रत्नराज्य मावीमा हाजिरीजवाफ प्रतियोगिता

मेचीकाली संवाददाता

१ फाल्गुन २०७९, सोमबार
258 shares

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ६ देखि कक्षा १२ सम्मका छात्र छात्राहरु बिच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको सहयोग तथा इन्सेकसंग आवद्ध वालअधिकार चेतना समूह रत्नराज्य माविको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले इन्सेकको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी दिंदै मानव अधिकार शिक्षा कार्यक्रमले बालबालिकाहरुले शिक्षाको अधिकारको क्षेत्रमा बिद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप सञ्चनालनबाट भविष्यमा थप टेवापुग्ने समेत बताइन् ।

बिद्यालयस्तरीय विभिन्न क्रियाकलापहरुबाट पनि बालबालिकाहरुको क्षमता वृद्धि हुने भएको हुँदा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको बाल अधिकार चेतना समूहका अध्यक्ष आशिषकुमार रैदासले बताए । विद्यालयका प्राचार्य दिवाकरप्रसाद चौधरीले इन्सेकको सहयोगले बालबालिकाहरुको क्षमता वृद्धि गर्नमा सहयोग पुग्ने भन्दै धन्यवाद दिए । बाल अधिकार चेतना समूह संरक्षक शिक्षक रामशरण चौधरीले विद्यार्थीहरुलाई प्रत्येक शुक्रबार संचालन गरिने अतिरिक्त क्रियाकलापहरुमा थप सहयोग भएको बताए ।

यस्तै मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले यस्ता कार्यक्रमहरुले बालवालिकाहरुको बोल्नेको बिकास हुने र आफ्ना अधिकारहरुको बिषयमा समेत खुलेर कुराहरु राख्न सक्ने बताए । हाजिरीजवाफ प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । जसमध्ये समूह प्रदेश नं १ प्रथम , समूह प्रदेश नं २ द्वितीय र प्रदेश नं. ५ समूह तृतीय भएको थियो ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार बितरण गरिएको थियो । कार्यक्रम बाल अधिकार चेतना समूहका अध्यक्ष आशिषकुमार रैदासको अध्यक्षता तथा शिक्षक हुमाकान्त बेल्वासेको सञ्चालनमा कार्यक्रम भएको हो ।