बुटवलमा टाइटन घडीको ‘एक्सक्लुसिभ स्टोर’ शुभारम्भ

मेचीकाली संवाददाता

३ मंसिर २०८२, मंगलवार
21 shares

बुटवल । बुटवलमा विश्वको पाँचौँ ठुलो र प्रसिद्ध घडी निर्माता टाइटन कम्पनीको ‘एक्सक्लुसिभ स्टोर’ सञ्चालनमा आएको छ । बुटवलमा विगत ३७ वर्षदेखि घडीको व्यवसाय गर्दै आएका सफल व्यवसायी आरके वाचका सञ्चालक कुमार तामाङले बीपी चोकमा लुम्बिनी प्रदेशमै पहिलो स्टोर शुभारम्भ गरेका हुन् ।

मंगलबार एक कार्यक्रमका बिच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, टाइटन कम्पनीका इन्टरनेशनल अपरेसन बिजनेस म्यानेजर वसन्त वासुदेवन र टाइटन कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवाललगायतले उद्घाटन गरे ।

सोही अवसरमा बोल्दै स्टोरका सञ्चालक कुमार तामाङले ग्राहकको माग अनुसार सुपथ मूल्यमा हजारौँ आकर्षक डिजाइन र गुणस्तरीय घडी उपलब्ध गराउने उद्देश्यले टाइटन स्टोर सञ्चालन ल्याएको बताए । आफू इलाममा जन्मिए पनि वि.सं २०४५ सालदेखि बुटवलमा बसेर घडीको व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए । लामो समयको व्यवसायिक अनुभवपछि लुम्बिनी प्रदेशमै पहिलोपटक बुटवलमा विश्व चर्चित टाइटन घडीको स्टोर सञ्चालन गर्न सफल भएको उनको भनाई थियो । स्टोरका सञ्चालक तामाङका अनुसार यहाँ आउने ग्राहकले १ हजारभन्दा बढी घडीका डिजाइनहरूबाट आफूलाई मन परेको डिजाइन छान्न पाउनेछन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलमा टाइटन ब्राण्डको घडीको स्टोर सञ्चालनमा आएपछि ग्राहकलाई सहज हुने विश्वास व्यक्त गर्दै व्यवसायीक सफलताको शुभकामना व्यक्त गरे । घडीको ब्राण्डिङमा व्यवसायी तामाङको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रदेशका अरु जिल्लामा पनि यस्ता सोरुम विस्तार गर्न जरुरी रहेको बताए ।
टाइटन कम्पनीका इन्टरनेशनल अपरेसन बिजनेस म्यानेजर वसन्त वासुदेवनले बुटवलमा टाइटनको ब्राण्ड विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे । ‘हामी टाइटनका नवीनतम संग्रहहरू, नवीनतम स्मार्टवाचदेखि टाइमलेस क्लासिक क्वाट्र्ज र अटोमेटिक्स सम्म नेपालका हरेक घडी प्रेमीहरूको हातमा ल्याइरहेका छौं ।’ बिजनेस म्यानेजर वासुदेवनले भने ।

टाइटन कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवालले प्रिमियम घडीहरूको बढ्दो मागलाई सेवा दिने यात्रामा बुटवलको स्टोर कोसेढुङ्गा सावित हुने बताए । उनले टाइटन घडीको ब्राण्डलाई विस्तार गर्दै नेपालका मुख्य शहरहरुमा स्टोर सञ्चालन भइरहेको बताए ।

टाइटन स्टोरमा महिला पुरुष र युवा–केन्द्रित फेसन र आकर्षक डिजाइनका घडीहरूको मूल्य ३ हजार ५ सय देखि ४ लाख ५० हजारसम्म रहेको छ । स्टोरमा टाइटन र फास्ट्रेकका स्मार्ट घडी, प्रफिमहरु र सनग्लासहरू पनि उपलब्ध छन् । स्टोरको उद्घाटनका अवसरमा मङ्सिर १० गतेसम्म आउने ग्राहकले प्रत्येक घडीमा १० प्रतिशत छुट र उपहारस्वरुप २० एमएलको टाइटन स्कीन प्रफिम प्राप्त गर्नेछन् । सन् १९८४ मा स्थापित टाइटन कम्पनीले प्रत्येक वर्ष साढे १ करोडभन्दा बढी घडीहरू उत्पादन गर्दै विश्वका २५ देशहरुमा बिक्री गर्दै आएको छ ।