हुर्केका रुख काट्नुभन्दा अन्यत्र सार्न पाए…

मेचीकाली संवाददाता

३० श्रावण २०८१, बुधबार
761 shares

अमृत गिरी

बुटवल। जलवायु परिवर्तनका नकारात्मक असर र विकास निर्माणका क्रममा वातावरणमैत्री योजना नबन्दा पर्यावरणको क्षेत्रमा चुनौती थपिएको छ । सहरमा सडक विस्तार जरुरी छ र सँगसँगै सहरमा रुख बिरुवाको समेत उत्तिकै आवश्यकता छ । बुटवल–बेलहिया सडक विस्तारका क्रममा गोलपार्कदेखि भैरहवासम्मका किनारका धेरै रुखहरु काटिए, मासिए र अहिले बल्ल सामान्य हरियाली बनाउन सुरु गर्न लागिएको छ ।

यस्तै बुटवलदेखि नारायणघाटसम्मको सडक विस्तार भइरहेको छ । यहाँ पनि जंगल क्षेत्रबाहेक बस्तीमै पनि कैयौं रुखहरु हुर्किएका थिए । विस्तार गरिएको सडक क्षेत्राधिकारमा पर्ने सहरी सडकमा रहेका रुखहरु यहाँ पनि सबै काटिए । अब बुटवलदेखि गोरुसिंगेसम्मको सडकलाई विस्तार गरिँदैछ र यहाँका पनि बस्तीमा रहेका सहरी सडकका रुखहरु काटिनेछन् ।
यसैपनि शहरभित्र बिरुवा हुर्काउने कार्य कठिन र चुनौतीपूर्ण छ । त्यसैमा पनि बल्लबल्ल हुर्किएका विरुवा सडक विस्तारका क्रममा मासिन्छन् । विकास निर्माणका बदलिँदा मापदण्ड र योजनाहरुलाई वातावरणमैत्री बनाउन जरुरी छ ।

सडक विस्तार गर्दा काटिने रुख अन्यत्र सार्न मिल्दैन ?
सहरी सडक किनारमा रहेका यी रुखहरु विस्तारका क्रममा अब काटिने छन् । वर्षौंअघिदेखि चौपारीसमेत बनाएर यस्ता कैयन् सानाठूला रुखहरु हुर्काइएका हुन् । बुटवल–गोरुसिंगे सडक खण्डमा मात्रै यीसहित ७ हजार भन्दा धेरै सानाठूला रुख सडक विस्तार गर्दा काट्नुपर्ने छ । विदेशमा हुर्केका यस्ता मध्यम र ठूला रुखलाई समेत उखेलेर अन्यत्र सारिन्छ । तस्बिरहरुः अमृत गिरी/मेचीकाली

बुटवल–गोरुसिंगे खण्डमा मात्रै सात हजार रुख
बुटवल–गोरुसिंगे खण्डमा रुपन्देही र कपिलवस्तुमा गरी सात हजारभन्दा धेरै रुख बिरुवा विस्तार गर्ने सडकमा पर्छन् । ती सबै रुख बिरुवा काटिनेछन् । ती रुखहरुमध्ये कतिपय कल्पवृक्षसमेत छन् ।

अक्सिजन प्रवाह गर्ने मात्रै नभई वातावरणलाई शुद्ध बनाइराख्ने औषधीय गुण भएका रुखलाई कल्पवृक्ष भनिन्छ । वर, पिपल, समी, आँप, कदम, सिमललगायतका विरुवालाई कल्पवृक्ष मानिन्छ । सडक विस्तारका क्रममा काटिनेमा यिनै रुख धेरै छन् ।
बुटवलदेखि कपिलवस्तुको चन्द्रोटासम्मको सडक विस्तार हुँदैछ । पहिलो चरणमा गोरुसिंगेदेखि केहीपरसम्म ०८४ भदौमा सडक विस्तार गर्नेगरी ठेक्का सम्झौता भइसकेको छ । सम्भवतः अब भदौको अन्तिम सातादेखि काम सुरु हुनेछ ।

बाक्लो बस्ती छेउमा काटेर खाली ठाउँमा वृक्षारोपण
सहरी क्षेत्रमा सडक विस्तारका क्रममा रुख हटाउनैपर्ने भएपछि त्यसको सट्टामा अन्यत्र अर्थात् खाली ठाउँमा वृक्षारोपण गर्नुपर्ने वन नियमावलीमा छ । सोही नियमावलीअनुसार सडक विस्तारका क्रममा काटिने अर्थात् हटाउने रुखहरुको सट्टामा सडक विभागले वनसँग मिलेर अन्यत्र नयाँ ठाउँमा नयाँ बिरुवा रोपिने छ ।

वन नियमावलीमै यहीँ व्यवस्था भएकाले सबै फाइल तयार पारेर वन विभागमा पठाइएको बुटवल–गोरुसिंगे सडक विस्तार आयोजनाका कार्यालय प्रमुख ई.होमबहादुर एसीले बताए । सडकले सबै खर्च बेहोर्नेगरी वन तोकेको क्षेत्रफलमा नयाँ बिरुवा रोपिने ई.एसीको भनाइ छ ।

वन क्षेत्रमा रहेका असंख्य रुखलाई अन्यत्र सार्न नसकिएपनि बस्तीमा शीत्तल छहारी दिइरहेका कल्पवृक्षसहितका रुखहरुलाई जोगाउने उपायको भने खोजी गर्नुपर्ने विज्ञहरुको जोड छ ।
विदेशका कैयन् मुलुकमा रुख–बिरुवालाई अस्थायी रुपमा कुनै ठाउँमा रोपिराखेर सडक विस्तारपछि बन्ने ‘ग्रिनरी बेल्ट’ (मेडियन) मा पुनः ल्याएर रोप्ने गरेको भएपनि नेपालमा भने त्यस्तो अभ्यास अझै हुन नसकेको वातावरणविद् डा.खेटराज दाहालको भनाइ छ ।

बुटवल, भैरहवा र आसपासका सहरी क्षेत्रका सडकमा रहेका चौपारीसहितका रुखलाई जोगाउने बारे बेलैमा ध्यान नजाँदा र त्यस्ता उपकरणको समेत प्रयोग नगर्दा हुर्किएका कैयन कल्पवृक्षहरु मासिएको ई.दाहालको दुखेसो छ ।

विकासको काम गर्दा ट्री–ट्रान्सप्लान्ट (मध्यम र ठुला रुखलाई जरासहित सार्ने) प्रचलन विश्वका कैयन् देशमा छ । तर, हामीकहाँ भने ‘ट्री– ट्रान्सप्लान्टर’ मेसिन अझै प्रयोगमा ल्याउन सकिएको छैन । तर, एकाध करोड रुपैयाँमै पनि पाइने यस्तो उपकरण हामीकहाँ किन ल्याइँदैन ?