पाणिनीलाई समृद्ध बनाउने योजना कार्यान्वयन भइरहेका छन्

मेचीकाली संवाददाता

१० असार २०८१, आईतवार
248 shares

अर्घाखाँचीको पाणिनी गाँउपालिका–७ अड्गुरीमा जन्मनुभएका रोमनाथ न्यौपाने सानैदेखि अध्ययन अनुसन्धान र कठिन कामलाई फत्ते गर्नेतर्फ लाग्थे । शिक्षा शास्त्रमा स्नातक गरेका न्यौपाने २०४९ सालमा निजामति सेवामा प्रवेश गरी देशका विभिन्न सरकारी क्षेत्रमा काम गदै केही महिना अगाडि अर्घाखाँचीको पाणिनी गाँउपालिकामा सरुवा भई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग पाणिनी गाँउपालिकाको आगामी योजना र रणनीतिलगायतका विषयमा केन्द्रित रहेर मेचीकालीकर्मी अनिल नेपालीले गरेको कुराकानीको सम्पादकीय अंशः

पालिकाले सेवाप्रवाहलाई कसरी अघि बढाइरहेको छ ?
पाणिनी गाँउपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय पूर्वाधार विकास, सेवाप्रवाह र अनुगमन तथा नियमनलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको छ । स्थानीय पूर्वाधार विकासका सन्दर्भमा गाँउपालिकाले तर्जुमा गरेको आवधिक विकास योजनाअनुसार वार्षिक बजेटमा पूर्वाधारका आयोजनाहरु समावेश गरी कार्यान्वयनगर्दै आएका छौं । सेवाप्रवाहतर्फ ८ वडा कार्यालयबाट जन्मदेखि मुत्युसम्मका काम र प्रशासनिक काम हुँदै आएको छ ।

गाउँपालिका ५४ वटा सामुदायिक विद्यालय र १२ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्यसँग सम्बन्धित विविध सेवाहरु प्रदान गर्दै आएका छौं । त्यसैगरी गाउँपालिकाका ५ वटा विषयगत शाखाबाट समेत आ–आफ्नो विषयगत क्षेत्रअनुसार नीति निर्माण र कार्यान्वयन हुँदै आएको छ । विकास निर्माणलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्नगर्न अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलगायत आवश्यकताअनुसार अन्य कर्मचारीहरुबाट समेत अनुगमनको कामगर्ने गरिन्छ । गाउँपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी कार्य सम्पादन गर्दै समय समयमा स्थानीय सरकारको झल्को घुम्ति शिविरमार्फत अन्य सेवामैत्री काममार्फत गर्दै आएको भने सुशासनलाई प्रभावकारी बनाउनको लागि विद्युतीय अभिलेख, विद्युतीय हाजिरीलगायतका काम गर्दै आएको छ ।

पाणिनीले नमुनायोग्य गाउँपालिका बनाउन कुनै कार्यक्रम ल्याएको छ ?
जनताको सरकार भनेर स्थानीय सरकारलाई चिनिन्छ । पाणिनी गाउँपालिकाले योजना निर्माणको चरणमा नै आफ्नो अधिकार सूचीको विषयमा ध्यान दिई उक्त सूचीमा उल्लेख भएबमोजिम आवधिक, वार्षिक, क्षेत्रगत योजनाहरु बनाउने गरिएको छ । साथै, संघ र प्रदेश सरकारको नीति, लक्ष्य तथा उद्देश्यसँग तादाम्यता कायम गर्दै वातावरण संरक्षण तथा जलवायु परिवर्तन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, सुशासन आदि विषयहरुलाई समेत ध्यान दिँदै गाँउपालिकाका गौरवका योजना र वडागत योजनाका रूपमा वर्गीकरण गरी नमुनाका रूपमा पाणिनी तपोभुमि, सिद्देश्वर गुफा, कालिमाटी लेख, सुपादेउराली पलमार्गलगायत कृषिसँग जोडेर सुन्तलाको उत्पादन र बजारीकरणमा जोडी छुर्पी उद्योगको विकास गाँउपालिकाको विकास गर्ने लक्ष्यका साथ अघि बढेको अवस्था छ ।

जनप्रतिनिधि र कर्मचारीबिचमा कस्तो सम्बन्ध छ ?
जनप्रतिनिधि र कर्मचारी दुवै उदेश्य गाउँपालिको विकास र समृद्धि नै हो । हालको गाउँपालिको नेतृत्व, विकास निर्माणलगायत समग्र गाँउपालिकाको विकासको पक्षमा अत्यन्त सकारात्मक रहेको पाएको छु । उहाँहरु शिक्षित हुनुहुन्छ र गाँउपालिका शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सबै किसिमका पूर्वाधार विकासमा गुणस्तरीयतासहितको विकासका कार्यमा रणनीतिक योजनासहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संवेदनशील भएर काम गरिरहनुभएको छ ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्दछ । हामीहरुको साझा लक्ष्य गाउँपालिकाको विकासको हो । जनप्रतिनिधिहरुबाट ल्याइएका योजना, नीति तथा कार्यक्रमलाई नेपालको प्रचलित कानुनका आधारमा पूरा गर्ने दायित्व कर्मचारी वर्गको हो । यसर्थ यो विषयको गाम्भीर्यताअनुसार अगाडि बढ्दा दुवै पक्षबिचको सम्बन्धमा कुनै पनि किसिमको असमझदारी हुने छैन र भएको पनि छैन ।

विकास निर्माणमा जनसहभागिता कस्तो छ ?
विकास स्थानीय जनतामा निर्भर रहन्छ । यहाँको विकास निर्माणमा जनसहभागिता राम्रो रहेको छ । बजेट तर्जुमाको चरणमा समेत नागरिकहरुसँग पर्याप्त छलफल र परामर्श हुने गरेको छ । गाउँपालिकाले र वडाले आयोजनागर्ने यस्ता छलफलमा नागरिकको उल्लेख्य सहभागिता हुने गरेको छ । बजेट कार्यान्वयनको चरणमा समेत पर्याप्त जनसहभागिता हुने गरेको छ ।थुप्रै कार्यहरु उपभोक्ता समितिमार्फत भएका छन् । जनतासँग प्रत्यक्ष सम्बन्धित र उहाँहरुको मागमा आधारित योजनाहरु गाँउसभाबाट स्वीकृत भएबमोजिम कार्यान्वयन हुने गरेका छन् ।

बेरुजु र सार्वजनिक खरिदको अवस्था कस्तो छ ?
गत आवमा हाम्रो बेरुजु रकम धेरै थियो । अहिले बेरुजु घटेको छ । बेरुजु फस्र्यौटका लागि हामी सक्रिय रहेका छौँ । सार्वजनिक खरिदको कार्य हालको प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिधिभित्र रहेर मात्र गर्ने गरिएको छ ।

प्रदेश र केन्द्रीय निकायसँग अन्तरसम्बन्ध कस्तो बनाउनुभएको छ ?
स्थानीय, प्रदेश र संघसँगको अन्तरसम्बन्धतथा समन्वयको संयन्त्रकानुनद्वारा नै निर्धारण भएको छ । कानुनी र व्यावहारिक दुवै माध्यमबाट अन्तरतह समन्वय र अन्तरसम्बन्धको कार्य भइरहेको छ ।

प्रदेश र केन्द्रीय तहबाट के–कस्तो सहयोग र समन्वय पाउनुभएको छ ?
आवश्यकताअनुसार सहयोग र समन्वयको कार्य भएता पनि जुन तहमा हुनुपर्ने हो त्यो हुन सकेको छैन ।

पाणिनी गाउँपालिकाले गौरवको योजनाको रुपमा के अगाडि सारेको छ ?
पाणिनी गाउँपालिकाले गौरबको योजनाको रुपमा अड्गुरी–धातिबाङ्ग–नेटासम्मको मोटरबाटो र रामपुर–पाल्पा–रोल्पा–सालझण्डी–ढोरपाटन बाटोलगायतका केन्द्र र प्रदेश सरकारको समन्वयमा सञ्चालित योजनालाई गौरवको योजनाको रुपमा अगाडि सारेको छ ।

शैक्षिक सुधारका लागि के योजना बनाउनुभएको छ ?
पाणिनी गाँउपालिकाले शैक्षिक सुधारका विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको छ । खासगरी सामुदायिक विद्यालयको संस्थागत विकासको लागि जहाँ विद्यालय त्यही विद्यार्थी, जहाँ विद्यार्थी त्यही शिक्षक भन्ने अभिप्रायले गाउँपालिकाले औचित्य र आवश्यकतामा आधारमा शिक्षाको सुधारको लागि योजना बनाएको छ ।

कृषि, पशुपालन, पर्यटनतर्फ कस्तो नीति छ ?
पाणिनी गाँउपालिकाले कृषि, पर्यटनतर्फ आधुनिकरण गर्दै बजारीकरणको विविध योजनासहित गाँउपालिकाले कृषिमा बास्तविक किसानलाई अनुदानसहितको नीति ल्याएको छ भने पयर्टनतर्फ पाणिनी तपोभूमि, दुर्गाश्वर गुफालाई गाउँपालिकाले पर्यटनको रुपमा अगाडि सारेको छ ।

पालिकाको आम्दानीका स्रोत वृद्धि गर्न के–कस्ता पहल गरिरहनुभएको छ ?
गाउँपालिकाका आन्तरिक आम्दानीका स्रोत भनेको खोलानाला, कबाडी कर भूमिकर, व्यवसाय कर आदि हुन् । यिनलाई आन्तरिक रुपमा सुधार गरी करको दायरा बढाएर राजस्वमा सुधार गर्ने गरी अगाडि बढेका छौं । यसका लागि पाणिनी गाउँपालिकाले राजश्व सुधार कार्ययोजनालाई थप वस्तुगत बनाई अगाडि बढ्नेछौं । स्थानीय तहको विकासकालागि सबैको व्यवहार र आचरणमा सुधार आवश्यक छ । कानुनी राज्यको अवधारणालाई आत्मसात गरी कर्मचारी जनप्रतिनिधि र नागरिकको आचरण तथाव्यवहारमा सुधार आए विकासले गति लिन सक्छ । तर, एकले अर्कोलाई दोषारोपण मात्र गर्ने हो भने अपेक्षा गरेअनुसार सफलता हासिल हुन सक्दैन ।