रोल्पाका अधिकांश सडक अवरुद्ध

मेचीकाली संवाददाता

३ भाद्र २०७८, बिहीबार
698 shares
फाइल तस्विर

रोल्पा । वर्षात्सँगै जिल्लाका अधिकांश सडक अवरुद्ध हुँदा स्थानीयवासीले आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ ।

ती स्थानबाट जिल्ला सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नु परेको स्थानीयवासीको गुनासो छ । बिरामी बोकेर सुलिचौरसम्म आउँदा दुई दिन लाग्ने गर्दछ । सुनछहरी गाउँपालिका–४ स्युरीका हर्क घर्तीमगरका अनुसार सडक अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्नु परेको छ । बाटो मर्मत गर्न स्थानीय सरकारको अझैसम्म ध्यान नगएको उनीहरुको गुनासो छ ।

यसैगरी जिल्लाको पश्चिम र उत्तर भेगमा जनताले पनि यस्तै सास्ती भोग्ने गरेका छन् । शहीदमार्ग र रामपुर कपुरकोट सडकखण्डमा वर्षात्सँगै सडक हिलाम्ये हुने समस्या रहेको छ । शहीदमार्गको ट्याक खोलेको एक दशक पूरा भए पनि सडक सुधार हुन नसक्दा यात्रुले हिलो र धुलोको समस्या भोग्दै आएका छन् ।

यस्तो सडकमा आफूहरु सधैँ अत्यधिक जोखिम मोलेर गाडी चलाउन बाध्य रहेको जीप चालक तिलक बुढामगरको भनाइ छ । उनले भने, ‘सडक कालोपत्र हुने हल्ला सुनेको वर्षौ भयो खै के ले रोकेको छ ।’ सडकको यस्तो अवस्थाले कतिखेर के हुने हो भन्न नसकिने अवस्था छ । वर्षात्का समयमा हिलो र खाल्डाखुल्डीले सताउँछ भने हिउँदका समयमा धुलो उड्दा स्वास्थ्यमा प्रतिकूल असर गरिहेको चालक लीला घर्तीमगरको भनाइ छ ।

शहीदमार्ग सडक तथा रामपुर कपुरकोट सडक खण्डमा दिनहुँ सयौंको सङ्ख्यामा दुई पाङ्ग्रे तथा चार पाङुग्रे सवारीसाधन लामो तथा छोटो दूरीमा चल्ने गर्छ । शहीदमार्ग दाङबाट सुरु भई रोल्पाको होलेरी हुँदै थवाङसम्म १३८ किलोमिटर लामो छ । दाङको घोराही उपमहानगरपालिका हुँदै रोल्पाको रुन्टीगढी, त्रिवेणी, माडी, परिवर्तन र थवाङ गाउँपालिका तथा रोल्पा नगरपालिका, हुँदै रुकुम पूर्वको भूमे गाउँपालिकासम्म फैलिएको छ ।

सो सडकमा वर्षाको समयमा दाङबाट पश्चिम रोल्पाको व्यापारिक केन्द्र घर्तीगाउँसम्म यातायातका साधन चले पनि यस अगाडि भने बाटो अवरुद्ध हुनेगर्दछ । शहीदमार्गसँग जोडिएका सहायक मार्ग अवरुद्ध हुँदा स्थानीयवासीले पैदलयात्रा गर्न बाध्य भएका छन् । घर्तीगाउँबाट ४८ किमी दुरीमा रहेको रोल्पाको थवाङ सडक खण्ड वर्षातका समयमा बन्द हुँदा स्थानीयवासी घण्टौं लगाएर पैदलयात्रा गर्न विवश छन् ।

शहीदमार्ग सडक जिल्ला सदरमुकाममा लिवाङमा रहेको शहीदमार्ग सडक आयोजनाले हेर्ने गर्दछ । रोल्पा जिल्लाको पूर्व–पश्चिम जोड्ने रामपुर कपुरकोट सडक खण्डमा पनि समस्या आउने गरेको बताइन्छ । सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दीपक डाँगीका अनुसार सडकमाथिबाट झर्ने ढुङ्गा माटो र सडक मुनिबाट जाने पहिरोले सडकलाई प्रभावित गर्ने गर्दछ ।

रामपुर कपुरकोट सडक खण्ड प्यूठान जिल्लाबाट सुरु भएर रोल्पा जिल्लाका सुनिलस्मृति गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका र गङ्गादेव गाउँपालिका हुँदै सल्यान जिल्लासम्म पुगेको छ । उक्त सडक सुनिलस्मृति गाउँपालिकाभित्र पूरै र रोल्पा नगरपालिकाको केही भाग कालोपत्र भइसकेको छ । माडी गाउँपालिका र गङ्गादेव गाउँपालिकामा कालोपत्रको काम अहिलेसम्म अघि बढेको छैन । यो सडक प्यूठानमा रहेको सडक पूर्वाधार विकास कार्यालयले हेर्ने गर्दछ ।

बर्सेनि सडक स्तरोन्नतिको नाममा सरकारले करोडौं खर्च गर्ने भए पनि समस्या बारम्बार दोहोरिने गरेको छ । बजेट आएको सुन्दा साच्चै नै अब त सडक सुधार हुने भो भन्ने लाग्छ, बजेट सकिँदा सडक उस्ताको उस्तै देखिन्छ परिवर्तन गाउँपालिका– ६ का सूर्यप्रकाश बुढाले बताए ।
चुनावका समयमा विकासको लहर ल्याउछौ भन्ने नेताले सडक सुधारमा ध्यान नदिएको स्थानीयहरुको गुनासो छ ।

स्थानीय सरकारको विकासको प्राथमिकतामा सडक देखिए पनि अव्यवस्थीत सडक खन्ने कामले विकास झन अस्त व्यस्त भएको नागरिकहरुको गुनासो छ । स्थानीय सरकारको वजेटबाट खनिने सडक अध्ययन विनै खनिने भएकाले वर्षातका सयममा ती सडकले नागरिकहलाई सास्ती दिने गरेको रोल्पा ४ का खट्कवहादुर बताए । उनले भने, ‘वातावरण प्रभाव मूल्यांकन नगरि खनिएका सडक नै मुख्य समस्याका रुपमा देखिएका छन् ।’ रासस