

अमृत गिरी
बुटवल । विश्वका कैयन मुलुकमा सवारी दुर्घटनाबाट हुने मृत्युलाई शून्यमा झार्ने काम भइरहेपनि हामीकहाँ भने दुर्घटनाका दुस्चक्र दिनहुँ बढिरहेको पाइएको छ । सहरकेन्द्रित जनघनत्व, सवारीसाधनको अधिक चाँप, थामिनसक्नु ट्राफिक जाम र नियम नमान्ने अटेरि प्रवृत्तिका कारणले दुर्घटना कहिल्यै निको नहुने रोगका रुपमा बढिरहेको छ । सहरी क्षेत्रमा भइरहेका छिनछिनका दुर्घटना र तिनबाट भइरहेको जनधनको क्षति कहालीलाग्दो छ ।
लुम्बिनी प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट पाँच सय १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २ हजार ३५ जना घाइते भएका छन् । घाइतेमध्ये आधाभन्दा धेरै गम्भीर छन् । आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१ सम्म भएका ५ हजार ४ सय १९ वटा सवारी दुर्घटनामा उक्त संख्यामा मानिसको मृत्यु भएको प्रहरीको तथ्यांकमा छ । आर्थिक वर्ष २०७९/८० मा भन्दा गत आर्थिक वर्ष २०८०/८१ मा सवारी साधनको दुर्घटना र मानिसको मृत्यु संख्या दुबै बढेको थियो । चालु आवको पछिल्लो दुई महिनामा मात्रै ९९ जनाको मृत्यु, ११ सय भन्दा धेरै घाइते हुनेगरि ७५० दुर्घटना भएका छन् । यीमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेको प्रहरीको तथ्यांकमा छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार यहीँ पुस र माघ महिनामा मात्रै यो प्रदेशमा दुर्घटनामा ९९ जनाको मृत्यु भएको छ । पुसमा मात्रै ५७ जना र माघमा ४२ जनाको दुर्घटनामा ज्यान गएको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा छ । यी दुई महिनमामा मात्रै ७५० वटा सवारी दुर्घटना भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्यूनीकरणका अभियानसंगै सार्वजनिक सवारीका मजदुर र चालकको स्वास्थ्य परिक्षणसम्मका कामलाई निरन्तरता दिइएको बताए । उनले प्रारम्भिक अनुसन्धानमा चालककै लापरबाहीका कारण बढी दुर्घटना हुने गरेको पाइएकोले चालक र सहचालक लक्षित स्वास्थ्य शिविर र सचेतना अभियान सञ्चालन गरिएको बताए ।
चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरू पेसाप्रति जबाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रूपमा रहेको पाइएको प्रमुख खत्रीले बताए । प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मधुसुदन न्यौपानेले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसँग उपलव्ध सीमित स्रोत साधनबाट अधिकतम काम गर्ने कोसिस भइरहेको बताए । अभियनमा विभिन्न संघ संस्था, नागरिक समाज र सञ्चारकर्मीको प्रभावकारी सहकार्यको खाँचो रहेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८०/०८१ को साउनदेखी बैशाख मसान्तसम्ममा प्रदेशका १२ जिल्लामा १ हजार ३ सय ५ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा ६ सय १२ जना पुरुष गम्भीर घाइते भए भने १ सय ७२ जना महिला र ६२ जना बालक, २५ जना बालिका रहेकी छिन् । रूपन्देहीमा गत आर्थिक वर्षमा भएका २ सय ५० वटा सवारी दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएको थियो । रुपन्देहीपछि दाङमा २ सय ३ वटा सवारी दुर्घटनामा ९९ जनाको मृत्यु भएको थियो ।
अघिल्लो मंसिर देखी माघ मसान्तसम्ममा १ सय ४८ जनाले ज्यान गुमाउदा फागुनदेखी बैशाख मसान्तसम्म १ सय ५२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, घाइतेको संख्या भने घटेको देखिन्छ । आव ०८०÷८१ को माघ महिनामा मात्रै ७३ दुर्घटनामा ३७ जनाको मृत्यु र ९५ जना घाइते भएकोमा चालु आव ०८१÷८२ को माघ महिनामा मात्रै ३ सय ८५ दुर्घटनामा ४२ जनाको मृत्यु र ५ सय ७० जना घाइते भएका छन् ।
यहीँ आवको पुसमा ३ सय ६५ दुर्घटनामा ५७ को मृत्यु र ५ सय ९२ घाइते भएको प्रहरीको तथ्यांकमा छ । अघिल्लो मंसिरदेखी माघ मसान्त सम्ममा २८३ जना घाइते हुँदा फागुनदेखी बैशाख मसान्तसम्ममा २ सय ४२ जना घाइते भएका थिए । प्रहरीको तथ्याङ्क हेर्दा लुम्बिनी प्रदेशमा एक दिनमा औसतमा ४ वटाभन्दा धेरै सवारी दुर्घटना हुने गरेका छन् भने हरेक दिन कम्तीमा एक जनाले ज्यान गुमाउँछन् ।
सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । चालु आवको दस महिनामा ७५२ वटा मोटरसाइकल दुर्घटनामा पर्दा ११२ वटा जिप÷कार, ९३ वटा बस, ९६ साना सवारी साधन, ६४ वटा ट्रक÷ट्याङ्कर दुर्घटना भएका छन् । ६६ वटा ट्याक्टर, २५ माइक्रो, ७ वटा स्क्राभेटर, ४७ टेम्पो, ३३ ट्रीपर, अन्य १० सवारी गरी २९० दुर्घटना भएका छन् । त्यस्मा सबैभन्दा बढी रुपन्देही जिल्लामा २९० दुर्घटना हुँदा सबैभन्दा कम पुर्वी रुकुममा ८ वटा मात्रै सवारी दुर्घटना भएका छन् । रुपन्देहीमा भएको दुर्घटनामा मात्रै १९१ वटा मोटरसाइकल परेको प्रहरीको भनाइ छ ।
दुई पांग्रे सवारीको दुर्घटना बढ्दै्र गएपछि प्रहरीले तिनै सवारी लक्षित अभियान सञ्चालन गरेको छ । प्रदेश भर दुई पाङ्ग्रे सवारी साधन दुर्घटना न्यूनिकरणको लागि दुई पाङ्ग्रे सवारी चालक लक्षित चालकहरुसँग २ मिनेट कार्यक्रम लागु गरी करिब १४ हजार जना चालकहरु सहभागी गराइएको छ ।
यस्तै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ बिपरित स्वरुप परिवर्तन गरि चलाउने ४५ वटा मो.सा.पक्राउ गरि कारबाहीका लागि यातयात व्यवस्था कार्यालयमा पठाई प्रति मो.सा. रु.१०, हजारका दरले रु ४ लाख ५० हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।
चालक र सहचालकको स्वास्थ्य परीक्षण
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजना र गौतम बुद्ध सामुदायीक मुटु अस्पताल बुटवलको सहकार्यमा सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । यसलाई सबै जिल्लामा विस्तार गरिने र दुर्घटना न्यूनिकरणको अभियान प्रभावकारी बनाइने प्रहरीको तयारी छ । पहिलो चरणमा सार्वजनिक सवारी साधनका २ सय ४९ जना चालक तथा सहचालकहरुको विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य जाँच गरिएको कार्यालय प्रमुख खत्रीले जानकारी दिए ।
खत्रीले आफ्नो एक वर्ष कार्यकालका मुख्य मुख्य कामको बुँदागत विवरण पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए । त्यसमा उनले दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको कडाईका साथ पालना गराउने, कारबाही र सचेतनाका अभियानलाई संगसंगै लैजानेलगायतका काम भएको उल्लेख गरेका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ बिपरित सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा आफु खुशी सिट थप गर्ने १७ वटा सवारीलाई कारवाही गरि रु १ लाख ७० हजार राजश्व संकलन भएको प्रहरीको विवरणमा छ ।