गुल्मीदरवारले ल्यायो ५६ करोड ३८ लाखको बजेट

मेचीकाली संवाददाता

१० असार २०८२, मंगलवार
212 shares

टोपलाल अर्याल

गुल्मी । गुल्मीदरवार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि कुल ५६ करोड ३८ लाख ४० हजार रुपियाँको अनुमानित कुल बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले गाउँ सभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ३४ करोड ८० लाख ५३ हजार र पूँजिगततर्फ २१ करोड ५७ लाख ८७ हजार रुपियाँ रहेको छ ।

आगामी आर्थिक वर्षको अनुमानित आय तर्फ संघीय सरकार तर्फ नेपाल सरकार समानिकरण अनुदान आठ करोड ८५ लाख, संघीय सरकार तर्फनै राजस्व बाँडफाँड तर्फ सात करोड ८० लाख, बिशेष अनुदान तीन करोड ७२ लाख, सशर्त अनुदान दुई करोड २५ करोड २१ लाख र समपुरक तर्फ ७५ लाख रुपियाँ बिनियोजन भएको छ ।

लुम्बिनी प्रदेश सरकारबाट समानिकरणमा ६१ लाख १५ हजार, राजश्व बाँडफाँड तर्फ ७७ लाख ८० हजार, बिशेष अनुदान १८ लाख सशर्त अनुदान चार करोड ६२ लाख र समपुरक ७५ लाख रुपियाँ रहेको गाउँपालिका उपाध्यक्ष तारा थापा ढेँगाले जानकारी दिनुभयो । त्यस्तै गुल्मीदरवारको कुल अनुमानित आन्तरिक स्रोत तर्फ दुई करोड ९६ लाख ४६ हजार र वैंक मौज्दात १५ लाख रुपियाँ रहेको छ । गुल्मीदरवार गाउँपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रम चैत ६ गते सभामा प्रस्तुत भइसकेको छ ।

गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमहरु बिगतको निरन्तरता र केही नयाँ कार्यक्रम रहेका छन् । नीति तथा कार्यक्रमले अति गरिब र मध्यम गरिबको राज्य सुविधा परिचयपत्र प्राप्त गरेका परिवारका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ । त्यस्तै उपाध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, विद्यालय सघन अनुगमन कार्यक्रम, पढ्दै कमाउदै कार्यक्रम, अध्यक्ष नानी बाबु प्रतिभा प्रस्तुतीकरण कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

संस्कृति तर्फ स्थानीय रोजगारी सिर्जना सहित मनोरञ्जनका अवसर वृद्धि गर्न क्रमिक रुपमा एक वडा एक पञ्चेबाजा समुह विस्तार गर्ने नयाँ कार्यक्रम आएको छ । सबै खाले सामाजिक कुरिति, कुसंस्कार र विभेदको अन्त्य गरि सामाजिक विकास र सदाचार स्थापित गर्न ‘मेरो समाज असल समाज कार्यक्रम’ सञ्चालन गरिने भएको छ । स्वास्थ्य र सरसफाई सम्बन्धी तोकिएका सूचकहरु पूरा गर्ने परिवारलाई स्मार्ट एण्ड हेल्दी फेम्लीको रुपमा सम्मान गरिने नीति गाउँपालिकाले लिएको छ ।