असल नागरिक बनाउन स्काउटको भूमिका महत्वपूर्णः मन्त्री पन्थी

मेचीकाली संवाददाता

६ असार २०८१, बुधबार
776 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले विद्यार्थीहरुलाई अनुशासित, इमान्दार, देशभक्ति, कर्तव्यनिष्ट र असल नागरिक बनाउन स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा स्काउट लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको ‘स्काउट शिक्षा आजको आश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्थीले यस्तो बताएका हुन् ।

समाजमा निस्वार्थ भावना राखेर सहयोग पु¥याउँदै आएको स्काउटको महत्व अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको सन्दर्भमा विनाशकारी भूकम्प, कोरोना महामारीदेखि बाढी पहिरो, आगलागी जस्ता प्राकृतिक विपत्ति तथा दुर्घटनाका घाइतेको उद्धारमा स्काउटले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे । ‘विनाशकारी भूकम्प, प्राकृतिक विपत्ति तथा कोरोना महामारीका बेला चिकित्सक परामर्श सेवा, क्वारेन्टाइन निर्माण र शव व्यवस्थापनमा समेत स्काउटले गरेको सहयोगप्रति सम्मान छ ।,’ उनले भने ।

संघीयता स्थापना भएपछि लुम्बिनी प्रदेशमा स्काउटका गतिबिधि अगाडि बढेको बताउँदै उनले स्काउटलाई आगामी दिनमा थप चलायमान बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । स्काउटले विद्यार्थीहरुलाई संगठित गराउने, आत्मबल बढाउने, सहयोगको भावना विकास गर्ने तथा बालबालिकासम्बन्धी रचनात्मक कार्यक्रमहरु गरेर महत्वपूर्ण भूमिका खेलेकोमा प्रदेश स्काउट र सम्बन्धित विद्यालयका स्काउटरहरुलाई धन्यवाद दिए ।

उनले समाज रुपान्तरणमा युवा स्काउटले खेलेको भूमिकाले युवाहरूलाई सही दिशा देखाउन सफल भएको जिकिर गरे । उनले प्रत्येक बालबालिकालाई स्काउट शिक्षा आवश्यक रहेकोमा जोड दिँदै असल नागरिक बन्न स्काउटमा आबद्ध हुन विद्यार्थीहरुलाई आग्रह गरे । मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल स्काउटका प्रदेश आयुक्त दिनानाथ भट्टराईले नेपालमा नैतिकवान् नागरिक उत्पादनकालागि स्काउटले काम गरिरहेको बताए । युवा तथा बालबालिकालाई अनुसाशित बनाउन, समाज सभ्य बनाउन, युवा नेतृत्वको विकास गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि निर्माण गर्नलगायत कार्यमा स्काउटले भूमिका खेल्दै आएको उनले बताए ।

प्रदेशका सबै विद्यालयमा स्काउट शिक्षा लागू गराउन आवश्यक रहेको उनले बताए । सीमित विद्यालयमा रहेको स्काउट अहिले ठुलो मात्रामा फैलिँदै गएको उनले बताए । स्काउटले नेतृत्व तालिमहरु सञ्चालन गरी युवाहरुको क्षमता बिस्तार गर्नुका साथै विद्यार्थीभित्रको अन्तर्निहित प्रतिभा उजागर गर्न समय समयमा रचनात्मक कार्यक्रम गर्दै आएको उनले बताए । पछिल्लो समय हरेक विद्यालयमा स्काउट अनिवार्य र अपरिहार्य बन्न पुगेको स्मरण गर्दै स्काउट विपद् व्यवस्थापनमा पनि सदैव अग्रमोर्चामा रहँदै आएको उनले बताए ।

यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायत, मध्य पश्चिम पृतना हेडक्वाटरका पृतना पति बासुदेव धिमाल, रोटरी डिस्ट्रिकका एजी राजेन्द्र ढकाल, प्रदेश युवा परिषद्का उपाध्यक्ष गोविन्द केसी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, शिक्षक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कुलप्रसाद लामिछानेलगायतले बोल्दै एक घर, एक स्काउटको अवधारणामा जानुपर्नेमा जोड दिए ।

वक्तृत्वकला प्रतियोगितामा अक्स्फोर्ड माध्यमिक विद्यालय बुटवलकी टेरिसा भण्डारी प्रथम, दमकडा नमुना माध्यमिक बिद्यालय पाल्पाकी ओजस्वी आचार्य द्वितीय, हिमाल एकेडेमी तुलसिपुरकी सौम्या पराजुली तृतिय र इडन इंलिस बोर्डिङ स्कुल, बुटवलकी रितिका खनाल सान्त्वना भएको प्रतियोगितामा निर्णायक प्रा.डा. हिरण्यलाल ज्ञवालीले जानकारी दिए ।
सोही अवसरमा स्काउट शिक्षको प्रभावकारिता बढाउन महत्वपूर्ण सहयोग गर्ने स्काउट मास्टर, स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरूलाई विभिन्न सम्मान प्रदान गरिएको थियो स्काउट लुम्बिनी प्रदेश अधिकृत तारा पुरीले बताए । कार्यक्रममा स्वयंसेवकहरूले विभिन्न नृत्य प्रदर्शन गरेका थिए ।

नेपालमा स्काउटिङ शिक्षाको सुरुवात र विकास
नेपालमा प्रजातन्त्रको आगमनलगत्तै वि.सं २००९ साल असार ५ गते राजा त्रिभुवनले नेपाल स्काउटको विधिवत रुपमा उद्घाटन गरेका हुन् । वि.सं.२००९ सालमा नेपाल स्काउटको स्थापना भए पनि यसले विश्व स्काउटको विधिवत पूर्ण सदस्यता भने विसं.२०२६ सालमा मात्र प्राप्त गरेको हो ।

विसं.२०३२ सालमा नेपाल स्काउटले युवा कार्यक्रम नीति तय ग¥यो र उक्त नीतिकै माध्यमबाट स्काउटिङ गतिविधिलाई निरन्तरता दिइएको पाइन्छ । उक्त नीतिमा ६ वर्षदेखि २५ वर्षसम्मका युवालाई स्काउटिङ शिक्षाका विभिन्न तहमा वर्गीकरण गरेर स्काउटिङ गतिविधिमा समावेश गर्न सकिने उल्लेख गरिएको छ । नेपाल स्काउटले जारी गरेको युवा कार्यक्रम नीतिले शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक तथा आध्यात्मिक क्षेत्रबाट बालबालिका तथा युवामा शारीरिक स्वास्थ्य, बौद्धिक क्षमता, बाहिरी क्रियाकलाप, ह्याण्डिक्राफ्ट, गृहसेवा, सेवा तथा चरित्र निर्माण र सम्बन्धको विकासमा जोड दिएको छ ।

विश्व स्काउटको सिद्धान्तमा आधारित रहेर युवा विद्यार्थीलाई विभिन्न स्काउटिङ एक्टिभिटिका माध्यमबाट जिम्मेवार नागरिक तयार गर्नु नै नेपाल स्काउटको मुख्य उद्देश्य हो । सन् २०३२ सम्ममा ७ लाख युवा सदस्य निर्माण गरी उनीहरुलाई स्काउटिङ एक्टिभिटिका माध्यमबाट आत्मनिर्भर, प्रतिस्पर्धी बनाई राज्यका नेतृत्वदायी भूमिकामा सक्रिय गराउने परिकल्पना नेपाल स्काउटले गरेको छ । करिब ६५ हजार सक्रिय युवा स्काउटमा आबद्ध भएको बताइन्छ ।