लक्ष्मणघाट माविमा नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२६ चैत्र २०७९, आईतवार
296 shares

कपिलवस्तु । बाणगंगा नगरपालिका–६ लक्ष्मणघाट माध्यमिक विद्यालयको अभिभावक दिवस, नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माणपश्चात् बालबालिकाको आकर्षण बढेको बताए । विद्यालयलाई गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने संस्थाको रूपमा विकास गर्न सकिने र विद्यालय सबैको सहयोगमा चल्ने भएकोले सबैलाई सहयोग गर्न आग्रह गर्दै नगरबाट हुने सहयोगमा कमी नरहने प्रतिबद्धता जनाए ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष घनश्याम खनालले विद्यालयको प्रगति, उन्नतिसहित कृषि विज्ञानको आवश्यक रहेको बताउँदै उच्च शिक्षा स्थापित गर्न सबैलाई सहयोग गर्न आग्रह गरे । सो अवसरमा बिद्यालयले सेवा निवृत्त शिक्षक, शिक्षिकाहरूलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेहरूमा निवर्तमान प्र.अ. धर्मराज भुसाल, गुनाराम गिरी, शिक्षिका कुमारी थापा र शिक्षक कृष्णबहादुर क्षेत्री रहेका छन् । सम्मान ग्रहण गर्दै प्रअ भुसालले आफू सेवा निवृत्त भएपनि विद्यालयप्रति चिन्ता, चासो भएकोले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालयले वार्षिक नतिजा प्रकाशन गर्दै कक्षामा प्रथम, द्वितीय तृतीय र सान्त्वना स्थान हासिल गर्नेहरूलाई स्थानअनुसारको पुरस्कारसमेत वितरण गरेको छ ।

हुमनाथ भट्टराईको अध्यक्षता, प्रसाशकीय अधिकृत खिमानन्द भुसालको विशिष्ट आतिथ्यता, व्यवस्थापन समितिका पदाधिकारी, वडा न.६ का जनप्रतिनिधि, विद्यालयका शिक्षककर्मचारीको उपस्थितिमा कार्यक्रम भएको थियो । प्र.अ.कविराज भण्डारीले कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने चेतनाथ पौडेलले सञ्चालन गरेका थिए ।