ढाडको दर्दः नो ड्रग्स

मेचीकाली संवाददाता

९ मंसिर २०८०, शनिबार
197 shares

ओम बानियाँ

समान्यतयाः गर्दनको पछाडि (घिच्रो) र नितम्ब बिचको मध्यरेखामा हुने दुखाइलाई ढाड दुख्नु भनिन्छ । मेरुदण्डको निर्माणमा सहभागी हड्डी र मांसपेशीलाई असर गर्ने रोग र अवस्थाले ढाड दुख्दछ । यस्तो दुखाई मेरुदण्डमा जहाँकहीँ पनि हुन सक्दछ । तर मुख्यतया मेरुदण्डको तल्लो भागको समस्या बढी देखिएको छ । मांसपेशी कडा भएझैँ अथवा घाउ भएझैं अथवा खुट्टा पसार्दा वा मेरुदण्ड चल्दा भएको तीब्र दुखाइ दुखेको ठाउँबाट अन्यत्र सरेझैं अनुभव हुन्छ ।

ढाड दखाइ मानिसका अनेक स्वास्थ्य समस्याहरु मध्य एक प्रमुख समस्या हो । आफ्नो जीवनकालमा कुनै न कुनै बेला ढाड नदुखेको व्यक्ति साहेदै पाइन्छ । ढाड दुखेकैले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा मानिसलाई आर्थिक, सामाजिक, मानसिक र शारीरिक हिसाबले थप बोझ परेको पाइन्छ । कतिपय अध्ययनका अनुसार कार्यालयमा काम गर्ने मानिसमा आफ्नो अफिसको काममा अनुपस्थित रहन बाध्य पार्ने रोगहरूमध्ये ढाड दुख्ने समस्या प्रमुख हो ।

किन दुख्छ ढाड ?
ढाड दुख्ने समस्याका अनेक कारणहरु छन् । विशेषगरी झुकेर वा निहुरेर काम गर्ने, ज्यादा समय कुर्सीमा बसेर काम गर्ने, लामो समयसम्म मोटर तथा बाइक चलाउने, घरभित्रै बसेर काम गर्ने गृहिणी र शरीरको तौल बढी भएका मानिसमा मेरुदण्डका हड्डीहरू बिचको जोर्नीमा अत्यधिक बल पर्ने हुनाले यी जोर्नीहरू विस्तारै खिइन थाल्छन् । हड्डी खिइन सुरु भएपछि ढाडको जोर्नी र त्यसको वरिपरि टाँसिएर रहेका लिगामेन्ट्स र मासुका रेसाहरूमा इन्फ्लामेसन भई दुखाइ महसुस हुन थाल्छ ।

रुसुरुमा ढाडमा असजिलो महसुस हुने, ढाड कडा हुने, रातमा निदाएपछि ओल्टे–कोल्टे फर्किंदा असजिलो हुने हुन्छ । त्यस्तै बिहान उठ्ने बित्तिकै आधा घन्टाजति ढाड अप्ठ्यारो अथवा जाम भएको महसुस हुने, निहुरेरझुकेर काम गर्दा ढाडमा ज्यादा पीडा हुने हुन्छ । दुखाइको प्रकृति हेर्दा धेरैजसो दुखाइ कम्मरमा हुन्छ । कहिलेकाहीँ दायाँ अथवा बायाँ नितम्ब, थाइको भाग र मृगौला रहने ठाउँमा पनि दुखाइ हुनसक्छ ।

वयस्क मानिसमा ढाड दुख्ने समस्याको प्रमुख कारण हड्डी खिइने भए पनि अरू धेरै कारणलाई पनि एकैपटक छुट्याउनुपर्छ । सामान्यतया ढाडमा नसा च्यापिएको समस्या भए ढाडको दुखाइ खुट्टाको पैतालासम्म जान्छ । यस्तो अवस्थामा खुट्टाको दुखाइ ढाडको भन्दा पनि बढी हुनसक्छ । खुट्टाको कुनै निश्चित भागमा झम्झमाउँछ अथवा छोएको कम थाहा हुन्छ र खुट्टाको तागत कम भएको महसुस हुन्छ ।

धेरै झुकेर, निहुरेर र बसेर काम गर्ने मानिसलाई पोजिसन नमिलेर दुखाइ हुनसक्छ, जसलाई पोस्चुरल ब्याक पेन भनिन्छ । कहिलेकाहीँ गह्रौं सामान उचाल्दा अचानक ढाडमा असह्य पीडा हुनसक्छ । जसले गर्दा बिरामीलाई हिँडडुल गर्न, बस्न र सुत्न पनि असाध्यै गाह्रो हुन्छ । यस्तो प्रकारको दुखाइ ढाडको मासु तन्केर अथवा च्यातिएर हुनसक्छ, जसलाई ब्याक मसल स्ट्रेन भनिन्छ । ढाडमा नसा च्यापिएको अवस्थामा ढाडको दुखाइ खुट्टासम्म जान्छ र बिरामीले खुट्टाको दुखाइका कारण खोच्याएर हिँड्नुपर्छ ।

अमेरिकन कलेज अफ फिजिसियनको नयाँ गाइडलाइन्सले ढाड दर्दको फस्टलाइन उपचाररुपमा प्राकृतिक, मनोवैज्ञानिक र बैकल्पिक थेरापी अघि सारेको छ । गाइडलाइन्समा भनिएको छ, अधिकांश ढाड दर्दको उपचारका लागि अनावश्यक टेस्ट तथा महँगा औषधीको आवश्यकता पर्दैन । तीब्र वा दीर्घ ढाड दर्दका लागि चिकित्सले पहिला औषधीविहीन थेरापीहरु जस्तैः व्यायाम, तातो पानीको सेकाइ, मालिस, स्नायु म्यानुपुलेसन, ताइची तथा योगा आदि उपयोगमा ल्याउन सुझाएको छ । यदि यस्ता वैकल्पिक चिकित्साबाट पनि ढाड दर्द ठीक नभएको खण्डमा मात्र दुखाइ र जलन कम गर्न इबुप्रोफेन तथा पारासिटामोल जस्ता जलन र सुजन प्रतिरोधक ननस्टेरोइड औषधी सिफारिस गर्नुपर्ने बताएको छ ।

जन्मजात हड्डी बांगो भएको, दुई वा दुईभन्दा बढी हड्डी आपसमा नहल्लिनेगरी जोडिएको, हड्डीको संक्रमण (विशेषगरी हड्डीको क्षयरोग), ढाडको हड्डीमै उत्पन्न भएको ट्युमर अथवा शरीरको कुनै पनि अंगमा भएको ट्युमर फैलिएर ढाडको हड्डीमा सरेको, कुनै अग्लो ठाउँबाट खसेर ढाडको हड्डी भाँच्चिएको, एउटा हड्डी अर्को हड्डीको तुलनामा अगाडि अथवा पछाडि सरेको, पेटमा अथवा स्त्रीहरूको पाठेघरमा कुनै समस्या भएर दुखाइ ढाडमा सरेको, रगतमा ‘भिटामिन डी’ को मात्रा कम भएको अवस्थामा पनि ढाडको दुखाइ हुनसक्छ । वृद्ध अवस्थाका मानिसमा पनि माथि उल्लेख गरेका कारणबाहेक हड्डीको डेन्सिटी कम भई हड्डी मक्किएर (ओस्टियोपोरोसिस) ढाड दुख्ने सम्भावना बढी हुन्छ ।

तर धेरैजसो बिरामीलाई ढाड दुख्ने मुख्य कारण चाहीँ मेरुदण्डको हड्डी खिइनु नै हो । ढाड दुख्नुको मुख्य कारण गलत तरिकाले काम गर्नु वा बस्नु नै हो । कुर्सीमा बसेर बढी समयसम्म काम गर्नेलाई ढाडको समस्या धेरै हुन्छ । एउटै पोजीसनमा बस्दा पछाडिको मांसपेशी एकदमै थाकेको हुन्छ । ढाडलाई अफ्ठेरो गरेर राखिराख्यो भने मांसपेशी थाकेर ढाड दुख्छ । पोजिसन ठिक भएन भने पनि ढाड दुख्छ । लामो यात्राको समयमा पनि यो समस्या आउँने गर्छ । एउटै पोजीशनमा २० मिनेटभन्दा धेरै बेर बस्दा पनि ढाड दुख्छ । जुनसुकै काममा एउटै पोजिशनमा बस्दा ढाड दुख्छ । ढाडको अधिकांश समस्या मांसपेशी कमजोर भएर हुन्छ । नशासम्बन्धी समस्याले पनि ढाड दुख्छ तर यो सम्भावना तीन प्रतिशत मात्रै हुन्छ । ढाडको मुभमेन्टलाई नियन्त्रण गर्न नसकेको बेलामा पनि मांसपेशी कमजोर हुन्छ । जसले गर्दा ढाड दुख्छ ।

उपचारः
ढाड दुखाइबाट पीडित हुने बिरामीहरू धेरै अस्पताल चहार्ने, अनावश्यक जाँच गराएर पैसा खर्च गर्ने, रोगको कारण पत्ता लगाएर पनि उपचार गर्ने धैर्यता नहुने हुन्छ । अनि ढाडको रोग मनसम्म पुग्दछ ।

अमेरिकन कलेज अफ फिजिसियनको नयाँ गाइडलाइन्सले ढाड दर्दको फस्टलाइन उपचाररुपमा प्राकृतिक, मनोवैज्ञानिक र बैकल्पिक थेरापी अघि सारेको छ । गाइडलाइन्समा भनिएको छ, अधिकांश ढाड दर्दको उपचारका लागि अनावश्यक टेस्ट तथा महँगा औषधीको आवश्यकता पर्दैन । तीव्र वा दीर्घ ढाड दर्दका लागि चिकित्सले पहिला औषधीविहीन थेरापीहरु जस्तैः व्यायाम, तातो पानीको सेकाइ, मालिस, स्नायु म्यानुपुलेसन, ताइची तथा योगा आदि उपयोगमा ल्याउन सुझाएको छ । यदि यस्ता वैकल्पिक चिकित्साबाट पनि ढाड दर्द ठीक नभएको खण्डमा मात्र दुखाइ र जलन कम गर्न इबुप्रोफेन तथा पारासिटामोल जस्ता जलन र सुजन प्रतिरोधक ननस्टेरोइड औषधी सिफारिस गर्नुपर्ने बताएको छ ।

अतः ढाड दर्दबाट बच्न ढाडको पोस्चर ठिकसँग मेन्टेन गर्ने, शरीरको तौल उचाइअनुसार नियन्त्रण गर्ने, ज्यादा निहुरिने कामबाट टाढा रहने, नियमित रूपमा कसरत गर्ने, क्याल्सियमयुक्त खानेकुरा खाने, आवश्यक परे क्याल्सियम र ‘भिटामिन डी’ सेवन गर्ने गरेमा ढाड दुख्ने समस्या धेरै हदसम्म कम हुन्छ । यदि मनौबैज्ञानिक तनाव र थकाइसँग सम्बन्धित ढाडको दुखाइ कम गर्न नियमित हल्का व्यायाम गर्न सकिन्छ । ढाडको मालिसले बाउँडिएको निको भई ढाडको दुखाइ कम गर्न मद्दत पुग्दछ र मांसपेशीमा सञ्चो हुन्छ । मलहमको मालिसले पनि दुखाइमा काम गर्छ । मनतातो पानीमा नुहाउनाले सामान्य तनाव कम गर्न मद्दत पुग्दछ । मनतातो पानीले बाउँडिएको र तन्किएको मांसपेशीमा सन्चो हुन्छ । तर, पानीको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी हुनुहँुदैन ।