सार्वजनिक स्वास्थ्यको गम्भीर समस्या बन्दै मुटु रोग

उपचार भने सीमित, केन्द्रिकृत र महँगो

मेचीकाली संवाददाता

१३ आश्विन २०८१, आईतवार
1192 shares

औषधीहरुका अतिरिक्त एन्जियोप्लास्टी, बाइपास सर्जरी, पेसमेकर, माइट्रल वा एओर्टिक भल्भ रिप्लेसमेन्ट, कार्डियोभर्सन तथा इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटरजस्ता उपचार र मुटुको प्रत्यारोपणसमेत गर्न सक्नेगरी उपचार विधिहरुको विकास भएको छ । यीसबैजसो उपचार नेपालमा हुने गरेपनि त्यो केन्द्रित, सीमित र जटिल छ ।

अमृत गिरी

बुटवल । पछिल्ला केही समययता ‘हर्ट अट्याक’ (हृदयघात) भएर जुनसुकै उमेर समूहका मानिसलाई पनि सताउने गरेको छ । केही बेरअघिसम्म स्वस्थ देखिने, फूर्तिलो देखिने, राम्रै खाना खाएर गफिएको मान्छे केहीबेरमै एक्कासी ढलेका दुखद खबरका सिलसिला बढिरहेका छन् ।

विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्था सिर्जना हुने खतरा रहेको मुटुरोग विशेषज्ञहरुको दाबी छ ।
अस्वस्थ जीवनशैली, धूम्रपान, मद्यपान, असन्तुलित आहार, शारीरिक गतिविधिको कमी, उच्च रक्तचाप, मधुमेह, र तनावजस्ता कारणहरूले गर्दा हृदय रोगका बिरामीहरूको संख्या बढ्दै गएको विशेषज्ञहरु बताउँछन् ।

नसर्ने रोगमध्येको सबैभन्दा धेरै समस्याका रुपमा मुटु रोग देखिएको छ । विश्वमा मृत्युको पहिलो कारणकै रुपमा यो समस्यालाई लिने गरिएको छ । नेपालमा पनि यो समस्या भयावह बन्दै गइरहेको छ । किशोर, बयस्क, अधबैंसेदेखि उमेर ढल्किइसकेका समेतका हरेक उमेर समूहका मानिसहरुलाई मुटु रोगको समस्या छ । पछिल्ला केही वर्षयता हृदयघातका कारण अकालमा ज्यान गुमाउनेमा किशोर र बयस्क उमेर समूहका धेरै छन् ।
नसर्ने रोग जस्तै मुटु रोग, फोक्सोको रोग, क्यान्सर, मधुमेह इत्यादि रोगका कारण विश्वमा लगभग ६६ देखि ७० प्रतिशतसम्म मान्छेको मृत्युका कारण हुनुका साथै ३० देखि ७० वर्ष उमेर समूहका मान्छेको मृत्यु प्रत्येक २ सेकेन्डमा १ जनाको नसर्ने रोगबाट हुनेगरेको छ । यीमध्ये पहिलो कारण मुटुको समस्या देखिएको छ ।

नसर्ने रोगहरुमध्ये ३० प्रतिशतको मृत्यु मुटु र रक्तनलीको रोगबाट मात्रै हुने गरेको विश्व स्वाथ्य संगठनको हालैको तथ्यांकमा छ । मुटुरोग विशेष गरी ४० वर्षभन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजभोलि यो रोग युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रतिवर्ष मुटु तथा रक्तनलीका रोगबाट २ करोड मानिसको मृत्यु हुने गरेको छ । प्रति १ मिनेटमा ३२ जनाको मृत्यु यसबाट हुने गरेको छ । त्यसमध्ये उच्च रक्तचापका कारण करिब ९४ लाख मानिसको मृत्युु भइरहेको छ । सन् २०३० सम्ममा यो रोगबाट मृत्यु हुनेको संख्या बढेर २ करोडभन्दा माथिसम्म पुग्न सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ ।

नेपालमा पनि कुल जनसंख्याको करिब १५ प्रतिशतसम्म मानिसमा मुटुको रोग रहेको अनुमान छ । विभिन्न अस्पतालहरुमा आउने बिरामी र विभिन्न समयमा भएका सर्वेक्षणहरुका आधारमा स्वास्थ्य संगठनले जारी गरेका तथ्यांकहरुमा नेपालमा पछिल्लो दशक यता मुटु रोगको समस्या तीव्र रुपमा बढेको छ ।

नेपालमा मुटु रोगको अवस्था
नेपालमा हालै गरिएको एक अध्ययनअनुसार वर्षेनी करिब २० हजार जनाको मृत्यु मुटु रोगका कारणले हुने गरेको छ । सोही अध्ययनले नेपालमा हालको जनशंख्याको २५–६९ उमेर समूहको करिब ३० प्रतिशतमा मुटुको समस्या छ । यसको पहिलो कारण उच्च रक्तचाप रहेको उक्त अध्ययन प्रतिवेदनमा छ । विश्व स्वास्थ्य संगठनका विज्ञसहितको सोही अध्ययन टोलीले त्रिवि शिक्षण अस्पतालमा गरेको अध्ययन अनुसार अस्पतालमा भर्ना हुनेमध्ये करिब २५ प्रतिशत बिरामीमा मुटु रोग देखिएको छ । वर्षेनी हजारौं मुटुको सर्जरी हुने गरेको तथ्यांक छ ।

उपचारका विधिसँगै रोग र चेतना पनि बढ्दै
मुटु रोगको उपचारका लागि सेवा विस्तार हुँदै गएपनि रोग लाग्ने दर पनि बढिरहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अद्यावधिक तथ्यांक र सेवाका विस्तारित प्रकारलाई समेत अध्ययन गर्दै आएका बुटवलका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.समीर गौतमले उपचारका विधिसंगै रोग र चेतना पनि बढ्दै गएको बताउँछन् ।

यसक्षेत्रको पहिलो सामुदायिक गौतमबुद्ध मुटु अस्पतालका निर्देशकसमेत रहेका डा.समीरले आजभोलि केही चेतना बढेपनि खानपान र वातावरणीय प्रदूषका कारणले बिरामीको संख्या बढिरहेको बताए । उपचारका लागि आउने बिरामीको अवस्था र तथ्यांकलाई आधारमान्दा पनि मुटुको समस्या बढिरहेको डा. गौतमको यकिन छ ।

अर्का मुटु रोग विशेषज्ञ अवनिभूषण उपाध्यायले संसारमै मुटु रोगहरूमध्ये ७५ प्रतिशत लगभग मुटुरोगहरू हाम्रो जस्तो विकास हुन बाँकी, गरिब, पछि परेका देशहरूमा पर्ने गरेको र नेपालमा त स्थित भयावह नै बन्दै गइरहेको चिन्ता व्यक्त गरे । ‘मुटुमा हात राखेर आफ्नो मुटु साक्षी राखी अरूको मर्म बुझेर समाजमै मुटु बचाउनतर्फ लाग्न ढिलाई नगरौं’ विशेषज्ञ उपाध्यायको अनुरोध छ ।

कस्तो हुन्छ मुटु रोगको लक्षण ?
अचानक छाती दुख्नु, स्वास्वा हुनु, पसिना आउनु, रिंगटा लाग्नु, मुटु ढुकढुक हुनु, डर लाग्नु जस्ता लक्षण देखापर्न थाल्छन्, जसलाई हृदयघात भनिन्छ यो इमेर्जेन्सी अवस्था हो पहिलो १ घण्टा सुनौलो घण्टा हो १–३ घण्टामा सही उपचार भएमा बाँच्न सक्ने सम्भावना हुन्छ । छातीको बिच भागमा दुख्ने, दम बढ्ने, खुट्टाहरू सुन्निने, घाटीको रक्तनली फुल्ने, ओठ, जिब्रो र औंलाका टुप्पा, नीलो हुने, औंलाका टुप्पा बाक्ला र चाक्ला हुने, टाउको दुख्ने, चक्कर लाग्ने, मुटुको धड्कन रोकिने वा छिटोछिटो चल्ने, कफमा रगत देखा पर्ने, जोर्नीहरू दुख्ने, सुन्निने र ज्वरो आउने, हात, खुट्टा, ओठ आदि झट्का दिँदै अनियन्त्रितरूपमा चल्ने र छातीमा हात राख्दा बिरालो कनेकोजस्तो थर्केको महसुस हुनेआदि लक्षण देखिन्छ । नेपालमा १० वर्षयता मुटु रोगीहरुको संख्या ५ गुणाले वृद्धि भएको बताइन्छ ।

केके छन् मुटुका औषधी र उपचार विधि ?
मुटुरोगका उपचार विधिहरू बिरामीको अवस्थाको गम्भीरता, रोगको प्रकार र बिरामीको स्वास्थ्य स्थितिमा निर्भर हुन्छन् । सामान्यतया, मुटुरोगको उपचारमा औषधी सेवनदेखि शल्यक्रिया (सर्जरी) सम्मका विधिहरू समावेश हुन्छन् ।
रक्तचाप नियन्त्रण गर्ने औषधी, रक्त पातलो बनाउने औषधी, कोलेस्ट्रोल घटाउने औषधी तथा डाइयुरेटिक्सका औषधीले शरीरको अतिरिक्त तरल पदार्थ कम गरेर मुटुको कामलाई सहज बनाउने चिकित्सकहरु बताउँछन् । यस्तै एरिथ्मिया नियन्त्रणका औषधीले मुटुको अनियमित धड्कन नियन्त्रण गर्न सघाउँछ । विशेषज्ञहरुको कुराकानीका आधारमा केही उपचार विधिहरुलाई यहाँ उल्लेख गरिएको छ । ती यस्ता छन् ।

एन्जियोप्लास्टीः यो प्रक्रियामा सुई र पतला ट्यूब (क्याथेटर) प्रयोग गरेर रक्तनली (धमनी) को ब्लकेज हटाइन्छ । यो प्रक्रिया धमनीमा जमेको बोसो हटाउन र रगतको प्रवाह पुनःस्थापित गर्न प्रयोग गरिन्छ । स्टेन्ट राखेर धमनीलाई खुला राख्न पनि सकिन्छ ।
बाइपास सर्जरीः यो शल्यक्रिया हृदयको बन्द रक्तनली (धमनी) को आसपास नयाँ मार्ग (बाइपास) बनाइ हृदयमा रगतको प्रवाह पुनःस्थापित गर्न गरिन्छ ।
पेसमेकरः मुटुको धड्कन अनियमित हुँदा पेसमेकर नामक उपकरण शरीरभित्र राखेर मुटुको धड्कन नियमित बनाइन्छ ।
माइट्रल वा एओर्टिक भल्भ रिप्लेसमेन्टः भल्भमा समस्या हुँदा, शल्यक्रिया गरेर बिग्रिएका भल्भहरू नयाँ कृत्रिम भल्भले प्रतिस्थापन गरिन्छ ।

कार्डियोभर्सनः अनियमित मुटुको धड्कनलाई सुधार गर्न विद्युतीय झड्का (शक) दिने उपचार विधि हो । यसले मुटुलाई सामान्य धड्कनमा फर्काउन मद्दत गर्छ ।
इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटरः यो एक प्रकारको उपकरण हो, जुन मुटुमा गम्भीर एरिथ्मिया (अनियमित धड्कन) आएमा झड्का दिएर हृदयलाई सामान्य अवस्थामा फर्काउँछ ।

मुटु प्रत्यारोपणः अत्यन्तै गम्भीर अवस्थामा, जब अन्य कुनै पनि उपचारले काम नगरेको अवस्थामा, बिरामीलाई नयाँ मुटु प्रत्यारोपण (ट्रान्सप्लान्ट) गर्न सकिन्छ । यो प्रक्रिया बिरामीको जीवन रक्षाको अन्तिम विकल्पको रूपमा प्रयोग गरिन्छ । नेपालमा पहिलो पटक २०७३ असारमा डा.उत्तमकृष्ण श्रेष्ठको टिमले मुटुको सफल प्रत्यारोपण गरेको थियो । त्यसबेला एक ५१ वर्षीय बिरामीमा ब्रेन डेथ भएका उनका आफन्तको मुटु झिकेर सफल प्रत्यारोपण गरिएको थियो । त्यो घटनालाई विश्वमै दुर्लभ मानिएको थियो ।

उपचार सेवा सीमित र केन्द्रिकृत
मुटुरोगको उपचारका विधिहरू बिरामीको स्वास्थ्यको अवस्थालाई ध्यानमा राखेर जीवनशैली परिवर्तन, औषधी सेवन, सर्जिकल प्रक्रिया, र विशेष उपकरणहरूको प्रयोगद्वारा गरिने चिकित्सकहरु बताउँछन् । एन्जियोप्लास्टी, बाइपास सर्जरी, पेसमेकर, माइट्रल वा एओर्टिक भल्भ रिप्लेसमेन्ट, कार्डियोभर्सन तथा इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटरजस्ता उपचार र मुटु प्रत्यारोपणसमेत गर्न सक्नेगरी उपचार विधिहरुको विकास भएको छ । यीसबैजसो उपचार नेपालमा हुने गरेपनि त्यो केन्द्रित, सीमित र जटिल छ ।

मुटुको धमनिहरूमा ब्लकेज कहाँ छ भनेर हेर्ने एन्जियोग्राफी र ब्लकेज हटाउने प्रक्रिया एन्जियोप्लास्टीको उपचार विश्वमा सुरु भएको २२ वर्षपछि बल्ल नेपालमा उपकरण ल्याएर उपचार सुरु गरियो त्यो पनि सीमित मात्रामा ।
उपत्यका बाहिर यसको सेवा विस्तार गर्न त झण्डै ३७ वर्ष लाग्यो । यो सेवा सुदूरपश्चिममा त अहिलेसम्म पुगेकै छैन । सन् १९८० देखि नै विश्वमा यो सेवा व्यापक थियो । मुटुको शल्यक्रियाबिना नै मुटुका धमनीहरूलाई खोल्न मद्दत गर्ने क्याथल्याबसहितको यो उपचार पद्दतिलाई विस्तार गर्नुपर्ने विशेषज्ञहरुको माग छ । यसो भएमा उपचार पनि सहज बनाउन सकिन्छ र उपचार सेवा पनि विस्तार हुने बुटवलमा यहीँ सेवा दिइरहेका डाक्टर समीर गौतमको भनाइ छ ।

काठमाण्डौमा सन् २००२ मा एन्जियोप्लास्टीको उपचार सेवा सुरु भएकोमा बुटवलमा आइपुग्दा सन् २०१७ सम्म कुर्नुपर्ने अवस्था थियो । यहीँ सेवापनि मुलुकका सीमित ठाउँमा मात्रै छ । अझ मुटुको वाइपास सर्जरी, ओपन हर्ट सर्जरी, भल्ब खोल्ने र मुटु चल्दाचल्दै पनि सर्जरी गर्न मिल्ने उपचार सेवा त अति सीमित ठाउँमा छ ।

वाइपास सर्जरी काठमाडौं बाहिर चितवन, धरान र विराटनगरमा मात्रै छ । सरकारले आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक र बालबालिकाहरूलाई मुटुरोगको उपचारमा सहुलियत दिन विभिन्न कार्यक्रम सञ्चालन गरेको भएपनि त्यो प्रयाप्त नभएको गुनासो छ ।
केपी ओली यसअघि प्रधानमन्त्री भएका बेला जटिल प्रकारका रोगहरुको उपचारमा सहुलीयत दिनेगरी स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको थियो । सरकारी अस्पतालहरूमार्फत उपचारमा एक लाखदेखि दुई लाखसम्म सर्जरीको र बालबालिकाको निशुल्कसम्मका सहुलियतका कार्यक्रम सुरु भएका थिए । यसलाई विस्तार गरेर एन्जियोप्लाष्टीलगायतमा दिइएको एक लाख रुपैयाँमा कम्तीमा ५० हजार थप हुने हो भने उपचार सेवालाई सहज बनाउन सकिने र धेरै विपन्नले राहत पाउने अवस्था रहेको मुटुरोग विशेषज्ञ गौतमको भनाइ छ ।

जीवनशैली फेरौं, स्वस्थ बनौं
चिकित्सकहरुले उच्च फाइबरयुक्त खाना, ताजा फलफूल, सागसब्जी, कम तौलको प्रोटिन र कम फ्याटयुक्त खाना खाने सुझाव दिइने गरेपनि हाम्रो जीवनशैली फेरिएको छैन । व्यायाम गर्ने बानी फेसन जस्तै बनेपछि नियमित छैन । नियमित शारीरिक गतिविधि जस्तैः पैदल हिँड्नु, साइकल चलाउनु वा हल्का व्यायाम, हृदय स्वास्थ्यको लागि महत्वपूर्ण मानिन्छ । यस्तै धूम्रपान र मद्यपानले मुटुमा नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई छोड्न चिकित्सकले सिफारिस गरिरहे पनि अवस्था उस्तै छ ।