अर्थमन्त्री विष्णु पौडेलसँग आशावादी निजी क्षेत्र

मेचीकाली संवाददाता

१ श्रावण २०८१, मंगलवार
152 shares

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल चौथोपटक अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पौडेल तेस्रो वरीयतासहित उपप्रधान तथा अर्थमन्त्री भएका हुन् । सत्ता समीकरण निर्माणमा समन्वयकारी नेताको छवि बनाएका पौडेलले पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो एमाले सम्मिलित बलियो सरकारमा अर्थमन्त्री बन्ने अवसर पाएका हुन् ।

पटकपटक अर्थ मन्त्रालयको कमान्ड सम्हालेका अनुभवी पौडेल अर्थमन्त्री बनेपछि विकास निर्माणदेखि आर्थिक क्षेत्र चलायमान हुने निजी क्षेत्र र नागरिकले आशा लिएका छन् । पौडेल अर्थमन्त्री बनेपछि लुम्बिनी प्रदेशमा खुसीयाली छाएको छ । पौडेल विसं. २०७२ मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका थिए । ओलीको दोस्रो कार्यकालमा शुरूवातमा युवराज खतिवडा अर्थमन्त्री बने । खतिवडा ६ महिनामा बाहिरिएपछि २०७७ मा पौडेलले फेरि अर्थ मन्त्रालय सम्हाले । त्यो पौडेलको अर्थमन्त्रीको दोस्रो कार्यकाल थियो ।

यसअघि २०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पौडेलले दुई महिना अर्थमन्त्री भएर काम गरे । एमालेको ठाउँमा प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस भित्रिएपछि पौडेल ६४ दिनमै मन्त्रीबाट बाहिरिएका थिए । अस्थिर सरकार हुँदा अर्थतन्त्र सुधारका धेरै काम अघि बढाए टुंगोमा पुग्न सकेको थिएन । तर यसपटक दुई–तिहाई सरकारको अर्थमन्त्री बनेपछि अर्थतन्त्रमा छाएको मन्दी र नागरिकको निराशालाई आशामा बदल्ने अवसर आएको छ । पौडेल यही दुई–तिहाईको अवसरका बीच नागरिकलाई आशावादी बनाउने दायित्वले बाँधिएका छन् । पौडेल २०५३ मा युवा तथा खेलकुद, २०६५ मा जलस्रोत र २०६७ मा रक्षामन्त्री बनेका थिए । यसरी हेर्दा अर्थबाहेकका अन्य मन्त्रालयको अनुभवसमेत उनलाई छ । विशेषगरी पौडेलले अर्थ मन्त्रालयको नेतृत्व लिएपछि बजार र नागरिकले समेत उनीबाट धेरै आशा गर्ने गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पौडेल चौथोपटक अर्थमन्त्री हुने चर्चासँगै आइतबार नै शेयर बजारका लगानीकर्ताले स्वागत गरिसकेका थिए । अर्थराजनीतिसँग जोडिएका विषयमा राम्रो समन्वय गरेर मन्त्रालय चलाउन सक्ने खुबी पौडेलसँग रहेको उनीनिकट बताउँछन् । यसैले पौडेलबाट निजी क्षेत्र र शेयर बजारले ठूलो भरोसा गर्ने गर्छन् । यसअघि पनि पौडेलले अर्थ मन्त्रालय सम्हाल्दा अर्थतन्त्र सुधारका राम्रा सूचक देखिएका थिए । विशेषगरी रुपन्देही क्षेत्रका नागरिकले पनि आशा गरिएका अर्थमन्त्रीमा उनको नाम लिने गरेका छन् ।
आर्थिक विश्लेषक प्राध्यापक डा.गोविन्द नेपाल देशको आर्थिक शिथिलता चिर्नका लागि पौडेल उपयुक्त अर्थमन्त्री रहेको बताउँछन् । ‘उहाँ अनुभवी र उद्योगी व्यवसायीले विश्वास गरेका अर्थमन्त्री हो । उहाँ (पौडेल) आशा जगाउन सक्ने मान्छे हो,’ प्राडा नेपालले भने, ‘आफूले प्रतिबद्धता जनाएपछि पूरा गर्न सक्नुहुन्छ । कमजोर आर्थिक क्षेत्रलाई निकास दिने नेता पौडेल अर्थमन्त्री बन्नु खुसीको कुरा हो । उहाँ निजी क्षेत्र र शेयर बजारले अति रुचाइएको नेतामा पर्नुहुन्छ ।’ अर्थतन्त्रका मसिना विषय बुझेको र कूटनीतिक क्षेत्रमा पनि राम्रो ‘डिल’ गर्ने क्षमता पौडेलमा रहेको नेपाल बताउँछन् ।

‘कोर्स करेक्सन गर्न पौडेलसँग उस्तै क्षमता छ,’ उनले भने, ‘डिप्लोम्याटिक कमिटीसँग पनि राम्रो डिलिङ गर्नुहुन्छ । उहाँले अर्थमन्त्री भएपछि केही आशाका किरण आउलान् ।’ आजकल बैंकमा पैसा थुप्रिएको छ तर जनता लोन लिएर लगानी गर्न डराइरहेको स्थिति छ । यस्तोमा लगानीको आत्मविश्वास बढाउनुपर्ने, आर्थिक सुधार आयोग बनाउनुपर्ने, करसम्बन्धी सुधार आयोगले दिएको सुझावलाई अध्ययन गरेर करका क्षेत्रहरूमा सुधार गर्नुपर्ने चुनौती पौडेलसामु छन् । विदेशी लगानी अभिवृद्धिको लागि भूमिका खेल्दै मुलुकमा लगानीको उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने दायित्व पनि उनीसामु छ ।
बजेटको ठूलो हिस्सा साधारण खर्चमा गइरहेको स्थितिलाई सुधार्नुपर्ने छ । साथै, थोरै पूँजीगत खर्च पनि नहुने र असार मसान्तमा मात्रै ठूलो रकम जोखिमपूर्ण खर्च हुने नियमित नियतिलाई सुधार्नुपर्ने छ । बजेट कार्यान्वयनमा स्थानीय तह, प्रदेश सरकार र संघको समन्वय पौडेलसामु तेर्सिएको अर्को चुनौती रहेको आर्थिक विश्लेषक नेपाल बताउँछन् ।
विशेष समिति बनाएर सबै मन्त्रालयसँग समन्वय गरी खर्चसम्बन्धी अनुगमन गर्न उनी सुझाव दिन्छन् । खर्च गर्न अस्थायी संरचना बनाउनुपर्नेमा उनको जोड छ । आउँदै गरेको मौद्रिक नीतिलाई कामकाजी बनाएर अर्थतन्त्रका तमाम समस्या समाधान गर्ने समन्वयकारी भूमिका अर्थमन्त्री पौडेलले खेल्नुपर्ने हुन्छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग पौडेलले उचित तारतम्य मिलाउन सक्दा अर्थतन्त्रका धेरै चुनौतीलाई पार लगाउन सकिने उनी बताउँछन् । सोमबार शपथ लिएपछि अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै पौडेलले नयाँ सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने बताए । ‘नयाँ सरकारले सन्देश दिएको छ, राजनीतिक स्थिरता हुने र शिथिल अर्थतन्त्रलाई चलायमान गराउने,’ उनले भने, ‘मानिसको आत्मविश्वास टुटेको छ, नागरिकमा निराशा चिर्ने र आशा जगाउने काम सरकारले गर्नेछ ।’

विकास र वित्तका विकल्प खोज्ने र विकास खर्च नहुने परम्परागत समस्यालाई हटाउने वाचाका लागि अध्ययन गर्ने पहिलो फाइलमा अर्थमन्त्री पौडेलले हस्ताक्षर गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेलले पौडेल अर्थमन्त्री भएसँगै देशको अर्थतन्त्र चलायमान हुने आशा व्यक्त गरे ।
‘पौडेल निजी क्षेत्रसँग सधैँ नजिक रहेर समन्वय गर्दै अघि बढेर आशा जगाउने अर्थमन्त्री हो,’ पोखरेलले भने, ‘अहिलेको अवस्थामा उहाँबाट धेरै आशा छ । बजारको गतिविधि चलायमान बनाउँदै निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रलाई पुनर्ताजगी दिनुहुन्छ भन्ने निजी क्षेत्रको आशा छ ।’ राष्ट्रिय गौरव र महत्वका अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य आयोजना अलपत्र परेको चुनौतीलाई पार लगाउनुपर्ने दायित्वले पनि पौडेल थिचिएका छन् ।
‘अहिलेको सरकारलाई अब असफल हुने छुट छैन । देशमा अबौँ खर्च गरेर बनेका विमानस्थल टाट पल्टेका छन् । यिनलाई चलाउनु पहिलो प्राथमिकता र आवश्यकता हो,’ पोखरेल भन्छन्, ‘त्यस्तै राष्ट्रिय महत्वका आयोजना सम्पन्न गराउँदै स्वदेशी र विदेशी लगानी भित्र्याएर देशको अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता हो ।’ यस क्षेत्रमा विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखानासहित चल्ने योजना पौडेलले ल्याउनेमा रुपन्देहीबासी पनि आशावादी छन् । त्यस्तै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, बुटवल–नारायणगढ सडक छिट्टै सम्पन्न गर्नुपर्ने दायित्व पनि यही सरकारसँग छ ।

पौडेलसामु आफ्नो क्षेत्र र आसपासमा आफूले नै अघि बढाएका बुटवल मेडिकल कलेज, तिनाउ र चितवनको नारायणी नदीको सिग्नेचर ब्रिजजस्ता योजना सम्पन्न गर्नुपर्ने जिम्मेवारी छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल थला परेको अर्थतन्त्र सम्हाल्न र आम निराशाको अवस्था चिर्न अर्थमन्त्री पौडेललाई सुझाव दिन्छन् । ‘पौडेलले अब अंगाल्ने नीतिले लगानीको वातावरण बन्ने आशा छ । बैंक, वित्तीय संस्था र सहकारीमा थुप्रिएको अधिक तरलतालाई उत्पादनशील क्षेत्रमा लगानीको वातावरण निर्माण गरी आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने देख्छु,’ उनले भने, ‘बैंक, वित्तीय संस्था र सहकारीको आवधिक बचत तथा ऋणको ब्याज स्थिर बनाउने विधि अवलम्बन गर्ने, अन्तर्राष्ट्रिय विमानस्थल चलाउने र औद्योगिक क्षेत्र निर्माणमा ध्यान दिनुपर्छ ।’ ३० को दशकमा तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गरेका पौडेललाई एमालेको नेतृत्व गर्न सक्ने नेताको रुपमा पनि लिइन्छ । पार्टीमा उपाध्यक्ष रहेका पौडेल नेकपाकालमा पार्टीको शक्तिशाली महासचिव थिए । २०५१ देखि संसदीय चुनाव लडेका पौडेल पछिल्ला चार चुनावमा रुपन्देहीबाट लगातार जित्दै आएका छन् ।