कोशी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

मेचीकाली संवाददाता

३२ श्रावण २०७८, सोमबार
470 shares

काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सकिएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ ।

प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने करिब २ हजार मेगावाट जलविद्युत आयोजनाहरूको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । लाइनलाई मंगलबारबाट ३३ केभीमा सञ्चालन (चार्ज) गरिनेछ ।

‘इनरुवामा २२० केभीको सबस्टेसको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिने छ,’घिसिङले भने, ‘यसले बर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ ।’

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका(१७ स्थित चतरा(धरान ३३ केभी लाइनमा ल्याइने छ । तिरतिरे-बसन्तपुर-धनकुटा-धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरू बर्खाको समयमा पूर्णक्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ ।

संखुवाभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको बसन्तपुरमा गरी ३ वटा सबस्टेसनको निर्माण गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । नेपाल सरकार, विद्युत प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा प्रदेश १ का भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो ।

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा-बसन्तपुर-वानेश्वर-तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण गरिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ ।

तेस्रोमा वसन्तपुर-ढुंगेसाँघु (ताप्लेजुङ) ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइ काम भइरहेको छ । १ सय ३२ वटा टावर निर्माण गर्नु पर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।