छोरीलाई जन्माएर अस्ताइन् शिक्षिका सिर्जना

मेचीकाली संवाददाता

१७ श्रावण २०८१, बिहीबार
1578 shares

बुटवल । कपिलवस्तु घर भएकी शिक्षिका सिर्जना पौडेल दोस्रो सन्तानलाई जन्म दिने उत्साह बोकेर बुधबार बिहान रूपन्देहीको तिलोत्तमास्थित ओम महिला तथा बाल अस्पताल पुगिन् । त्यही कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.शर्मिला शर्मासँग उनले नियमित चेकजाँच गराएकी थिइन् ।

पहिलो सन्तान जन्माउँदा सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलमा डा. शर्माले नै चेकजाँच गरेका कारण सिर्जनालाई उनीप्रति विश्वास थियो । नियमित चेकजाँच र डाक्टरको सल्लाहबमोजिम अस्पताल पुगेपछि उनको शल्यक्रिया गर्नुपर्ने भयो । सबै प्रक्रिया पूरा गरेर चिकित्सकले अपरेसन थिएटरमा लगे । करिब आधा घण्टा लगाएर सिर्जनाले छोरीलाई जन्म दिइन् । चिकित्सकहरूले बच्चा आफन्तको जिम्मा लगाए । सुत्केरीलाई पनि केहीबेरपछि भेट्न मिल्ने बताए ।

केही समयमा एक÷एकजना गरेर आफन्तहरू सिर्जनालाई भेट्न वार्डमा पुगे । पछि चिकित्सकले ‘सिर्जनाको पिसाब आएन, आइसीयू भएको अस्पतालमा लैजानुपर्छ’ भनेपछि सबैको मनमा चिसो पस्यो । उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रिफर गरियो । बुटवल ल्याएपछि चिकित्सकले तत्काल रगत चढाउनुपर्ने बताए । केही आफन्त रगतको जोहोमा लागे । अस्पतालमा भर्ना गरेपछि डब्लूबीसी बढी, हेमोग्लोबिनको कमी र जन्डिसको समस्या रहेको त्यहाँका चिकित्सकले बताए । बिस्तारै सिर्जनालाई स्वासप्रश्वासमा समस्या भयो । अन्ततः राति १२ बजे उनी भर्खरै संसार देखाएको छोरीसहित परिवारलाई छाडेर अस्ताइन् ।

जेठानी मीना बेल्वासेले चिकित्सकको लापरबाहीले सिर्जनाको मृत्यु हुन पुगेको बताइन् । ‘उनमा कुनै दीर्घरोग थिएन,’ मीनाले भनिन्, ‘चिनेको डक्टरसँग नियमित उपचार गराउँदा बिरामीको मृत्यु हुने अवस्था आयो । अपरेसनमा कहीँ न कहीँ गल्ती भएको छ ।’ पहिलो बच्चा (छोरी) जन्मिएको १० वर्षपछि सिर्जना दोस्रोपटक आमा बनेकी थिइन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर–९ घर भएकी सिर्जना बुटवल बसेर शान्ति नमूना माध्यमिक विद्यालय तिलोत्तमामा पढाउँथिन् । उनी निम्नमाध्यामिक तहमा अंग्रेजी शिक्षिकाको रूपमा कार्यरत थिइन् । उनका श्रीमान् युवराज बेल्वासे पनि शिक्षक हुन् ।

डेलिभरीको मिति नजिकिएपछि सिर्जना साउन १ गतेदेखि बिदामा थिइन् । शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले उपचारमा कहीँ न कहीँ खोट भएको हुनसक्ने बताए । ‘उहाँ (सिर्जना) मा कुनै दीर्घरोग भएको मलाई जानकारी थिएन,’ लामिछानेले भने, ‘नियमित स्कूल आउनुहुन्थ्यो । असल र क्षमतावान् शिक्षिका हुनुहुन्थ्यो । बच्चा जन्माउन अस्पताल गएको सुत्केरी घर फर्किन नसक्ने अवस्था आउनु दुःखद् हो ।’

श्रीमान् युवराज पूर्वी नवलपरासीको देवचुलीस्थित प्रभात आधारभूत विद्यालयका शिक्षक हुन् । श्रीमतीको मृत्युले विक्षिप्त बनेका युवराजको काँधमा नवजातसहित दुई छोरी हुर्काउने जिम्मेवारी आएको छ । उता सिर्जनालाई नियमित चेकजाँच गरेकी डा. शर्मिलाले अपरेसन र उपचारमा कुनै कमजोरी नभएको दाबी गरिन् ।

‘सबै रिपोर्ट नर्मल थियो र हामीले अपरेसन गरेका हौं,’ अपरेसन गरेपछि उहाँमा युरिन भएन । त्यही भएर रिफर गरेका हौं । अकस्मात् आएको जाटिलताले त्यो अवस्था आयो । लाखौंको डेलिभरी हुँदा निम्तिने जटिलतामध्ये एउटा हो यो । हाम्रो कुनै कमजोरीले त्यो अवस्थामा पुगेको होइन ।’ उनले भनिन्, ‘प्रतिघण्टा ३० मिलिलिटर पिसाब हुनुपर्ने थियो तर भएन । मुत्रथैलीको इन्जुरीले पनि त्यो समस्या आएको हुनसक्छ भनेर हेरियो, केही देखिएन ।

आइसीयू चाहिने भएर रिफर गरेको हो । रिफर गरे पनि हामीले नियमित कन्सल्ट गरिरहेका थियौं । हाम्रो हातभन्दा बाहिर पुगेको अवस्था उहाँको मृत्यु भयो ।’ पछिल्लो समय सुत्केरी गराउने क्रममा मृत्युका घटना बढ्दै गएका छन् । रूपन्देही र बुटवलजस्तो विकसित भनिएको स्थानका अस्पतालमा समेत यस्तो अवस्था आउनु दुःखद् भएको सिर्जनाले पढाउने विद्यालयका प्रधानाध्यापक लामिछानेले बताए । उनलको बिहीबार नैं दाहसंस्कार गरिएको छ ।