कपिलवस्तु प्रहरीलाई लगातार सफलता, धमाधम पक्राउ पर्दै तस्करी र अपराधी

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
919 shares

पार्बती आचार्य
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ठुलो सफलता हासिल गर्न सफल भएको छ । साउन महिनाको ४ दिनमा २ सय ७ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी चौतर्फी चर्चा कमाउन सफल भएको हो । साउन महिना भरीमा ८२ जना गरी जम्मा २ सय ८९ जना फरार प्रतिबादीहरु पक्राउ गरी कपिलवस्तु प्रहरीले ठुलो सफलता हासिल गरेको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी एक महिनामा भएको प्रगती विवरण सार्वजनिक गरिएको थियो ।

यतीबेला सबैतिर चर्चा बनेको छ प्रहरीले चाहे के हुन्न र भन्ने ? प्रहरीको काम चौतर्फी रुपमा चर्चित बनेको छ । चार दिनमा २ सय ७ जना पक्राउ पर्नु प्रहरीका लागि राष्ट्रिय रुपमै ठूलो उपलब्धी भएकाले चर्चित बनेको हो । फरार अभियुक्त पक्राउको अभियान अपरेसन ‘फप’ अन्तर्गत चार दिनमा अभियुक्त पक्राउ गरिएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक दानबहादुर कार्कीले साउन महिना अपराध नियन्त्रणका हिसावले महत्वपूर्ण महिना सावित भएको वताए । साउन महिनामा २ सय ८९ जना फरार अभियुक्त पक्राउ परेका छन् । जसवाट ५० बर्ष भन्दा बढी कैद बक्यौता असुलीमा गएको छ भने ती फरार अभियुक्तवाट १४ लाख ११ हजार ४ सय ६ रुपैंया दण्ड जरिवाना असुली भएको उपरिक्षक कार्कीले वताए । यसैगरी एक महिनामा २ हजार ८ सय ३२ वटा चेकपोष्ट खडा गरेर सडकमा सवारी चेकजाँच र कारवाही हुदा ठूलो मात्रामा राजश्व संकलन भएको प्रहरी उपरिक्षक कार्कीले बताए ।

यस्तै प्रहरीले चलाएको चेकजाँचबाट बिभिन्न चोरी निकासी किराना सामान, मटर केराउ, राँगा भैंसी, खसी बोका, ईलेक्ट्रिकका सामाग्रीहरु लगाएत काठ बरामद सहित एक महिनामा १ करोड १७ लाख १९ हजार ४ सय ८४ रुपैंया राजश्व संकलन भएको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।

नेपाली नम्बर प्लेटका मोटरसाईकल ४२, भारतीय नम्वर प्लेटका ६२ मोटर साइकल, ६ वटा ट्याक्टर, ट्रक १, बस १, कार १, जिप १, अटोरिक्सा ३ र स्कुटर ३ वटा गरी १ सय २२ सवारी साधनहरु कारबाहीमा परेका छन् । ट्राफिक नियम उंलघन गरेका १ सय २२ सवारी साधनहरुलाई कारबाही गर्दा १७ लाख २५ हजार ५ सय रुपैंया राजश्व संकलन भएको हो ।

यसैगरी दुर्लभ रेडपाण्डा सहित ३ जना, २३ ग्राम सुगर ब्राउन सहित २ जना कटुवा पेस्तोल, २२ बोर राईफ र पेस्तोलको गोलि सहित ३ जना, ४ थान भरुवा बन्दुक सहित ४ जनालाई नियन्तरणमा लिई कानुनी प्रक्रिया अगाडी बढाईएको छ ।

साउन महिनामा मात्र १८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीमा ९० वटामुद्धा दर्ता भएका छन् भने प्रहरीले दर्ता गरेका मुद्धामा सबै भन्दा बढी प्रभावित मधेसी महिला र मुस्लिम महिला रहेका छन् । यही विवरणका आधारमा कपिलवस्तु प्रहरीले घरेलुहिंसा र आत्महत्या विरुद्ध विशेष अभियान चलाउने प्रहरी नायव उपरिक्षक भण्डारीले बताए ।

मोबाईल गस्ती, मोटरसाईकल गस्ती र पैदल गस्तीलाई निरन्तरता दिईएको छ । कोभिड १९ सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन र तपाईको माक्स खोई अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।