फेरि अनिश्चिततातर्फ धकेलिँदै बुटवल–नारायणगढ सडक

मेचीकाली संवाददाता

२४ मंसिर २०८१, सोमबार
92 shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा बुटवल–नारायणगढ सडक खण्ड एक वर्षभित्र (२०८३ मंसिरमा) पूरा हुने बताए । भ्रमणमा जानुपूर्व काम नगरी भागेर चीन पुगेको ठेकेदारलाई मंसिरभित्र काम सुरु नभए ठेक्का तोड्ने चेतावनी उनले दिएका थिए । कार्तिक अन्तिम साता रुपन्देही, नवलपरासी पूर्व र पश्चिमका जनप्रतिनिधिले सडक स्तरोन्नतिको काम छिटो सक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । तर, काममा बदमासी गर्ने ठेकेदारले प्रधानमन्त्रीको चेतावनीको समेत वास्ता गरेको छैन । घाटा भएको कारण देखाउँदै वर्षायाम सुरु हुनुपूर्वदेखि निर्माण कम्पनीले रोकेको काम अझै अघि बढेको छैन ।

गएको असारदेखि सडक निर्माण ठप्पजस्तै छ । नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका प्रमुख सिनियर डिभिजन इन्जिनियर शशांक मिश्रले ठेकेदारले काम अघि नबढाएको बताए । ‘वर्षायाम सुरु हुनुभन्दा अघिसम्म दैनिक ८०० कामदारले काम गर्थे, अहिले ३०/४० जना मात्र देखिन्छन्, काम सुरु भयो भन्ने अवस्था छैन,’ मिश्रले भने, ‘निर्माणमा लस भयो भनेर काम गरेको छैन । यो कुरा माथि प्रधानमन्त्री तहबाटै भए पनि अहिलेसम्म फिल्डमा ठेकेदारले काम गरेको छैन ।’
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा ६ वर्षअघि ठेक्का लिएर निर्माण सुरु गरेको थियो । २०७९ साउन २२ गतेभित्र सक्ने गरी २०७५ चैतमा ८ मा यो आयोजनाको ठेक्का लगाइएको थियो । आयोजनाको अहिलेसम्म जम्मा ५३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । विभिन्न स्थानमा निर्माण कम्पनीले सडक भत्काएर छाडेको छ । भत्काएको लामो समय बितिसक्दा पनि स्तरोन्नति नगर्दा यात्रुले हैरानी र घण्टौंको जाम झेल्नुपरिरहेको छ । चाडपर्वका बेला दाउन्नेमा सडक भासिँदा यात्रुले पटक–पटक जामको सामना गर्नुपरेको थियो । ६ वर्षअघिको लागतमा काम गर्न समस्या भएको भन्दै चिनियाँ ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ । सरकारकै कारण निर्माणमा ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनीले २ अर्ब अतिरिक्त पैसा माग गरेको बताए पनि आयोजनाका प्रतिनिधि यसबारे आफूलाई जानकारी नभएको बताउँछन् ।

आयोजनाको पूर्व खण्डका इन्जिनियर शिव खनालले प्रधानमन्त्री चीन भ्रमणमा गएपछि विभिन्न ठाउँमा काम गरेजस्तो देखिए पनि अपेक्षाकृत काम हुन नसकेको बताए । ‘पैसाको समस्या भयो भन्ने सुनिन्छ,’ इन्जिनियर खनालले भने, ‘हामीलाई अहिलेसम्म यो विषयमा आधिकारिक रूपमा केही भनिएको छैन । पैसा म्यानेज गरेर काम गर्छौं भन्छन् तर पनि प्रगति देखिने गरी काम भएको छैन । हेरौं, अबको हप्ता÷दश दिनमा के हुन्छ ।’

पूर्व खण्डका तीनवटा ठूला र लामा पुल दुम्कीबास, अरुणखोला र चोरमारामा काम सुरु मात्र भएको छ । पूर्व खण्डमा ३३ किलोमिटर सडक एकतर्फी कालोपत्रे भएको छ । अबको एक वर्षभित्र कम्तीमा एकातर्फ भए पनि कालोपत्रे पूरा नगरे हामीले टर्मिनेट गर्छौं भनेका छौं ।’ सरकारले सडक खण्डको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक थप गरेको छ ।

तेस्रोपटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने छ । तर, काम भने आधा बाँकी छ । ११५ किलोमिटरको यो सडक दुईवटा प्याकेजमा निर्माण हुँदैछ । नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत ४९ किलोमिटर निर्माण गरिनेछ । यी दुई खण्डमा फरक–फरक ठेक्कामा काम भइरहेको छ ।

बुटवल–नारायणगढ खण्डको पूरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालो/ओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेन मात्रै हुनेछ । ३ लेनमध्ये उकालोतर्फ २ लेन प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेनमात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाई निकै असहज हुने भएकाले २ लेन दिन लागिएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीका डेपुटी कन्ट्रयाक म्यानेजर योगेश श्रेष्ठले जनवरीमा चाइनाबाट रकम आएपछि काम अघि बढ्ने दाबी गरे ।
‘हामीले साइट रन मात्र गरेका छौं,’ श्रेष्ठले भने, ‘जनवरीबाट काम हुन्छ । पूर्णरूपमा काम रोकिएको छैन । काम भइरहेको छ ।’ यो पश्चिम नेपालका लागि लाइ फलाइन सडक नै हो । दैनिक हजारौं यातायातका साधन र यात्रुहरू ठूलो जोखिम झेल्दै घण्टौंसम्म सडकमा बस्न बाध्य छन् ।

बुटवल–नारायणगढ सडक खण्ड रुपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लामा पर्छ । निर्माणमा चरम ढिलासुस्ती हुँदा सडकसँग जोडिएका गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयी त्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलका दर्जनौं पालिका, बस्ती र हजारौं नागरिक प्रभावित भएका छन् । सवारीसाधनको चाप हेर्ने हो भने यो सडक १ मिनेट पनि रोक्न नमिल्ने खालको छ । यो सडकमा दैनिक साना–ठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ ।

सडक निर्माणमा अति विलम्ब हुँदा निजी क्षेत्र, यातायात व्यवसायी र स्थानीयले ठूलो मूल्य चुकाएका छन् । त्यसको कुनै लेखाजोखा हुन नसक्ने बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । ठेकेदारले अब लगातार काम गरे १५ महिनाभित्र ‘प्रोजेक्ट’ सक्न कुनै समस्या नरहेको अर्यालको भनाइ छ । यो सडक भएर ६ वर्षदेखि यात्रा गर्ने यात्रुको नियति धुलाम्मे र हिलाम्मे छ । सरकारले समयमा समन्वय नगर्दा निर्माणमा ढिलाई भएको र ठेकेदार कम्पनीले पनि सरकारलाई अटेरी गरिरहेको देखिन्छ ।