आदिकवि भानुभक्त र कुलिङ पिरियडसम्म

मेचीकाली संवाददाता

२९ असार २०८२, आईतवार
160 shares

कमल पन्थी

विसं.१८७१ साल असार २९ गतेको जन्ममितिले आदिकवि भानुभक्त आचार्यको यस वर्ष २१२ औँ जन्मजयन्ती । उनको जन्मजयन्ती सरकारी तथा गैरसरकारी क्षेत्रबाट योगदानको स्मरण गर्दै श्रद्धापूर्वक भव्यरुपमा मनाइँदै छ । तत्कालीन समयमा संस्कृत भाषाको एकाधिपत्य रहेको अवस्थामा संस्कृतका काव्य रचनाहरु सरलरुपमा नेपाली भाषामा अनुवाद गरेर सर्वसाधारण सवैले बुझ्ने र अर्थाउन सक्ने बनाए । यसो गर्दैगर्दा उनलाई देवताको भाषा मानिने संस्कृत भाषाको अपमान गरेको भनी आरोप नलागेको पनि होइन । त्यतिबेला संस्कृत भाषाको अधिक प्रचलन र नेपाली भाषा गौण मानिन्थ्यो । संस्कृतका पण्डितहरुको वोलवाला र रवाफ भिन्दै हुन्थ्यो जसरी अहिले नेपाली बोल्ने भन्दा अंग्रेजी वोल्नेको रवाफ बेग्लै छ । आदिकवि भानुभक्त पनि यस्तै संस्कृतका पण्डित सुसभ्य ब्राह्मण परिवारमा जन्मेका थिए । हजुरवुवा श्रीकृष्ण आचार्य प्रतिष्ठित, प्रकाण्ड विद्वान् थिए । उनकै असल संस्कारयुक्त हुर्काइ र शिक्षा आर्जनसमेत गरे । संस्कृतभाषामा रहेको रामाययणलाई नेपाली भाषामा उल्था गरेर सबैको पहँुचमा पुराउनका साथै विभिन्न साहित्यिक कृतिहरुको रचनाका कुराहरुले हामीलाई लगाएको गुनको विषयमा जताततै बहसका विषयहरु बन्छन् ।

आदिकवि भानुभक्त आचार्य

पहिलोपल्ट युवा कवि मोतीराम भट्टको कलमबाट ‘कवि भानुभक्त आचार्यको जीवन चरित्र’ भन्ने कृति निस्कियो र भानुभक्तलाई आदिकविको सम्मान दिए । तत्पश्चात क्रमशः शम्भु प्रसाद ढुंग्याल, नरनाथ आचार्य, भानुभक्तकै पनाति मुक्तिनाथ आचार्य र व्रतराज आचार्यले श्रुति परम्पराका आधारमा ‘आदिकवि भानुभक्त’को जीवनी लेखेका छन् । कालान्तरमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यका बारेमा अन्य धेरै लेखकहरूले पनि कलम चलाइरहेका छन् । तिथिमितिहरु तलमाथि र जीवनमा घटित घटनाहरु काहीँकतै बाँझिएको लेखहरुमा पाइन्छन् । सर्वप्रथम मोतीरामले भानुभक्तको जीवनी नलेखेको भए, भानुभक्तका जीवन रचनाहरु हरायर जाने थिए। भानुभक्त आचार्यले राणाकालमा आएर मात्र आदिकवि उपाधि पाए । ‘साहित्य, कला, दर्शन, नाट्यजस्ता अनेक विधाको उद्गम मानिएको यो हिमवतखण्डमा भानुभक्तले भाषाका माध्यमबाट अनेकै समुदाय र मनहरूलाई जोड्ने काम गरे भने मोतिराम भट्टले त्यसलाई उजागर गरे।चौतारीमा भेट भएका समान्य घाँसीसँगको प्रेरणादायी अभिव्यक्तिबाट समेत प्रभावित भई काव्य रचनामा तल्लिन भएका आदिकवि भानुभक्तलाई सम्झने आजको पावन दिनमा उत्प्रेरक घाँसी र युवक कवि मोतिराम भट्टलाई समेत श्रद्धापूर्वक स्मरण र कृतज्ञताको साथै उच्च सम्मान !

मैले यस आलेखमा उठान गर्न खोजिएको विषय अलिक फरक छ । विषय सामान्य प्रकृतिको जस्तो देखिए पनि यसको गाम्भिर्यता र सान्दर्भिकता अहिले पनि झन पेचिलो बन्दै गएको छ । अब केही दिनमा आर्थिक वर्ष समाप्ती भई नयाँ अर्थिक वर्षको शुरुवात हुँदै छ । किसानलाइ मानो खाएर मुरी फलाउने धान खेती गर्नु छ भने देशभरि आर्थिक कारोवारको सरकारी तथा गैरसरकारी सबै क्षेत्रमा खातावन्दीको चटारो छ । फेरि श्रावण लागेपछि उक्त कारोवारको फरफारख र परीक्षणसमेत गराउनु पर्ने हुन्छ । यो आलेख आदिकवि भानुभक्त आचार्यको सरकारी रकम हिसाबमिलान फरफारखको सेरोफेरोमा केन्द्रीत रहेको छ ।

भानुभक्तलाई मुद्दा र जागिरको सन्दर्भ
आफ्ना पिता धनञ्जय आचार्यको देहावसानपछि भानुभक्तलाई छिमेकी गिरिधारी रानाभाटसँग बगर खेतको साँधसीमा सम्बन्धी मुद्दा पर्छ । यस मुद्दामा भानुभक्त पहाडतिरका अड्डामा पनि केही समय झुलाइए । वि.सं.१९०६ मा यो मुद्दा लिएर भानुभक्त पहिलोपटक काठमाण्डौ गए । काठमाण्डौको बसाइमा सुन्दर कान्तिपुरी नगरीको विषयमा कविता पनि लेखे । पछि उक्त मुद्दाको फैसला भानुभक्तको पक्षमा नै भयो । यसै समयमा तत्कालिन दरवारमा पनि सम्पर्क भयो । मुख्तियार जंगबहादुर राणाको भाइ कृष्णबहादुरसंग राम्रो सम्वन्ध वनेका कारण वि.सं.१९०६ मा सरकारी जागिर पाएर मधेशतिर कामकाज गर्न गए । हुन त उनका वुवा धनन्जय पनि सरकारी जागिरे खरिदार पदमा काम गरि सकेका थिए । सरकारी तहका कर्मचारीको काम गराईको आधारमा प्रत्येक वर्ष खारेजी, सरुवा, थमौती, बढुवा अदि गर्ने कामलाई पजनी भनिन्थ्यो । आदिकवि भानुभक्त आचार्य पजनीमा परे । उनले जागिर खाएको दुई वर्ष पछि सरकारी जागिर खोसियो । हिसाबकिताब र आफू जिम्माका कागजपत्र वुझाउन भनी काठमाण्डौ कुमारीचोक आए । त्यसैबेला कुमारी चोकमा आई आफ्नो कार्यकालको सबै प्रकारका कागजपत्र र आम्दानी खर्चको स्याहा बुझाउनु पर्दथ्यो । खर्च विवरण राख्न भुल्दा बहीबुझारथ र कागजपत्र वुझाउन नसक्दा बरवुझारथ गर्न सकेनछन् ।

कुमारी चोक अड्डा र यसको पृष्ठभूमि
मल्लकालदेखि प्रति वर्ष राज्यको आम्दानी र खर्चको विवरण जीवित देवी कुमारीलाई सुनाउनु पर्ने परम्परा थियो । पृथ्वीनारायणशाहको कालमा ६ वैशाख १८२८ मा कुमारी चोक अड्डा स्थापना भएको थियो । राज्यको हिसाब बढ्दै गएपछि तिनै कुमारी बस्ने घरको चोकमा कार्यालय नै स्थापना भयो र यसै अड्डाको नाम कुमारीचोक भयो । कुमारी चोक राज्यको हिसाबकिताब केन्द्रीय रूपमा जाँच गर्ने सरकारी अड्डाको नाम थियो । अहिलेको महालेखा परीक्षकको कार्यालय जस्तो तत्कालिन सरकारी अड्डा खानाको हिसाव बुझ्ने अर्थ मन्त्रालयअन्तर्गत कुमारी चोक अड्डाले हिसाबकिताब जाँच्ने काम गर्दथ्यो । कुमारी चोक अड्डा निकै शक्तिशाली थियो । उसले निर्मम कारवाही गर्दथ्यो । कुमारी चोकले समाएछ भनेपछि अहिलेको अख्तियारले समाय भन्दा बढी अर्थ राख्थ्यो । राणाकालसम्म पनि उसले त बही बुझाएछ भनिन्थ्यो। (कर्मचारी मरेपछिमात्र उन्मुक्ती पाउँछ भन्ने सन्दर्भमा) कुमारीचोकले राज्यको आम्दानी खर्च जाँची कुनै अनियमितता पाए सम्बन्धित कर्मचारीलाई पक्रने, थुन्ने, कारागारमा हाल्ने र सम्पत्ति लिलामसमेत गरी सरकारी बाँकी असूल गर्नेसमेतको अख्तियारी प्राप्त अड्डा थियो ।
अनियमित तरिकाबाट खर्च गर्नेलाई मात्र होइन, आम्दानी गर्ने कर्मचारीलाई पनि सो अड्डाले जरिवाना गर्ने, जागिरबाट बर्खास्त गर्ने र निज वा निजको सन्तानलाई समेत भविष्यमा सरकारी कामको लागि अयोग्य घोषित गर्ने र कैद गर्ने जस्ता सजाय दिन सक्थ्यो–विकिपिडिया )

कुमारी चोक अड्डा र भानुभक्त आचार्यलाई मुद्दा ः कविजीले कुमारी चोकमा सही हिसाबकिताब बुझाउन सकेनन् अर्थात् हिसाब फरफारख (लेनदेनमा बुझाउनु पर्ने रकम, कागज आदिबाट छुटकारा, सबै किसिमको चुक्ता, फार्से, फस्र्यौट) हुन सकेन र सरकारी रकम बाँकी अशुलउपर हुन सकेन । यिनलाई थुनामा राखेर मुद्दाको कारबाही अगाडि बढाइयो । तसर्थ यिनी पाँच महिनासम्म कुमारी चोकमा थुनिएछन् । मुद्दा छिनिन लामो समय लाग्यो । थुनामा परेका बखत पनि उनी साहित्य साधनामा लागिरहे। कारागारमा लामखुट्टे, उडुस र उपियाँको टोकाइ खेप्नुपरेको कुराका अतिरिक्त तत्कालीन प्रशासनिक ढिलासुस्तीलाई उनले कविताको विषय बनाए।यससंग सम्वन्धित कविता जस्ताको तस्तै –
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलिभोलि ।
की ता सक्तिन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यी भोलि ।
भोलिभोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

त्यतिबेला डिट्ठा विचारी न्याय सम्पादन गर्ने उच्च व्यक्तित्व र ओहोदाका न्यायमूर्तीहरु हुन् । अदालत न्यायको मन्दिर र न्यायमूर्तिहरु पूजारी हुन् । अदालतमा न्यायको ढोका ढकढकाउने मानिसहरु भक्तजन हुन् । मानिसहरु अप्ठ्यारो परेमा अदालत जान्छु भन्छ र जान्छ पनि । कविजी पनि यसैका आधारमा न्यायको लागि अदालत जान्छन् । तर अदालतले कविको मुद्दा छिन्न ढिलाई गर्छ । डिट्ठा विचारीले खाली भाका मात्र सार्दै भोलि भोलि मात्र भन्छन् । उनीहरुको भोलि कहिल्यै आउँदैन । समयमा मुद्दाको किनारा नलाग्दा जेल जीवनको कष्टकर क्षेणलाई कवितामा व्यंग प्रहार गर्छन् । ढिलो गरी न्याय दिनु पनि अन्याय गर्नु सरह हो भन्ने मान्यता पनि रहेको छ । जसरी हाँसले दूध र पानी छुट्याउछ त्यसैगरी अदालतले न्याय अन्याय छुट्याउनुपर्छ । पछि कविजीले ढिलो भए पनि न्याय पाउनु भएछ । उहाँकै पक्षमा फैसला आएछ ।

वर्तमान प्रशासनिक अवस्था
आदिकवि भानुभक्त आचार्यले तत्कालिन प्रशासनिक ढिलासुस्तीलाई व्यंग्य प्रहार गरेर लेखेको उक्त कविताको सान्दर्भिकता अहिले पनि यथावत नै छ । यसलाई सुशासन भनिएला तर आशय भने उही नै हो । अहिले सुशासनको अवस्था निकै कमजोर रहेको छ । स्थायी सरकार मानिने निजामती सेवालाई समस्या समाधान होईन गुजुल्टाउने प्रवृत्ति, कर्मचारीले मालिक भएको दम्भ, टेबुलमा फाइलसंगै नमस्तेको किश्ती चढाउनु पर्ने, एकले अर्कोलाई शंकाले हेर्ने स्थायी मनोविज्ञान र अयोग्यहरुको भिडवाट योग्यहरु हराउँदै जान लागेका जस्ता गहन आरोपहरु नागरिक समाजवाट लाग्ने गर्छन् । जिम्मवार व्यक्तिले गर्नु पर्ने निर्णयहरु नगरेर पन्छिने प्रवृत्ति हावी भएको छ ।

गत वर्ष स्थायी सरकारका प्रमुख बहालवाला मुख्य सचिव र यस वर्ष पूर्व प्रधानमन्त्री नै भ्रष्टाचारको मुद्दामा आरोपित हुनु नेपालको इतिहासमा पहिलो घटना भएको छ । केही सचिवहरुले जेल जीवन विताई रहेका छन् । दर्जनाँै सचिवहरुले मुद्दा खेपीरहेको अवस्था छ । सचिव तथा मुख्य सचिवमाथि लागेका आरोप अदालतवाट प्रमाणित भएको अवस्थामा कर्मचारीले गलत काम गर्नु अघि केही हदसम्म भए पनि डर पैदा हुने र प्रमाणित नभएको अवस्थामा कर्मचारीतन्त्रमा विनाकारण फसिने भन्दै निर्णय नगर्ने परिपाटी झन बढ्न सक्ने खतरा देखिने भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

भानुभक्तको समयको समाजमा शासकहरुको सेवकको रुपमा रहेको कर्मचारीतन्त्रको योग्यता भनेको स्वामी प्रतिको वफादारी मात्र हुन्थ्यो । उच्च पदहरु भारदारका खलकलाई दिने र तल्ला पदहरु चाकरीका आधारमा भर्ना हुन्थे । अर्थात् योग्यतामा आधारित कर्मचारीत्रन्त्र थिएन । सरकारी सेवा असक्षम र सुस्तहरुको आश्रयस्थल हुनै नसक्ने र समाजका सबैभन्दा उम्दाहरुले मात्र राज्यको सेवा गर्ने मुख्य उदेश्यवाट सञ्चालित योग्यता प्रणालीबाट छनौट भएका उच्च पदस्थ कर्मचारीहरुले अहिले मुद्दा खेपिरहेका छन् । व्यक्तिगत स्वार्थमा बल्झिएर राजनैतिक नेतृत्वको चर्को दवावमा परिरहेका छन् । राजनैतिक नेतृत्व मन्त्रिपरिषद्का मनमौजी निर्णयलाई नीतिगत निर्णयको खोल ओढेर पानी माथिको ओभानो बन्दै उम्केको अवस्थामा अहिले भने मन्त्रिपरिषद्को निर्णय पनि अनुसन्धानको दायरामा आएको छ ।

बहुचर्चित संघीय निजामती सेवा विधेकमा दुई वर्षे कुलिङ अफ पिरियडको प्रवधानको सम्वन्धमा उच्च पदस्थ कर्मचारीको प्रत्यक्ष स्वार्थ देखिएको छ । निजामती कर्मचारी सरकारी सेवाबाट अवकाश लिएपछि वा पद छाडेपछि केही समयसम्म राजनैतिक वा संवैधानिक पदमा नियुक्ति हुन नपाउने व्यवस्था कुलिङ अफ पिरियड हो । नेपालको प्रतिनिधि सभाअन्तर्गत ‘राज्य व्यवस्था तथा सुशासन समिति’ बाट सर्वसम्मत पारित दुई वर्षे कुलिङ अफ पिरियड प्रतिनिधि सभामा हटाएर पारित गरी राष्ट्रिय सभामा पठाइ सकेपछि संसद्मा हङ्गामा मच्चिएको छ र संसदिय छानविन समितिले छानविन सुरु गरेको छ । सभापति आलोचित भएका छन भने कर्मचारीमाथि शंकाको सुई सोझिएको छ । राजनैतिक शक्ति केन्द्रलाई मियो बनाएर वरिपरि परिक्रमा लगाउँदै लाभको पद हत्याउनु मुख्य ध्येय देखिन्छ । सरकारी सेवाका कर्मचारीहरु पवनपुत्र हनुमान बन्नु पर्नेमा लुरे बाँदर बनिरहेको आरोप लाग्ने गरेको छ । भानुभक्तलाई डिठ्ठा विचारीले भोलिभोलि भनी घुमाएझै सबै सरकारी सेवामा सेवाग्राहीलाई फनफनी घमाउने क्रम यथावत छ । देवीभक्तबाट रामभक्त हँुदै नेपाली भाषाको भक्त साहित्य फाँटमा आदिकवि भानुभक्त बनेर उदाँएका राष्ट्रिय विभुतीले हामीलाई लगाएको गुनको सदैव हामी सदैव ऋणी छौँ । उनीप्रति श्रद्धापूर्वक स्मरण र कृतज्ञताको साथै उच्च सम्मान !!!