उदर भरौँ, दर नभनौँ !

मेचीकाली संवाददाता

२० भाद्र २०८१, बिहीबार
168 shares

घनश्याम कोइराला

आज तीजको दरखाने दिन हो । तीज पर्व रमाइलो पर्व हो । यसमा विवाहित महिलाहरूलाई माइतीले घरमा बोलाएर दर खुवाउने गरिन्छ, यसको खास अर्थ छ । जसले, जहाँ, जहिले, जसरी खुवाए पनि दर हुँदैन, यस्तो दरले उदर (पेट) भरिने मात्र हुन्छ । उदर मात्र भर्न र गीत मात्र गाउनका लागि तीज नै किन चाहिन्छ र ? विवाहका भोजभतेरमा खाने खान्की दर होइन । रङ्गरमाइलो गर्न जुटेपछि खानुपर्छ, होटलमा खानु नै गलत हो भन्ने होइन तर त्यसलाई कुनै हिसाबले पनि दर भन्न मिल्दैन । बरु यस्तो खानपिनलाई हरितालिका तीजको उपलक्ष्यमा व्यवस्था गरिएको सहभोज भन्न सकिन्छ ।

गाउँघरबाट मानिसहरू सहर पस्ने र बस्ने प्रक्रियासँगै तीजको स्वरूपमा पनि परिवर्तन आएको छ । माइतीको आँगनमा छरछिमेकका चेलीबेटी समेत जम्मा भएर नाच्ने अवस्था फेरिँदैआएको छ । सहरीकरणले आँगन साँघु¥याएको मात्र छैन, निमिट्यान्नै पारिदिएको छ भन्दा अत्युक्ति हुँदैन । मध्यमवर्गका सहरी मानिसहरूको आँगन कारपार्किङ बनेका छन् ।
तीजमा दरको बिगबिगी र विकृति बढ्दो छ । तीज तामसी पर्व होइन, राजसी पनि होइन, यो त सात्विक पर्व हो । यसलाई सात्विक नै राख्दा राम्रो हुन्छ । मानिसले आफ्नो जन्म दिन मनाउँदा गतेमिति मिलाउनैपर्ने, चाडपर्वहरूमा तिथिमिति मिलाउनुपर्दैन ? सामाजिक सञ्जालहरूमा दरका नाममा मादक पदार्थसमेत प्रयोग भएको देखिन्छ । कतिपयले कुतर्क गर्न भ्याउँछन्, ‘पुरुषले जे गरे पनि हुने, महिलाले गर्न नहुने ?’ के पुरुषले जाँडरक्सी खाएर, मात्तिँदै, नाच्दै हिँडेको राम्रो मानिएको छ र ? खानका लागि बनेबनाइएका पदार्थ खानुलाई अन्यथा नमान्दा पनि कतिबेला, कस्तो अवस्थामा कति मात्रामा खाने भन्ने त हुनुपर्छ नि । यसमा महिला र पुरुषको भन्नुपर्ने के छ र ?

पहिले पहिले तीजमा गाएको सुनिन्थ्यो, ‘यो तीज आयो भनेर नगरौँ खल्बल, बसौँ दिदीबहिनी हो गरौँ छलफल…..!’ छलफलका विषय पनि गीतमा नै आउँथे र मन लगाएर सुनिन्थ्यो । सामाजिक, पारिवारिक, राष्ट्रिय चासोका विषय पनि गीतमा नै सुन्न पाइन्थ्यो । तर अहिले तीजमा त्यस्ता छलफल र मन्थन भएको पाइँदैन, बरु समाजलाई नै भद्दा, भड्किलो, उत्ताउलो र दिशाविहीन बनाउने गीतनाच, खाद्य र पहिरनको बोलबाला बढेको देखिन्छ ।

परम्परादेखि नेपाली समाजले अत्यन्त आत्मीयतापूर्वक मनाउँदै आएको राष्ट्रिय पर्व तीज हाम्रो घरआँगनमा आइसकेको छ । यसको पारम्परिक, सामाजिक, सांस्कृतिक र पारिवारिक महत्व छ । समय बलिन्छ, सामाजिक अवस्था बदलिन्छ, भौतिक विकासले सहजता थपिन्छ; तर यसको तात्पर्य परम्परा, समाज, संस्कृति र परिवारको महत्व कम हुँदैन । हामीले हाम्रा पर्वहरूलाई सोही अन्तर्वस्तुका साथ मनाउनु उचित हुन्छ । फेर्ने भनेको विभेद हो, होँचोनिचो हो । फेर्नु भनेको भद्दापन र अश्लीलता प्रदर्शन गर्नु होइन । हाम्रो समाज र संस्कृतिमा महिलाद्वेषी केही प्रसङ्ग छन् तर, सनातन संस्कृतिका सार नै विभेद, अपमान, द्वेष होइन भन्ने बुझ्न आवश्यक छ ।

यसै त कतिपय मानिसहरूले तीजलाई महिलाहरूको मात्र पर्वको रूपमा अथ्र्याउने गरेको पाइन्छ । यसको सार र स्वरूप दुवैले यसलाई महिला मात्रको पर्व भएको पुष्टि गर्दैनन्, बरु यसलाई महिला केन्द्रित पर्व भन्न मिल्ला । नेपाली समाजमा तीजमा आफ्ना विवाहित छोरी तथा दिदीबहिनीहरूलाई घरमा बोलाएर मिठोमसिनो खुवाउने प्रचलन भएको चाड हो । यो पर्व महिलाको मात्र होइन, दिदी–बहिनी–छोरीलाई घरमा बोलाएर महत्व दिने बाबा–दाजु–भाइको पनि हो, एउटै घरमा कसैको पर्व हुने र कसैको नहुने हुन्छ र ?

अहिलेको जस्तो यातायात तथा सूचना प्रणाली नभएको समय भएकोले त्यतिबेला उनीहरूलाई बोलाउने वा लिनै जान पर्ने हुन्थो । एक त बोलाउने माध्यम अहिलेको जस्तो सजिलो थिएन, अर्को महिलाहरूलाई लामोबाट एक्लै हिँड्ने अनुमति पनि थिएन । महिलालाई एक्लै हिँड्न नदिने विषय शास्त्रमै छ । यस किसिमको सामाजिक व्यवस्थाको विभिन्न कोणबाट आलोचना र विरोध पनि हुने गरेको पाइन्छ । यसबाट दुई वटा कुरा स्पष्ट हुन्छ: पहिलो, महिलालाई सुरक्षा र सम्मानसाथ राख्नुपर्छ र दोस्रो, हाम्रो समाजका पुरुषहरू छाडा हुँदारहेछन्, जसका कारण महिलाहरू घरबाहिर असुरक्षित रहेछन् । जङ्गली जनावरका नजरमा त मानिस महिला, पुरुष होस् वा अन्य, त्यो सिकार मात्र ठहर्छ, स्त्रीविशेषको सुरक्षाको विषयले पुरुषहरूको आक्रामकता पुष्टि हुन्छ । महिला स्वतन्त्रता र सम्मानका लागि यो र अन्य यस्ता विषय पनि बहसमा आउनुपर्दछ । यति मात्र होइन, पुरुषहरूमा ठूलै सुधारको आवश्यकता देखिन्छ ।

विवाह भएर पतिको घरलाई नै आप्mनो घर बनाएर बसेका दिदीबहिनीहरूलाई माइती घरमा सम्मानसाथ ल्याएर–बोलाएर खानपान गराउने विषय हाम्रो सामाजिक परम्परा हो । यसरी खुवाइने, खानुलाई दर खाने भनिन्छ । सामान्यतया ‘दर’ भनेको मूल्य हो, मूल्य भनेको महत्व र मान हो । यसरी हेर्दा दर खाने भनेको गतिलो मूल्यवान् वस्तुहरू÷पदार्थहरू खाने भनिएको हो, दर खानु भनेको महत्वपूर्ण र सम्मानयुक्त खवाइ हो । कृषि परम्परामा आधारित समाज रहेको अवस्थाका कारण बर्खे खेती लगाइ सकिएको बेला, बर्खामा फल्ने तरकारी–फलफूलको प्रचुरता हुने, हरियो घाँसपातका कारण दुहुना पशुहरूले धेरै दुध दिने हुँदा दुध–दही–घीउको कमी नहुने समय पारेर, एकरूपताका लागि तिथिमिति तोकेर दिदी–बहिनी, छोरीहरूलाई घरमा (उनीहरूको माइतमा) भेला पारेर मूल्यवान्, गतिला, महत्वपूर्ण, दरिला (पौष्टिक) खानेकुराहरू खाने, गाउने, नाच्ने, पीर पोख्ने, देवी–देवता, ऋषि (पुर्खाहरू)को सम्मान, सम्झना(पूजा) गर्ने सामाजिक परम्परा बसालिएको तीज दर खाएर सुरू गर्ने र ऋषि पञ्चमीमा अरुन्धतीसहित सप्तर्षिको पूजा गरेपछि सकिने हो ।

यो सनातन सांस्कृतिक परम्परा हो । यसमा धर्म शास्त्रको मात्र भूमिका देखिँदैन । परम्परा, प्रकृति, धर्म, संस्कृति, अध्यात्म सबैको मिश्रण छ, तर यिनलाई एकसाथ गुजुल्ट्याएर बुझ्दा सत्यबोध हुँदैन । सत्यबोध नहुँदा सत्य नै दोषि देखिन्छ । यो नै अन्धविश्वास हो । कुनै पनि काम नबुझीकन लहैलहैमा लागेर गरेपछि अन्धविश्वास हुन्छ ।

महिला भनेको मातृशक्ति हो, आद्यशक्ति हो । ‘न स्त्री स्वातन्त्य्रमर्हति’को अर्थ महिला एक्लै छैनन्, एक्लै हुँदैनन्, एक्लै पारिनु हुँदैन भन्ने अर्थ पनि लगाउन सकिन्छ । सर्वसाधारणले अरु कसैको सुरक्षा सुविधा नपाइने भएको हुनाले यस्तो विशेष प्रावधान रहेको पनि हुन सक्दछ । जहाँसम्म आश्रित हुने विषय छ, यो महिलाका विषयमा मात्र सीमित छैन, ‘अनाश्रया नशोभन्ते पण्डिताः वनिता लता अर्थात् पण्डित, स्त्री र लहरा आश्रयविना सुहाँदैनन्, यिनीहरूलाई कसैको सहारा अनिवार्य हुन्छ’ पण्डितलाई पनि लहरासरह उल्लेख गरिएको छ ।

यतिबेलाका मानिस त्यतिबेला कोही पनि थिएनौँ । त्यसैले त्यतिबेलाको प्रथा परम्परा हाम्रो अनुमान र विश्लेषणको मात्र विषय हो । त्यसैले यस्ता विषयलाई एकोहोरो हेरिनु हुँदैन । शास्त्रको व्याख्या र परम्पराको अवलम्बन समाजअनुकूल गर्नुपर्दछ । विगतमा यस्तो शक्ति अनुकूल हुने गरेको छ । शास्त्रीय प्रावधान र कथन पनि एकै प्रकारको कहाँ छ र ? शास्त्रकै अर्को पङ्क्ति हेर्दा स्त्रीद्वेषी भएको देखिँदैन, ‘यत्र नार्यस्तु पूज्यन्ते रमनते तत्र देवताः अर्थात् जहाँ नारीको पूजा(उच्च सम्मान) हुन्छ, त्यहाँ देवता खुसी हुन्छन्’ भनिएबाट नारीहरूको सुरक्षाको विषय सम्मानसँग नै जोडिएको हुनुपर्दछ । कुनै पनि एउटा सन्दर्भमा एकसाथ दुई वटा कुरा एकसाथ आउँछन् भने सकारात्मक रोज्नु र त्यसमाथि दाबी गर्नु बुद्धिमानी हो । ऐतिहासिक र पौराणिक विषयमा गरिने विश्लेषण अनुमानका आधारमा गरिने विश्लेषण हो । अनुमान गर्दा, सम्भावनाको आँकलन गर्दा, परिकल्पना गर्दा नकारात्मक नै हुनुपर्छ भन्ने के छ ? बरु खोइ आजका महिलाहरूले त्यस्तो सुरक्षा पाएको ? किन आज महिलाहरू असुरक्षित र सन्त्रस्त भएर हिँड्नु परेको होला ? सामन्तवादी समाजमा अरुलाई कमजोर बनाउने र उनीहरूलाई शोषण गर्ने विषय सामान्यजस्तो थियो । यस्तो शोषण महिला पुरुष जोसुकैलाई हुन्थ्यो । त्यसमा महिलाहरू बढी नै शोषित हुन्थे । त्यसको अवशेष अहिले पनि छ ।
हरितालिका तीज एउटा खास घटना विशेषको एउटा सानो कथा हो । त्यो कथा पौराणिक कथा हो । तर, हाम्रो समाज पौराणिक होइन । त्यसदेखि यता अनेकौँ परिवर्तनहरू भए । ती परिवर्तनहरूमा जोगिनपर्ने फ्याँकिए होलान्, फ्याँकिनुपर्ने रहे होलान् । तीजको त्यो पौराणिक कथाले शोषणको सन्देश दिँदैन, बरु विद्रोहको सफलताको सन्देश दिन्छ ।

तीजलाई ‘हरितालिका’ भनिन्छ । हरितालिका शब्द यसरी बनको छ ः हरिता+आलिका=हरितालिका । यसको अर्थ आलिका (सँगिनीहरू) द्वारा हरण गरिएकी वा लुकाइएकी भन्ने हुन्छ । पौराणिक कथानुसार पार्वतीले शिवलाई मन पराएकी थिइन्, उनका बुवा भने पार्वतीको विवाह परं वैभवशाली विष्णुसँग गरिदिन चाहन्थे । पार्वतीले नचाहेका विष्णुसँग विवाह हुनबाट जोगाउन पार्वतीका साथीहरूले उनलाई लुकाएर राखे । उनले शिवसँग नै विवाह गर्ने प्रतिबद्धतासहित कुनै ठाउँमा लुकेर बसिन् । यो उनको दृढ अठोट थियो । यही नै सङ्कल्प र व्रत थियो । शिवलाई यस प्रकारको सन्देश पुगिरह्यो । अन्ततः उनको विवाह शिवसँग भयो । पौराणिक प्रसङ्ग यही हो र यत्ति हो । पार्वतीले साथीहरूको सहयोगमा मनले ताके–चिताएको प्रतिफल प्राप्त गरिन् । प्रतिफल यही हो । यसलाई पार्वती र उनका साथीहरूले गरेको एक प्रकारको विद्रोह सफल भएको रूपमा लिन सकिन्छ । शास्त्रीय दृष्टिले हेर्दा यही सफलताको उत्सव हो–तीजको खानपान, नाचगान आदि ! सङ्घर्ष र विजयको सन्देश सबैका लागि अनुकरणीय भयो । यही सन्देशलाई उत्सवको परम्पराको रूपमा अघि बढाइएको हो । शास्त्री–पौराणिक तीज यही हो ।
के यसमा विभेद छ ? यसमा विकृति छ ? के यसले समाजलाई गलत सन्देश दिएको छ ? यसले महिनौँ हरियो सारी लगाएर, हातभरि मेहन्दी रङाएर बस्न अह्राएको छ ? यस्तो तीजले कुन अर्थमा अन्धविश्वास बढाउँछ ? खोजेको, रोजेको जीवनसाथी प्राप्त गर्न पार्वतीको सार्थक प्रतिबद्धता नै व्रत हो, सङ्कल्प हो । यसमा पार्वतीका सहेलीहरूले साथ दिए, लुकाएर राखे, शिव–पार्वतीबिच सन्देश सम्प्रेषण गरे, भेट गराए । यसले सामूहिकताको, सरसहयोगको सन्देश छ । सफलतामा हुने नाचगान, खानपान, भेटघाट, उत्सवलाई भव्य, सभ्य भएर मनाउने र सकारात्मक सन्देशहरू दिने गर्न सकिन्छ । यसलाई अन्तर्जातीय विवाहमा मात्र सीमित राख्न आवश्यक छैन ।

हरितालिका तीज नजिकिएसँगै महिलावाद के हो भन्ने प्रश्न पनि उठ्ने गरेको छ । कतिपय मानिसहरूमा ‘महिलावाद’ महिलाप्रति सद्भाव, सम्मान र समताको आन्दोलन हो भन्ने भ्रम छ । प्रथमतः यो महिलावाद भन्ने शब्द नै सही छैन । यो उद्दण्ड, स्वच्छन्द, अराजक प्रवृत्ति हो । तर, ‘महिलावाद’को जन्म पुरुषसत्ताको दमनकारी शोषण र चरम विभेदको निरन्तरताको कारण भएको हो । सभ्य समाज पुरुषसत्ता र महिलावादी सोचबाट मुक्त हुन्छ, मुक्त पार्नुपर्छ ।

संस्कृति विकासको समरूप हुन्छ, तर परम्पराले पुरानो कुरा बोक्न रुचाउँछ । धर्मको परिभाषा र रूप फरक–फरक छन् । तीज परम्परा र संस्कृतिसँगै पारिवारिक कूटनीतिक पर्व हो । दमनकारी पुरुषसत्ताको विरुद्ध सङ्घर्ष गर्न महिलाहरूले पुरुषकै सुस्वास्थ्य र दीर्घजीवनको कामनासहित यस अभियानलाई अघि बढाएको देखिन्छ । अन्यथा त्यतिबेला महिलाहरूको अधिकारमुखी अभियान घरबाटै दबाइन सक्थ्यो । जमघट, स्वतन्त्रता र गीतहरूका सन्देश सम्भव हुने थिएन । अहिले समाजमा महिलाहरूले प्राप्त गरेका अधिकारका जग महिलाहरूकै ती जुक्तिहरू हुन् । जालझेल र बलपूर्वक स्थापित गरिएको पुरुषसत्तालाई विवेकशील, कूटनीतिक र सिर्जनात्मक संस्कृतिको माध्यमबाट दिइएको चुनौती प्रशंसनीय छ । तीज संस्कृतिको नेपाली सामाजिक चुरो यस्तै देखिन्छ । महिला समताको यो बुद्धिमत्तापूर्ण अभियान पुरुषविरोधी भने होइन, किनभने यसमा पुरुषको हित, सुस्वास्थ्य तथा दीर्घजीवनको कामना अन्तर्निहित हुनुले यस कुराको पुष्टि गर्दछ । पुरुषहरू अविवेकी भइरहनु उचित हुँदैन ।

आजको तीज समताको विकसित साझा (महिला–पुरुष दुवैको) संस्कृतिका रूपमा मनाउनु वाञ्छनीय हुनेछ । यसको प्रथम श्रेय भने महिलाहरूलाई नै जान्छ । सबैलाई तीजको शुभकामना । (लेखक कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)