पदमा सीमित राजनीति र घट्दो जनविश्वास

मेचीकाली संवाददाता

२७ फाल्गुन २०८२, बुधबार
122 shares

शिव बेल्बासे

कपिलवस्तु जिल्ला तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रले बनेको राजनीतिक रूपमा महत्वपूर्ण जिल्ला हो । ऐतिहासिक, सांस्कृतिक र राजनीतिक दृष्टिले पनि यसको विशेष स्थान छ । यहाँ विभिन्न राजनीतिक दलहरूले लामो समयदेखि जनप्रतिनिधित्व गर्दै आएका छन् । विशेषतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) (नेकपा एमाले) ले जिल्लामा संगठन विस्तार र जनाधार निर्माण गरेको दाबी गर्दै आएको छ । तर पछिल्ला वर्षहरूमा जिल्लाको राजनीतिक गतिविधि, नेतृत्वको कार्यशैली र जनतासँगको सम्बन्धलाई हेर्दा केही गम्भीर प्रश्नहरू उठ्न थालेका छन् ।

राजनीति केवल पद प्राप्त गर्ने माध्यम मात्र होइन, यो जनताप्रतिको उत्तरदायित्व र सेवा गर्ने दायित्व पनि हो । तर कपिलवस्तुमा देखिएको राजनीतिक व्यवहार हेर्दा धेरैजसो अवस्थामा राजनीति पदमा सीमित भएको जस्तो अनुभूति हुन थालेको छ । झविन्द्र पोख्रेलदेखि बलराम अधिकारीसम्मका नेताहरूले विभिन्न समयमा नेतृत्वको भूमिका निर्वाह गरे पनि जनताले अपेक्षा गरेको स्तरको सक्रियता, दूरदृष्टि र परिणाममुखी कार्यशैली पर्याप्त देखिएको छैन भन्ने गुनासो स्थानीय तहमा सुनिन्छ । नेताहरु गुटको वफादार बन्दा त्यसको मार सबैतिर पर्छ भन्ने अहिले एमाले कांग्रेसमा देखिएको छ ।

विशेषगरी स्थानीय तहमा जनताले प्रत्यक्ष अनुभव गर्ने विकास, सेवा प्रवाह र समस्या समाधानमा नेतृत्वको भूमिका निर्णायक हुन्छ । तर व्यवहारमा धेरैजसो अवस्थामा नेताहरू चुनावको समयमा मात्र सक्रिय हुने र त्यसपछि राजनीतिक गतिविधि औपचारिक कार्यक्रम, भाषण र पदको हैसियतमा सीमित हुने प्रवृत्ति देखिन्छ । यसले जनतामा निराशा र अविश्वास बढाउने काम गरेको छ ।
यही सन्दर्भमा बुद्धभूमि नगरपालिका वडा नम्बर ९ मा देवी बेल्बासेले पार्टी र जनताप्रति देखाएको भूमिकाबारे पनि स्थानीय स्तरमा बहस हुने गरेको छ । स्थानीय तहको नेतृत्वले जनताको दैनिकीसँग जोडिएका समस्या–पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण, युवाका लागि रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधार–जस्ता विषयमा ठोस पहल लिनुपर्ने अपेक्षा हुन्छ । तर यदि नेतृत्व केवल औपचारिक कार्यक्रममा सीमित हुन्छ भने त्यसले राजनीतिक नेतृत्वको विश्वसनीयतामाथि प्रश्न उठाउँछ । फेरि पनि पहिले जस्तै जनताको दैनिकीसंग समन्वय हुनेगरी पार्टी संगठनका गतिविधिलाई अगाडि बढाउन जरुरी छ ।

समसामयिक राजनीतिक परिदृश्यले पनि नेतृत्वलाई थप जिम्मेवार बन्न बाध्य बनाएको छ । अहिले देशभर वैकल्पिक राजनीतिक शक्तिहरूको उदय, सामाजिक सञ्जालमार्फत बढ्दो जनचेतना र सुशासनको मागले पुराना दलहरूलाई नयाँ ढङ्गले काम गर्न चुनौती दिइरहेको छ । हुन त दलहरु पुराना भन्ने हुँदैनन् । विश्वका कैयन ठूला ठूला मुलुकमा पनि दशकौं पहिले गठन भएका अझ भनौं सय वर्षभन्दा पहिले गठन भएका दलहरुले नै त्यहाँको सत्ता सम्हालेका छन् । बरु ती मुलुकहरुमा अस्थिरता छैन ।

यस्तो अवस्थामा परम्परागत पदमुखी राजनीति जारी रह्यो भने जनविश्वास झनै कमजोर हुने जोखिम बढ्छ । नेपालमा अब राजनीतिक स्थायित्वको खाँचो छ । त्यहीँ स्थायीत्व कायम होस् भनेर पनि जनताले दलका आश्था त्यागेर अन्तै मत हालेका हुन् भन्ने टिप्पणी भइरहेको छ । यो सत्य पनि हो ।
राजनीतिक विश्लेषणका दृष्टिले हेर्दा अवसरवाद, गुटबन्दी र पदकेन्द्रित प्रतिस्पर्धाले पार्टी संगठनलाई कमजोर बनाउने सम्भावना रहन्छ । कपिलवस्तुका केही स्थानीय तहमा संगठनात्मक गतिविधि सुस्त देखिनु र कार्यकर्तामा उत्साह कम हुनु पनि यही प्रवृत्तिसँग जोडिएको देखिन्छ । यसैले अब पार्टी संगठनलाई सुदृढ बनाउने स्पष्ट रणनीति आवश्यक छ । तल बुँदागत रुपमा संक्षेपमा उल्लेख गरिएको छ ।

संगठनलाई जनतासँग प्रत्यक्ष जोड्ने अभियान
संगठनलाई जनतासँग प्रत्यक्ष जोड्ने अभियान सञ्चालन गर्नुपर्छ । वडा र टोल तहसम्म नियमित जनभेटघाट, समस्या सुन्ने र समाधान खोज्ने अभ्यासलाई संस्थागत बनाउनुपर्छ ।

कार्यकर्ताको राजनीतिक तथा वैचारिक प्रशिक्षण
कार्यकर्ताको राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई प्राथमिकता दिनुपर्छ, जसले संगठनलाई पदभन्दा विचार र नीति केन्द्रित बनाउन मद्दत गर्छ ।

युवा र नयाँ पुस्तालाई नेतृत्वमा अवसर
युवा र नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने आवश्यकता बढ्दो छ । उनीहरूको ऊर्जा, प्रविधि प्रयोग र नयाँ सोचले संगठनलाई गतिशील बनाउन सक्छ ।
त्यसैगरी सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई पार्टी संस्कृतिको रूपमा विकास गर्नुपर्छ । जनप्रतिनिधि र नेताहरूले गरेका कामको नियमित सार्वजनिक समीक्षा र मूल्यांकन गर्ने अभ्यासले विश्वास बढाउन सक्छ ।

कृषिमा आकर्षण, कृषि उपज आधारित उद्यम
मुलुकको समृद्धिको बलियो र प्रभावकारी आधर कृषि हो । कृषिमा संलग्नहरुमा हौसलासहितको जीविकोपार्जनलाई सहज बनाउन सकियो भने नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्न सकिन्छ । यसले कृषिमा उत्पादन बढाउन सकिन्छ र आयात कम हुन सक्छ । साथै, स्थानीय विकासका ठोस एजेन्डाका रुपमा कृषिमा आधुनिकीकरण, सहज बजारिकरण, समयमै मल, बीउ, सिंचाई, नयाँ पुस्ताको आकर्षण, रोजगारी सिर्जना, पर्यटन विकास, शिक्षा र स्वास्थ्य सेवाको सुधारलाई संगठनात्मक अभियानसँग जोड्न सके पार्टीप्रतिको भरोसा पनि बलियो बन्न सक्छ ।

सबैभन्दा ठूलो शक्ति जनताको विश्वास
लोकतान्त्रिक व्यवस्थामा सबैभन्दा ठूलो शक्ति जनताको विश्वास नै हो । पद अस्थायी हुन्छ, तर जनविश्वास दीर्घकालीन आधार हो । यदि नेतृत्वले यो यथार्थलाई बुझेर संगठनलाई जनतामुखी, उत्तरदायी र सक्रिय बनाउन सकेन भने कपिलवस्तुमा राजनीतिक आधार क्रमशः कमजोर हुँदै जाने जोखिम रहन्छ । पदको राजनीति होइन, जनताको भरोसा जित्ने नै अबको समय हो । अब अझ सुदृढ भएर संगठनात्मक राजनीतिलाई प्राथमिकता दिन जरुरी छ ।

च्नावमा मात्रै सक्रिय हुने होइन
कपिलवस्तु जिल्लामा राजनीतिक रूपमा महत्त्वपूर्ण उपस्थिति रहेको नेकपा एमालेको संगठन पछिल्ला वर्षहरूमा नेतृत्वको कार्यशैली, पदमुखी राजनीति र जनतासँग कमजोर बन्दै गएको सम्बन्धका कारण प्रश्नको घेरामा पर्न थालेको देखिन्छ । स्थानीय तहदेखि जिल्लास्तरसम्म धेरै नेताहरू चुनावी समयमा मात्र सक्रिय हुने र त्यसपछि औपचारिक कार्यक्रम तथा पदको हैसियतमा सीमित हुने प्रवृत्तिले जनतामा निराशा र अविश्वास बढाएको छ ।

समसामयिक राजनीतिक परिवेशमा वैकल्पिक शक्तिको उदय, सामाजिक सञ्जालमार्फत बढ्दो जनचेतना र सुशासनको मागले परम्परागत राजनीति चुनौतीमा परेको छ । यस्तो अवस्थामा संगठनलाई बलियो बनाउन जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार, कार्यकर्ताको वैचारिक प्रशिक्षण, युवा नेतृत्वको विकास, पारदर्शिता र उत्तरदायित्वमा आधारित कार्यशैली तथा स्थानीय विकासका ठोस एजेन्डालाई प्राथमिकता दिन आवश्यक देखिन्छ । अन्ततः लोकतान्त्रिक व्यवस्थामा पदभन्दा ठूलो शक्ति जनविश्वास भएकाले पार्टीले पदमुखी राजनीतिभन्दा जनताको भरोसा जित्ने जनमुखी संगठन निर्माणतर्फ ध्यान दिनु अपरिहार्य छ ।