चार दिनमा २ सय ७ जना फरार अभियुक्त पक्राउ

मेचीकाली संवाददाता

३० श्रावण २०७८, शनिबार
1400 shares

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न प्रकृतिका अपराध गरी फरार प्रतिवादीहरू धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी उपरीक्षक (एसपि) दानबहादुर कार्कीको नेतृत्वमा ४ दिनमै २ सय ७ फरार प्रतिवादीहरु पक्राउ गर्न कपिलवस्तु प्रहरी सफल भएको हो ।

कपिलवस्तु प्रहरीले सकृय रुपमा फरार पक्राउ कार्यक्रमलाई सुरुवात गरेको ४ दिनभित्रमै २ सय ७ जना फरार प्रतिवादीहरु पक्राउ गरेको हो । कपिलवस्तु प्रहरीले गत साउन २६ गते मंगलबार मात्र ८१ जना, २७ गते बुधबार–७४ जना, २८ गते बिहिबार–२२ जना र २९ गते शुक्रबार ३० जना गरी २ सय ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपि दानबहादुर कार्कीले जानाकारी दिए ।

लुटपाट र जालसाजी मुद्दामा २०५९ जेठ १६ गते र २०५९ असार ३१ गतेको फैसलाले दोषी ठहरिएका २ जनालाई फैसलाको १९ वर्षपछि पक्राउ गरी सजाय भुक्तानको लागि कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपि धर्मराज भण्डारीले बताए । बिहिबार सवारी ज्यान मुद्धाका–३ जना, लुटपिट–२ जना, जालसाजि–२ जना, बनपैदवार, अंश, कुटपिट आदि गरि २२ जना पक्राउ भएको डिएसपी भण्डारीले बताए ।

त्यस्तै बिहिबार १० बर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही १ वर्ष ८ महिना १८ दिन कैद बाँकी रहेका बाणगंगा २ का सुरज बेल्बासे पक्राउ परेका हुन् । यसैगरी वन सम्बन्धी कसुर गरी जनही १ वर्ष कैद र २४ हजार ७ सय ७ जरिबाना फैसला भएर बर्षौँदेखि फरार बाणगंगा १ र २ का जितराम थारु र कृष्ण थारुलाई पक्राउ भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । साथै बिहिबार नै ३ वर्ष १० महिना १९ दिन कैद भुक्तान र १ लाख ९ हजार ३ सय ६५ रुपैयाँ जरिवाना असुलउपर पनि गरिएको छ ।

यसैगरी शुक्रबार ३० जना फरार प्रतिबादी पक्राउ गरि सजाय भुक्तानको लागि उपस्थित गराइएको छ । जालसाजी–२ जना , सवारी ज्यान–१ जना, लागू औषध–१ जना, कुटपिट–१३ जनालगायत विभिन्न मुद्धामा फरार रहेका ३० जना प्रतिवादीलाई पक्राउ गरिएको हो । शुक्रबार सबैभन्दा बढी पक्राउ पर्नेमा वडा प्रहरी कार्यालय चन्द्रौटा, इलाका प्रहरी कार्यालय गोरुसिङगे, कृष्णनगर, पिपरा, गणेशपुर र पकडीका रहेका छन् ।

जिल्लामा काम गर्ने उत्प्रेरणायुक्त प्रतिस्पर्धात्मक वातावरण सिर्जना भएपछि फरार अभियुक्त पक्राउमा सकृयता आएको प्रहरी निरिक्षक शंकर आचार्यले जानाकारी दिए । गत आ.ब २०७७÷०७८ को तुलनामा डेढ गुणा बढी फरार प्रतिबादी ४ दिनमै पक्राउ गर्न सफल भएको भन्दै एसपि दानबहादुर कार्कीले प्रहरीको मुख्य काम नै ऐनमा उल्लेख भए अनुसारको शान्ति सुरक्षा कायम गर्नु भएकाले प्रहरीले खास प्रहरी कार्य गर्दा यस्तो सफलता देखिएको बताए ।

एसपी कार्की भन्छन्,‘अपराध गरेर समाजलाई दुषित पारेर त्यहीँ समाजमा नै लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर नबस्ने भन्दै अपराध गर्नेलाई ढिलो छिटो प्रहरीले कानुनको दायरामा ल्याइ छाड्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तिब्रता दिएका हौँ ।’