सैनामैना माविमा साइन्स विषय थपियो

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
1344 shares

– नगरमै पहिलो, सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षाको प्रतिवद्धता

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको रानिबगियामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयले कक्षा ११ मा बिज्ञान विषय थप गर्ने भएको छ । सामुदायिक विद्यालयमा विज्ञान विषय पढाई हुने यो नगरमै पहिलो कार्यक्रम र विद्यालय हो ।

विद्यालयले नगरकै सामुदायिक विद्यालयबाट सर्वशुलभ तवरले विज्ञान शिक्षा प्रदान गर्ने उद्देश्यले यसै शैक्षिक सत्रदेखि विज्ञान विषयमा कक्षा ११ को पठन पाठन सुरु गर्नेगरि सबै तयारी पूरा भएको विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले जानकारी दिए ।

चार वर्ष अघि करिब चार सय विद्यार्थी रहेको यो विद्यालयमा हाल करिब दुई हजार विद्यार्थी रहेका छन् । गत वर्षको एसइइमा मात्रै दुई सय भन्दा धेरै विद्यार्थी सहभागी थिए । नगरका अरु सामुदायिक र संस्थागत विद्यालय समेतलाई मध्यनजर गर्दै नगरमै पहिलोपटक विज्ञान विषयको कार्यक्रम सञ्चालन गर्न लागिएको प्रधानाध्यापक पुरीले बताए ।

विद्यालयले विज्ञान विषय थप गर्ने विषयमा बिहीबार विद्यालयमै पत्रकार सम्मेलन गरेर हालसम्मको तयारी र साइन्स कक्षा सञ्चालनका आवश्यक पूर्वाधारका बारेमा जानकारी गराएको थियो । यस अगाडि व्यवस्थापन र शिक्षा संकायका कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालयले यसै वर्षदेखि कक्षा ११ मा फिजिक्स, केमेस्ट्रि, बायोलोजी, कम्प्यूटर साइन्स वा म्याथका कक्षा सञ्चालन गर्दै छ ।

विद्यालयले प्लस टू मा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्टुर साइन्स तथा फाइनान्सलगायत र शिक्षा शंकायतर्फ गणित, अंग्रेजी, स्वास्थ्य, नेपाली, जनसंख्या तथा वातावरणलगायतका विषयमा अध्यापन गराउँदै आएको प्राचार्य पुरीले जनाए ।

४० वर्षअघि स्थापना भएको यो विद्यालयले पछिल्ला केही वर्षयता सैनामैनाको उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत हुँदै आएको छ । नेपाल सरकारले पनि नमूना विद्यालयका रुपमा यसलाई मूल्यांकन गरेर पुरस्कृत गर्दै आएको छ ।

विज्ञान विषय अध्ययनका लागि बुटवललगायत टाढा जानुपर्ने र खर्चिलो हुनेहुँदा स्थानीय स्तरमा सहज र सर्वशुलभ तवरले अध्यापन गराउने उद्देश्यका साथ नगरमै पहिलोपटक विज्ञान विषय पढाउने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले जानकारी दिए ।

उनले समुदायको विद्यालय भएकाले यसको निरन्तरता र सफलताका साथै गुणस्तरीय शिक्षाका लागि समुदायकै सहयोगको खाँचो रहेको बताए । अभिभावकको सहयोग, सहकार्य र सुझाव अनुसार गुणस्तरीय शिक्षाको प्रतिवद्धतालाई साकार पार्ने उनको भनाइ छ । विद्यालयले बिहीबारै एसइइमा उत्कृष्ट विद्यार्थीहरुसंग अन्तरक्रिया गरेको थियो ।

उत्कृष्टलाई पुरस्कृत गर्नुका साथै नयाँ शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । त्यसअवसरमा प्रधानाध्यापक पुरी, विषयगत शिक्षकहरु, विद्यायल व्यवस्थापन समिति अध्यक्ष बस्याल, सहायक प्रधानाध्यापक यमानन्द चालिसे र शिक्षक हरिराम पौडेललगायतले विद्यायका शैक्षिक कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।