बुटवलमा बन्ने मुलुककै ठूलो अस्पतालको शिलान्यास

मेचीकाली संवाददाता

१६ भाद्र २०८१, आईतवार
4540 shares

–१२ सय बेडको १२ तले अस्पताल
–क्यान्सर रोगको अलग्गै पाँचतले भवन

अमृत गिरी

बुटवल। बुटवलमा एक सय १५ वर्षअघि निर्माण भएको लुम्बिनी प्रादेशिक अस्पतालका पहिलेका पुराना सबै संरचना हटाएर मुलुककै ठूलो अस्पताल भवन बनाउन लागिएको छ । १२ सय बेडको १२ तले आधुनिक भवनको शनिबार एक समारोहबीच शिलान्यास भएको छ ।

लुम्बिनी प्रदेशको पहिलो सरकारले प्रदेश गौरवका रुपमा अगाडि बढाएको आयोजना लामो समयपछि अहिले आएर शिलान्यास चरणमा पुगेको हो । सुरुमा ठेक्का प्रक्रियामा विवाद भएपछि आयोजना प्रभावित भएको थियो । गत पुस २६ गते सबै विवाद निरुपण भएसँगै नयाँ टेण्डर आह्वान भई ठेक्का सम्झौता भएको हो । ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको अस्पताल भवनको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन् ।

अस्पताल परिसरमा प्रदेश सरकारका मातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले अस्पताल भवन बन्ने परिसरमा शनिबार बिहान शुभसाइत मिलाएर कार्यक्रमको आयोजना गरेको थियो । शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकास निर्माणका काममा नागरिक स्तरबाट निगरानी र चासो राख्नुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकाससंगै विशेषज्ञ र आधुनिक उपकरणहरुको पनि उत्तिकै खाँचो रहेको भन्दै त्यसका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । निर्माण कार्यमा कुनै व्यवधान नगर्न र निर्माणकार्यमा सघाउन मन्त्री पौडेलले सरोकारवालाहरुलाई आग्रह गरे ।

प्राधिकरणले तयार गरेको गुरुयोजनाअनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ भने दुई तलामा पार्किङ हुनेछ । पाँच तलाको क्यान्सर उपचारको ‘अनकलोजी डिपार्ट’ छुट्टै भवन हुनेछ ।
नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा ओपीडी, आपत्कालीन उपचार, इमर्जेन्सी र इन्डोर सर्भिस कक्षसहित १२ सय बेड रहने छन् । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् । अहिले रहेको सुविधामा थप सुविधासहितको सेवा प्रवाह हुने दाबी गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा भएको शिलान्यास सामारोहमा लुम्बिनी प्रदेशका सभामुख तुलारामा घर्ती, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारु, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, पूर्वस्वास्थ्यमन्त्री तथा एमाले नेता भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलगायतले सम्बोधन गर्दै निर्माणकार्यमा आफूहरुका तर्फबाट पूर्ण सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले लामो समय प्रभावित भएको प्रदेशको गौरवको आयोजना शिलान्यास गराउन पाउँदा खुशी लागेको बताए । शिलान्यास समारोहको सञ्चालन प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलले गरेका थिए ।

विकास निर्माणमा जनस्तरबाट निगरानी होस्ः अर्थमन्त्री पौडेल
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासको काममा सत्तापक्ष र प्रतिपक्ष भन्न नहुने बताए । बुटवलमा बन्न लागेको १ हजार २ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल भवनको शिलान्यास गर्दै पौडेलले विकासको काम सबै मिलेर गर्नुपर्ने बताए । विकास निर्माणको काममा सत्ता पक्ष प्रतिपक्ष सँगसँगै हिँड्नु पर्नेमा उनले जोड दिए ।

उनले अस्पतालको काम समयमै सक्न निर्देशन दिए तर छिटो काम सक्ने नाममा गुणस्तरमा भने सम्झौता हुन नसक्ने उनले स्पष्ट पारे । उनले अस्पताल निर्माण र व्यवस्थापनको काममा संघीय सरकारले सबै खालका सहयोग गर्ने बचन दिए । अस्पताल भवन निर्माणको जनस्तरबाट नियमित निगरानी हुनुपर्ने पनि उनले बताए ।
सो अस्पताल लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलको ठुलो पूर्वाधार भएकाले गुणस्तरीय काम गराउन जनस्तरबाट निगरानी हुनुपर्नेमा उनको जोड छ । ६ अर्ब १८ करोड ७५ लाख रुपैँयाको लागतको यो अस्पताल भवन बन्न लागेको हो । भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई उनले सुझाव दिए । त्यसको लागि अहिलेबाटै योजना बनाएर काम थाल्न उनले आग्रह गरे ।

२०८५ सम्ममा निर्माण सम्पन्न हुने लक्ष्य
मुलुककै ठूलो अस्पताल भवनको निर्माणकार्य आगामी पाँच वर्षभित्रैमा पूरा गर्ने लक्ष्य छ । दुई ठूला भवन र त्यसका स्वास्थ्यजन्य उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपैयाँ लागत अनुमान गरेको पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलले बताए ।

एक भारतीयसहित दुई नेपाली कम्पनीसँग संयुक्त रूपमा पाँच वर्षभित्र काम सक्ने गरी ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौता भएको र पायलिङलगायतका आवश्यक आधार निर्माणका काम अन्तिम चरणमा पुगेको इन्जिनियर पोखरेलको भनाइ छ । भारतीय प्रतिष्ठित कम्पनी ‘क्याप साइट–आशिष–रेलिगेर’ जेभीसँग ठेक्का सम्झौता भई भवन निर्माण पूर्व तयारीका कामहरु गत वैशाखभित्र नै भइरहेको पूर्वाधार इन्जिनियर पोखरेलले जानकारी दिए ।

भारतीय निर्माण कम्पनीसँग नेपालको आशिष र रेलिगेर कम्पनीले साझेदारी गरेका छन् । गत पुस २६ गते भएको ठेक्का सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ । सरकारले चालू आर्थिक वर्षमा भवन निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।

राणकालमा बनेको अस्पताल
राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा १९६७ सालमा ६ बेडको अस्पताल निर्माण भएकामा २०२४ सालमा ५० बेडमा विस्तार भएको थियो । २०५० सालमा १ सय बेडमा विस्तार भएको अस्पतालमा २०७२ सालबाट सरकारबाट ३ सय र विकास समितिबाट १०० गरी ४ सय बेडमा स्तरोन्नति भएको थियो । अहिले ५२४ बेडमा बिरामीको उपचार भइरहेको छ ।

१२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिनेछ । अस्पतालबाट अहिले बहिरंग सेवातर्फ जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्लास्टिक सर्जरीसहित १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन् ।

परीक्षणतर्फ प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, इइजी, ओपीजी, इकोकार्डीओग्राम लगायतका सेवा उपलब्ध छन्  । सबै उपचारका लागि ७४ विशेषज्ञ डाक्टरसहित ६ सय बढी स्वास्थ्यकर्मी कार्यरत छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिले ८ शैया रहेको बच्चाको आइसियु अहिले ३३ शैया पुगेको छ । बयस्कका लागि ६ शैैया रहेको आइसीयू अहिले २६ शैया पुगेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए ।

हालैमात्र क्याथल्याब सेवा समेत सञ्चालन गरिएको अस्पतालबाट मिर्गौलाको डायलाइसिस, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाड जोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोगलगायतका विशिष्टिकृत सेवा सञ्चालन छन् । अस्पतालमा १२७ जना चिकित्सक (विशेषज्ञ र मेडिकल अधिकृत), २९४ नर्सिङ कर्मचारी, १५७ पारामेडिक्स कर्मचारी, २८ जना प्रशासनिक कर्मचारी, १८९ जना कार्यालय सहयोगी÷सरसफाइकर्मी, २६ जना सुरक्षागार्ड तथा २८ जना अन्य गरी ८५१ जना कार्यरत छन् ।

बिरामीको चाप सधैं उस्तै
हाल बन्न लागेको ठाउँमा रहेका २०१६ सालमा निर्माण गरिएका पुराना सबै भवन हटाइएको छ । ५ सय २० वेड रहेको र विशेषज्ञ सेवा उपलव्ध रहेको अस्पतालमा बिरामीको चाप भने सधैं उस्तै छ । ठूला र जटिल रोगको उपचारमा समेत कैयौं समय पालो कुर्नुपर्ने बाध्यता छ । अब नयाँ संरचना र नयाँ उपकरणसहितको सेवा प्रवाह र्भपछि त्यस्ता बाध्यता हट्ने अपेक्षा गरिएको र सम्बन्धित निकायको पनि ध्यान जान जरुरी रहेको उपभोक्ता हीत संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकको भनाइ छ ।

दैनिक दुई हजारदेखि २ हजार ५ सयसम्म बिरामीहरू उपचारका लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि प्राय बेडहरू बिरामीले भरिने गरेका छन् । सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ ।