
इन्टलेक्च्युअल एकेडेमीका प्रबन्ध निर्देशक रामराज पोख्रेलका अनुसार यो कार्यक्रम स्थान–आधारित शिक्षण Place–Based Learning र कथा–केन्द्रित अध्यापन Story–Centered Pedagogy को एउटा नमुना अभ्यास हो । पाठ्यपुस्तकले दिन नसकेको तर जीवनका लागि अपरिहार्य स्थानीय ज्ञानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको परिकल्पना गरिएको पोख्रेलले प्रस्ट पारे ।
शिक्षक सुभास भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई विद्यार्थीहरूले ‘बुटवललाई नयाँ आँखाले चिन्ने’ अवसरका रूपमा वर्णन गरेका छन् । कक्षा ९ मा अध्ययनरत विद्यार्थी रोनित ज्ञवालीले बुटवलमा यति धेरै इतिहास छ भन्ने थाहै नभएको बताउँदै यो कार्यक्रमपछि आफ्नो शहरप्रति अझ बढी माया र सम्मान जाग्न थालेको अनुभव सुनाए । त्यस्तै, कक्षा १० की छात्रा श्रेया गैरेले जितगढी युद्धको वीरगाथाले आफूलाई सबैभन्दा बढी छोएको बताउँदै आफ्नै माटोको गौरवपूर्ण कथा सुन्न पाउनु निकै रोचक र प्रभावकारी रहेको उल्लेख गरिन् । विद्यालय प्रशासनका अनुसार कार्यक्रमको आगामी शृंखला झनै रोचक हुनेछ । अर्को अङ्कमा ‘बुटवलः पश्चिम नेपालको व्यापारिक केन्द्र किन र कसरी ?’ तथा ‘बाजेको पालादेखि जेन–जेडसम्मको समृद्धि’ को कथा प्रस्तुत गरिने तयारी छ ।
