दर्शनः जसले जीवनलाई प्रभाव पार्दछ

मेचीकाली संवाददाता

२८ फाल्गुन २०८२, बिहीबार
74 shares

घनश्याम कोइराला

दर्शन भनेको हेर्नु, देख्नु हो भनिन्छ । दर्शनको प्रकृति हेर्दा देखिने तथ्य के हो भने जे छ, त्यसको पछिल्तिर देख्नु हो । देखिने त सबैले देखिएकै हुन्छ, लुकेको त्यो तथ्य जो विशेष रूपमा प्रयत्नपूर्वक देखिन्छ, त्यो दर्शन हो । जस्तै, मानिस त सबैले देखिएको छ । गरिब, धनी, छुत, अछुत आदि सबै देखिएको छ तर दर्शनले धनी हुनु, गरिब हुनु, छुत हुन, अछुत हुनुका कारणहरू देख्दछ र व्याख्या गर्दछ । यसरी हेर्दा आँखाले प्रत्यक्ष नदेखिने पक्ष हेर्ने विद्या, ज्ञान दर्शन हो । यसलाई विद्वान्हरूले विभिन्न रूपले व्याख्या गर्नुभएको छ । दर्शनको परिरभाषाबारे सबै विद्वान्हरूबिच मतैक्य छैन । यसको कारण पनि दर्शन नै हो ।

यहाँ समग्र दर्शनको चर्चा वा व्याख्या नभई पूर्वीय दर्शन, जसलाई हिन्दु, सनातन, वैदिक दर्शनको सेरोफेरोबारे संक्षिप्त विमर्श गरिने छ । ज्ञातव्य छ, दर्शन भनेको पूर्वीय मात्र छैन । दर्शन वैदिक मात्र पनि होइन । यी विषयमा अन्यत्र—अन्य समयमा चर्चा गरिने छ ।
वेदको रचना कहिले भयो ? वेदको रचयिता को हुन् भन्ने विषयमा पनि विभिन्न मतहरू छन् । तर, वेदलाई पुस्तकाकारमा आएको मिति हेर्ने हो भने छापाखानाको विकास भएपछि मात्र भएको हो भनेर बुझ्न सकिन्छ । इतिहासका अध्येताहरूले वेदको रचनाकाल ईसापूर्व १५०० वर्ष पहिले अर्थात् आजभन्दा चार हजार वर्ष पहिला भएको बताउने गरेका छन् । धेरैले यो कुरा नपत्याउनेहरू पनि छन् ।

वेद एकजनाले लेखेनन् । वेद एकै ठाउँमा बसेर पनि लेखिएन । यसको रचना पनि एकै समयमा भएन । वेदका मन्त्रहरूलाई ऋचा भनिन्छ । वेदभित्र हेर्दा वेदका मन्त्रद्रष्टा ऋषिहरू धेरै रहेको पाइन्छ । त्यस्ता मन्त्रहरूका मन्त्रद्रष्टाहरू नै ती मन्त्रका रचयिता भएको स्पष्ट हुन्छ । त्यस्ता ऋषिहरू भिन्नभिन्न ठाउँमा रहँदा आफ्ना खोज—अनुसन्धान र अनुभव गरिएको भन्ने बुझिन्छ । सम्भवतः ईसापूर्व १५०० वर्षअघि यिनीहरूको सङ्कलन भएको हुनुपर्छ । तर यसलाई नै वेदको रचनाकाल वा वेदको उमेर भन्न मिल्दैन कि ? यस्तो प्रश्न पनि उठ्ने गरेको छ र उठ्नु स्वाभाविक पनि हो ।
कतिपयले वेदका रचयिता वेदव्यास भएको भन्दछन् भने अर्कोतिर धेरैले वेद अपौरुषेय अर्थात् कुनै व्यक्तिविशेषको रचना नभएको बताउने गरिन्छ । कतिपयले अपौरुषेय भन्नुको तात्पर्य यसको रचना सामान्य मानिसले गरेको नभई ईश्वरले गरेको भन्ने हो । कतिपय विद्वान्हरू (स्वामी विवेकानन्दलगायत)ले वेदव्यास भन्ने व्यक्ति कुनै एकजना मात्र व्यक्ति नभई यस्तो काम गर्ने विद्वान्हरूको समूह हुनसक्ने तर्क गर्दछन् । जसले, जहिले, जसरी गरेको भए पनि वेदलाई ग्रन्थका रूपमा सङ्कलन गर्नु चानचुने काम भने होइन ।

वेदको सङ्ख्या चारवटा छ । ती हुन्— ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद हो । व्यासको रचना वा सङ्कलन वेद मात्र होइन; अठार पुराण, महाभारत र श्रीमद्भगवद्गीता पनि हो । व्यासलाई वादरायण पनि भनिन्छ । वादरायण ब्रह्मसूत्र (वेदान्त दर्शन)का लेखक मानिन्छन् ।
वेदका मन्त्रहरू पढ्दा ईश्वरबारे गरिएको अनुमान छन्, यस विषयमा जिज्ञासाहरू छन् । ईश्वरका विषयमा गरिएका अनुभवहरू छन् । प्रत्यक्ष नदेखिने विषयमा गरिएका अनुमान भएको हुनाले यसमा दार्शनिक भाव देखिन्छ, तर अधिकांश मन्त्रहरूमा ईश्वर(देव) स्तुति, गुणहरूको बयान पाइन्छ । कुन देवता भन्ने विषयमा अलमल नै देखिन्छ । जस्तो कि ऋग्वेदको एउटा ऋचामा उल्लेख छ, ‘कस्मै देवाय हविषा विधेम अर्थात् कुन देवताका लागि हवि(हवन सामग्री) तयार पारौँ ?’ यसबाट देव(ता) एउटा मात्र नभएको सङ्केत मिल्छ । यसरी वेदको प्रारम्भिक अध्ययनले बहुदेव(बहुईश्वरीय) अवस्था देखाउँछ ।

वेदको अध्ययन गर्दा ईश्वरको विषयमा धेरै चिन्तन भएको, खोजी गरिएको बुझिन्छ । ईश्वरको खोजीको मुख्य कारण सृष्टिकर्ताबारे जान्ने जिज्ञासा रहेको बुझिन्छ । ईश्वरबारेको निष्कर्षमा मतैक्यता देखिँदैन ।
ऋग्वेदमा भनिएको छ, ‘एकं सद्विप्रा बहुधा वदन्ति’ अर्थात् एउटै सत्यलाई विद्वान्हरूले फरक फरक ढङ्गले भनेका छन् ।’ विद्वान्हरूले भनेका ती अन्य के के हुन् त ? सोही मन्त्रको अर्को अंशमा भनिएको छ, ‘अग्निं यमं मातरिश्वानमाहुः’ अर्थात् ‘अग्नि, यम र मातरिश्वा जस्ता नामले सम्बोधन गरिन्छ । यसले ईश्वर वा सर्वोच्च शक्ति एकै भए पनि, विभिन्न रूप र गुणका आधारमा विभिन्न नामले पुकारिने गरेको पाइन्छ ।

विश्लेषण गर्दा सृष्टितत्व र ईश्वरीय विषय एउटै भएको निष्कर्षमा पुग्ने आधारहरू पनि छन् । यहाँ ईश्वर वा सर्वोच्च शक्तिका रूपमा प्रकाश र उर्जाको स्रोत अग्निलाई मानिएको छ । अग्नि यज्ञका देवता हुन् । अग्नि सृटिको तेज तत्व हो । यम अर्का उच्च शक्ति हुन् । यिनलाई न्याय, धर्म र मृत्युका देवता मानिन्छ । सृष्टिको सन्तुलनका दृष्टिले यो शक्तिको महत्व छ । मातरिश्वा भनेका अन्तरिक्ष वा आकाशको देवता हुन् । यिनी सृष्टिका वायु वा प्राण तत्व हुन् । यसमा पृथिवी र जलतत्व समेत हुँदा सृष्टि पूर्ण हुन्छ । त्यसैले सबैको एकत्व नै सृष्टि भएको हुनाले एउटै तत्वका रूपमा ‘एकं सद्’ भनिएको बुझिन्छ ।

वेदबारे बुझ्दा संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् भनेर बुझ्नुपर्दछ । यी वेदका अङ्ग हुन् । संहिता भनेको मन्त्र हो, मन्त्र भनेको परामर्श हो । ब्राह्मण भनेको यज्ञको विधिविधान हो । यज्ञ भनेको सामूहिक उत्पादन कार्य पनि हो । अरण्य भनेको वन हो । आरण्यक भनेको वनसँग सम्बन्धित हो भन्ने बुझिन्छ । यसको तात्पर्य वनमा बस्ने अर्थात् तपस्वीहरूले पालन गर्नुपर्ने नीतिनियम हो । उपनिषद् भनेको वेदको अन्तिम भाग हो । यसमा आत्मा, परमात्मा, स्वर्ग, मोक्ष आदि सम्बन्धमा चर्चा गरिएको हुन्छ । यसलाई वेदान्त पनि भनिन्छ । उपनिषद्का अनुसार मोक्ष, स्वर्ग, पुनर्जन्म आदिबारे जानकारी पाइन्छ । उपनिषद्मा ब्रह्मलाई परमतत्व मानिएको छ । परमतत्व निर्गुण, निराकार भएको निष्कर्ष छ । यद्यपि, यसमा द्वैत, अद्वैत, द्वैताद्वैत, विशिष्टाद्वैत मतहरू छन् । उपनिषद्को समीपमा बस्नु भन्ने अर्थ हुन्छ । अन्य विषयहरू जहाँ बसेर वा पढेर, गरेर जानिन्छ, तर ब्रह्म, मोक्ष, पुनर्जन्म आदि विषय चिन्तनका विषय भएकोले एक्लै बसेर बुझिँदैन, गुरुको समीपमा बसेर सिक्नुपर्छ । उपनिषद् व्याख्यामा नभई सूत्रमा रहेको हुन्छ, जसलाई महावाक्य भनिन्छ । केही उदाहरण, जस्तै: अयमात्मा ब्रह्म—यो आत्मा नै ब्रह्म हो, तत्वमसि—त्यो तिमी नै हौ, प्रज्ञानं ब्रह्म—दिव्य ज्ञान नै ब्रह्म हो, ब्रह्मो जीवैव नापरः—जीव नै ब्रह्म हो अरु कोही होइन आदि सूत्रवाक्यहरू छन्, जसको अर्थ लगाउन विज्ञ गुरुको सान्निध्य आवश्यक पर्दछ भन्ने आसय हो ।
ब्रह्म÷परमतत्व बारेमा ‘नेति, नेति’ अर्थात् यही नै अन्तिम हो भन्न सकिँदैन भनिएको छ । खासमा वेदको सबै दार्शनिक मान्यता उपनिषद्हरू नै हुन् । वेदको संहिता(मन्त्र), ब्राह्मण, आरण्यकमा दार्शनिक तत्व भेटिँदैन । स्मरणीय छ, उपनिषद् वेदकै अङ्ग भएकोले वैदिक दर्शन भन्न मिल्छ ।

पूर्वीय दर्शनका दुई धारा चर्चित छन्ः नास्तिक र आस्तिक । आमरूपमा भन्नुपर्दा ईश्वर मान्ने आस्तिक र ईश्वर नमान्ने नास्तिक हो । तर, दार्शनिक हिसाबले भन्नुपर्दा परलोक मान्ने, वेद मान्ने, वेदमा आस्था राख्ने वेदलाई प्रमाण मान्ने आस्तिक धारा हो भने अन्य नास्तिक । मनुस्मृतिमा लेखिएको छ, ‘नास्तिको वेदनिन्दक’ अर्थात् वेदको निन्दा गर्ने नास्तिक हो ।
पूर्वीय दर्शनमा तीन नास्तिक दर्शन छन्— चारवाक्, जैन र बौद्ध । चारवाक् दर्शनका प्रणेता वृहस्पति मानिन्छन् । यस दर्शनको पुस्तक उपलब्ध छैन । केही मान्यताहरू, जसमा विरोधीहरूका आलोचना पढ्न पाइएको छ । जैन दर्शनका महावीर हुन् । यसको विकास र निरन्तरतामा २४ जना तीर्थंकरहरूको भूमिका रहेको छ । जैनहरू श्वेताम्बर(सेतो लुगा लगाउने) र दिगम्बर(लुगा नै नलगाउने) छन् । यो विषय सबै जैन अनुयायीहरूका हकमा लागू हुँदैन, मुनिहरूमा मात्र लागू हुन्छ । बौद्ध दर्शनका प्रणेता गौतम बुद्ध हुन् । बौद्ध दर्शन हीनयान र महायान गरी मूलतः दुई भागमा बाँडिएको छ । तर, पछिल्लो समय भारतमा नवयान थपिएको छ । यसका प्रवर्तक डा.भीमराव अम्बेडकर हुन् । नेपालमा भने वज्रयानलाई तेस्रो यानको रूपमा मानिएको देखिन्छ । यी तीनैवटा दर्शन वेदलाई अन्तिम प्रमाणका रूपमा स्वीकार गर्दैनन् ।

आस्तिक दर्शनका रूपमा सांख्यदर्शन, योगदर्शन, न्यायदर्शन, वैशेषिक दर्शन, मीमांसा दर्शन, वेदान्त दर्शन । यिनैको समष्टिलाई षट्दर्शन भनिन्छ । यी सबै पूर्वीय दर्शन हुन् । आस्तिक दर्शनको श्रेणीमा रहेका यी सबैले स्वर्ग, नर्क, पुनर्जन्मबारे व्याख्या गर्दैनन् तर वेदलाई प्रमाण मान्दछन् ।
हामीले वेदलाई श्रुति भनेर सुन्दै र बुझ्दै आएका छौँ । श्रुति भनेको सुन्ने या सुनेर अघि बढाउने वा सार्ने भनिएको हो । यसलाई सहज रूपमा ग्रहण गर्न सूत्रका रूपमा प्रयोग गरिएको पाइन्छ । जस्तै—महर्षि कपिलको साङ्ख्यसूत्र, महिर्ष पतञ्जलीको.योगसूत्र, अक्षपाद गौतमको न्यायसूत्र, महर्षि कणाद्को वैशेषिकसूत्र । महर्षि जैमिनिको मीमांसासूत्र, महर्षि बादरायणको वेदान्त ।
हामी र हाम्रो चिन्तनमा यी दर्शनहरूको प्रभाव परिरहेको हुन्छ । यिनलाई बुझेर व्यवहारमा लागू गर्न सक्दा हाम्रो जीवन अहिलेको भन्दा भिन्न हुन सक्दछ । हाम्रो सोच्ने, बुझ्ने र व्यवहार गर्ने विषयमा दर्शनको अध्ययनले सकारात्मक प्रभाव पार्दछ । (लेखकः कोइराला अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)