कोभिडले शहरबाट गाउँ फर्काएर उद्यमी बनायो

मेचीकाली संवाददाता

६ श्रावण २०८०, शनिबार
437 shares

टोपलाल अर्याल

गुल्मी। छत्रकोट गाउँपालिका–४ का ३७ वर्षीय चिरञ्जीवी पन्थ गाउँमा विद्युत्को काम गर्थे । गाउँमै सानोतिनो व्यावसाय थियो । बिस्तारै परिवारका आवश्यकता बढ्दै गएपछि गाउँ छोडे । त्यो बेला शहरको रोजगारी र छोराछोरीहरुलाई राम्रो ठाउँमा पढाउने हुटहुटी थियो । ०७५ सालमा बुटवल झरेका पन्थले पाटनरमा होटल गर्न थाले । तर, दुर्भाग्य ०७७ बाट कोभिड सुरु भयो । होटलको कमाइ खस्किँदै गएपछि लगानी डुब्ने जोखिम बढ्यो । उनी फेरि ०७७ सालमा बुटवलबाट आफ्नै गाँउ फर्किए ।

उनले गाउँ आएपछि एक वर्ष कृषि खोजमा बिताए । ०७८ साल आठ सय अकबरे खुसार्नी लगाए । अकबरेले ५२ हजार कमाएपछि पन्थ उत्साहित भए । ०७९ मा २२ हजार अकबरे खुसार्नी लगाएपछि साढे सात लाख आम्दानी भयो । खुसार्नीबाट मात्रै साढे चार लाख नाफा कमाए । अहिले खुर्सानीसहित बेमौसमी ८५ सय बन्दा गोपी रोपेका छन् । बेमौसमी तरकारीको मूल्य राम्रो भएपनि उत्पादन सफलतामा चुनौती छ । उनी लामो समयको खडेरी र पछिल्लो समयको निरन्तर परेको पानीले गोपीमा केहि समस्या भएपनि राम्रो आम्दानीको आशामा छन् । उनले कृषि ज्ञान केन्द्रमार्फत आर्थिक तथा प्राविधिक हियोग पाएका छन् ।

पन्थले कृषि ज्ञान केन्द्रका हरेक कर्मचारीहरुको किसानमैत्री मानसिकताको प्रशंसा गरे । उनले बजारको समस्या समाधानमा राज्यले काम गरे आफूहरुले भनेको समयमा लगानीअनुसारको उत्पादन गर्न सक्ने विश्वास व्यक्त गरे । पन्थले व्यावसायीक बोइलर कुखुरा पनि पालेका छन् । गाईभैँसीबाट दैनिक २५ लिटर दुध गौरव डेरी रिडी पठाउँदै आएका छन् । पन्थले छिमेकी ज्ञानेश्वर ज्ञवालीको करिब ६० रोपनी जग्गा वार्षिक २० हजारका दरले लिजमा लिएका छन् । उनले आगामी वर्ष सरकारीस्तरबाट सहयोग भए दुई हजार कागती रोप्ने योजनामा रहेका छन् । त्योबाहेक थोपा सिँचाइमार्फत बाँकी जग्गाको उपयोगका बिषयमा पनि स्थानीय तह र कृषि ज्ञानकेन्द्रसँग समन्वय भइरहेको पन्थले बताए ।

पन्थले कृषिसंगै कुटानीपिसानी र किराना व्यावसायसमेत गरेका छन् । पन्थ गाउँ फर्किएर कृषिमा त रमाएका छन् नै । छोराछोरीको पढाइले समेत उत्साहित छन् । उनका १० वर्षीय छोरा रिगन पन्थ अर्जुन आवासिय माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययन गर्छन् । ६ वर्षीया छोरी रियान्सी पन्थ सरस्वती बोहा आधारभूत विद्यालयमा पढ्छिन् । छोराछोरीनै विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् ।

श्रीमती रीता कँडेल पन्थले पनि चिरन्जीवीकै कृषि कर्ममा सहजीकरण गरेकी छन् । पन्थको परिवारबाहेक दैनिक दुई जनाले काम गर्छन् । सिजनअनुसार धेरै जनालाई आंशिक रोजगारी दिँदै आएको पन्थले बताए । लुम्बिनी कृषि तथा पशुपंक्षी फर्ममार्फत पन्थलाई कृषि ज्ञान केन्द्र गुल्मीको एक लाख रुपैयाँको सहयोगमा मल्चिङ प्रविधिमा आधारित बेमौसमी गोपी उत्पादनको काम दिएको कृषि ज्ञान केन्द्रका प्रमुख नबराज भण्डारीले जानकारी दिए । भण्डारीले थुप्रै युवा उद्यमीहरुलाई बेमौसमी कृषि उत्पादनमा आफुहरुले उत्साहित गरिरहेको बताउँदै बजार र मौषमको चुनौति रहेको बताए ।