नयाँ जनादेशको सन्देशः परिवर्तनको खोजी, स्थायित्वको चुनौती

मेचीकाली संवाददाता

२२ फाल्गुन २०८२, शुक्रबार
44 shares

अमृत गिरी

बुटवल । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनाले नेपाली राजनीतिको पुरानो समीकरणलाई एकैपटक हल्लाइदिएको संकेत दिएको छ । दशकौँदेखि राजनीतिको केन्द्रमा रहेका कांग्रेस, एमाले र माओवादीजस्ता दलहरू अप्रत्याशित रूपमा कमजोर देखिँदा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहरले चुनावी परिणामलाई नाटकीय बनाएको छ । प्रारम्भिक परिणामहरू हेर्दा मतदाताले पुराना राजनीतिक शक्तिप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै नयाँ विकल्पतर्फ झुकेको स्पष्ट देखिन्छ ।

यसले नेपाली जनताले अब केवल परम्परागत राजनीतिक नाराभन्दा परिणाममुखी शासन, सुशासन र विश्वासयोग्य नेतृत्व खोजिरहेको सन्देश दिएको छ । जनादेशलाई सम्मान गर्दै यस अनुसारका काम हुन्छन् हुँदैनन् त्यो समयले नै बताउला तर, अहिलेको यो विषम परिस्थितिको चुनावबाट प्राप्त भएको जनादेश भने अनौठो आएको छ ।

परिवर्तनतर्फ किन मोडियो जनमत ?
लामो समयको राजनीतिक निराशा, सत्ताकेन्द्रित राजनीति, दलहरुमा निम्त्याइने आन्तरिक किचलो, बेमेल, अनेक प्रकारका उल्झनले जनताको मनलाई दिक्क बनाइदियो । विसं. २०७२ असोज ३ गते संविधान जारी भए पछि बनेका सरकारहरूले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको अपेक्षा जगाए पनि ती अपेक्षा पूर्ण रूपमा पूरा हुन सकेनन् । बारम्बार सरकार परिवर्तन, दलगत स्वार्थ, सत्ता केन्द्रित राजनीति र नीति कार्यान्वयनमा कमजोरीका कारण जनतामा निराशा बढ्दै गयो ।
यसको खास कारण खोज्नेतिर भन्दा पनि सामाजिक सञ्जालमा आउने दुई लाइनका कुराले जनताको मन तान्यो । टेलिभिजन सोहरुले पनि जनताको मनमा निराशा र संगसंगै आक्रोस उत्पन्न गराइदियो । सामाजिक सञ्जालहरुको विस्तारसंगै फैलिएका अनेक प्रकारका तथ्यहीन सामाग्रीले पनि जनतामा हो कि त भन्ने बनाइदियो ।

रोजगारीको अभाव, भ्रष्टाचारका आरोप, आरोप पुष्टि नभएपनि जनतामा त्यो नपत्याउने समस्या, सुस्त र झन्झटिला सरकारी सेवा र युवाहरूको ठूलो मात्रामा विदेश पलायनजस्ता समस्याले जनताको धैर्य क्रमशः कमजोर बनायो । चुनावमा देखिएको नयाँ जनादेश त्यही निराशाको एउटा अभिव्यक्ति मानिन्छ ।

भित्रभित्रै सबैतिर हुर्केको पुस्तान्तरणको चाहना
यसपटकको चुनावमा मतदाताले दोहोरिएर, तेहोरिएर उम्मेदवार बनेका पुराना अनुहारलाई अस्वीकार गर्ने प्रवृत्ति देखिएको छ । लामो राजनीतिक अनुभव भएका नेताहरूले विकासका काम गरे पनि मतदाताले नयाँ पुस्तालाई अवसर दिन चाहेको देखियो ।
अझ भनौं राजनीतिक इमान भएका, अवसर पाउँदा काम गरेर देखाएका, सुशासन र पारदर्शिता अपनाएका भएपनि उहीँ अनुहारलाई जनताले यसपटक स्वीकार गरेको देखिएन । यसको असर र प्रभाव के हुने हो, कहाँ सम्म पुग्ने हो त्यो पनि समयले नै बताउला तर, अहिले जनताले जेसुकै, जस्तोसुकै होस् फ्रेस अनुहारको खोजी गरेको पाइयो ।

युवा नेतृत्व, फरक शैली र परम्परागत राजनीतिक संस्कृतिबाट अलग देखिएको छवि भएका उम्मेदवारहरूले यसपटक उल्लेखनीय समर्थन पाएका छन् । भलै उनीहरुका जस्तासुकै कमीकमजोरी किन नहोउन् । यो संकेत केवल दल परिवर्तनको होइन, राजनीतिक पुस्तान्तरणको पनि हो ।

चुनावकै बेलुका टेलिभिजन सोहरुमा आएका विश्लेषकहरुले यो सुनामीको चर्चा गरे, त्यसअघि चुनाबको मिति भन्दा पहिल्यै पनि कैयौं मिडियाले यो नतिजा आउँछ भनेर लेखे । कसरी लेखे, कति जनालाई सोधेर लेखे, कुन स्रोतको प्रयोग गरेर लेखे त्यो उनीहरुलाई थाहा होला । तर, चुनाव अगावै यसप्रकारको नतिजा आउँछ भनेर लेख्नुका कारण के होलान् जिज्ञासा जन्माएको छ ।

जनजीवनसँग प्रत्यक्ष जोडिएको विकासको माग
पछिल्ला वर्षहरूमा सडक, पुल, भवनजस्ता भौतिक पूर्वाधार निर्माण उल्लेखनीय भए पनि नागरिकले आफ्नो दैनिक जीवनमा सहजता, रोजगारी, स्वास्थ्य सेवा, शिक्षा र सरकारी सेवाको गुणस्तरमा ठोस सुधार खोजिरहेका छन् । मतदाताले अब विकासलाई केवल संरचनात्मक निर्माणका रूपमा होइन, जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिएको परिणामका रूपमा हेर्न थालेका छन् ।

विकासका लागि चाहिने राज्यको साधन, स्रोत, राष्ट्रिय पुँजी के छ, कति छ, कस्तो छ स्रोत त्यो मतलब भएन । बस, काम हुनुप¥यो, विदेशमा जस्तै चिल्ला सडक हुनैप¥यो, शिक्षा, स्वास्थ्य निशुल्क हुनुप¥यो भन्ने जनताको चाहना छ । अर्को कुरा राजस्व तिर्न पनि लाइन लाउनुपर्ने, सामान्य परिचयपत्र बनाउन पनि झन्झट खेप्नुपर्ने जस्ता सेवा प्रवाहबाट आजित हुनुपर्ने अवस्थाको अन्त्य होस् भन्ने युवा पुस्ताको चाहना प्रकट भएको पाइयो ।

डिजिटल युग र प्रवासी प्रभाव
सामाजिक सञ्जालको विस्तार र विदेशमा रहेका नेपालीहरूको प्रभावले पनि चुनावी व्यवहारमा परिवर्तन ल्याएको देखिन्छ । विदेशमा रहेका सन्तानको सुझाव, अन्तर्राष्ट्रिय अनुभव र नयाँ राजनीतिक विमर्शले परिवारभित्रै मतदाताको सोच परिवर्तन गरेको विश्लेषकहरू बताउँछन् ।

नयाँ शक्तिको उदयः अवसर र परीक्षा
प्रारम्भिक परिणामअनुसार रास्वपा सबैभन्दा ठूलो दल बन्ने संकेत देखिएसँगै अब उसले सरकारको नेतृत्व गर्ने सम्भावना बलियो भएको छ । तर ठूलो जनादेशसँगै जिम्मेवारी पनि उत्तिकै ठूलो हुन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ शक्ति सरकारमा पुगेपछि जनअपेक्षाको परीक्षा सुरु हुन्छ । चुनावी नाराभन्दा शासन सञ्चालन, नीति निर्माण, प्रशासनिक सुधार र आर्थिक व्यवस्थापनमा परिणाम देखाउनु अब अनिवार्य चुनौती हुनेछ ।
पुराना दलहरूको भूमिका अझै महत्वपूर्ण
मतदाताले आकार घटाए पनि कांग्रेस, एमाले र नेकपाजस्ता दलहरूको राजनीतिक अनुभव र संगठनात्मक संरचना अझै बलियो छ । संसदमा उनीहरूको उपस्थिति लोकतान्त्रिक सन्तुलनका लागि महत्वपूर्ण रहनेछ । लोकतन्त्रमा बलियो प्रतिपक्षले सरकारलाई उत्तरदायी बनाउने भएकाले पुराना दलहरूले आत्मसमीक्षा गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सके लोकतान्त्रिक प्रक्रिया थप परिपक्व बन्न सक्छ ।

स्थायित्वतर्फको बाटो
नयाँ जनादेशले परिवर्तनको चाहना प्रकट गरे पनि मुलुकलाई स्थायित्व र दीर्घकालीन विकासतर्फ लैजान सबै राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक हुनेछ । विशेषगरी संविधानको कार्यान्वयन, सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, आर्थिक सुधार, संघीय संरचनाको प्रभावकारी सञ्चालन जस्ता विषयमा राष्ट्रिय सहमति निर्माण गर्न सकिए मात्र जनताको विश्वास कायम रहन सक्छ ।

आशा फेरि निराशामा बदलिन समय लाग्दैन
यसपटकको चुनावी परिणामले नेपाली राजनीतिमा ठूलो सन्देश दिएको छ–जनता परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तनले स्थायित्व र समृद्धि दिनुपर्छ । जनादेशको सम्मान गर्दै नयाँ नेतृत्वले संयमता, पारदर्शिता र उत्तरदायित्वका साथ शासन सञ्चालन गर्न सके देशले नयाँ अध्याय सुरु गर्न सक्छ । अन्यथा, जनताको आशा फेरि निराशामा बदलिन समय लाग्दैन । त्यसैले अहिलेको घडी नेपाली लोकतन्त्रका लागि केवल सत्ता परिवर्तनको क्षण होइन, राजनीतिक संस्कृतिको रूपान्तरण गर्ने अवसर पनि हो ।