बुटवल । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन मन्त्रीहरूलाई समेत प्रतिवादी बनाएर ८ अर्ब ३६ करोड ७३ लाख बिगो दाबी गर्दै मुद्दा पेश भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
मुद्दा रुजुको प्रक्रियामा रहेकाले दर्ता भने भइसकेको छैन । मुद्दा दर्ता हुने प्रक्रियामा रहेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । मुद्दामा तत्कालीन मन्त्रीहरू डा.रामशरण महत, स्व.पोष्टबहादुर बोगटी (उनको हकमा श्रीमती राममाया बोगटी), रामकुमार श्रेष्ठ, दीपक अमात्य, भीम आचार्यलगायलाई विपक्षी बनाइएको छ । यसैगरी, तत्कालीन सचिवहरू सुमनप्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा र सुरेश आचार्यलाई पनि प्रतिवादी बनाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र क्यानका पदाधिकारीहरू समेत गरी कुल ५५ व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाइएको सूचना अधिकारी रेग्मीले बताए । विघटित प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा घोटाला भएको निष्कर्षसहित अनुसन्धान गर्न अख्तियारलाई फाइल पठाएको थियो ।
सहुलियतपूर्ण चिनियाँ ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा विमानस्थलको प्रक्रिया सुरू भएको थियो । पछि सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा गरिएको आर्थिक निर्णयका कारण तत्कालीन अर्थमन्त्री डा.रामशरण महत तानिएका हुन् । २०७९ सालको चुनावलगत्तै बनेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १७ गते विमानस्थल उद्घाटन गरेका थिए । स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर रहेकोमा अस्वभाविक रुपमा मूल्य बढाई संशोधन गरेको पाइएको छ । संशोधन गरेर २४ करोड ४० लाख ४० हजार ४५० रुपैयाँ अमेरिकी डलर कायम गरिएको थियो । यसरी लागत बढाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । यसरी बढाएको लागतको औचित्य पुष्टि नहुने अख्तियारको दाबी छ । अख्तियारले आफ्नो अनुसन्धानका ४० बुँदै निस्कर्ष पनि दिएको छ ।
तामझाम साथ उद्घाटन भएको ३ वर्ष पुग्नै लाग्दा समेत सञ्चालनमा आउन नसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन नै गलत भएको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले निष्कर्ष निकालेको थियो । ‘मिस्ड एप्रोच पाथ’ र धावन मार्गको लम्बाइ सीमित भएका कारण उडान/अवतरणमा तौल प्रतिबन्ध तथा बर्ड स्ट्राइकको जोखिमलगायत कयौं प्राविधिक कमजोरी औंल्याइएको छ । ‘मिस्ड एप्रोच पाथ’ को डिजाइन नै गलत रहेका कारण अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सक्नेमा समितिले आशंका व्यक्त गरेको थियो ।
मिस्ड एप्रोच पाथ भन्नाले सुरक्षित तवरबाट वायुयान निस्कन सक्ने मार्ग भन्ने जनाउँछ । यस्तो मार्गको डिजाइन अवतरण गर्नुपर्ने विमानस्थलको अवस्थितिअनुरुप उडान सुरक्षाको हिसाबले सबै भन्दा सुरक्षित र व्यवहारिक रूपमा छनौट गरिएको हुन्छ । विमानस्थलको रनवे ‘३०’ एप्रोचको आसपास क्षेत्रमा चराचुरुङ्गीको गतिविधि रहेकाले बर्ड स्ट्राइकका घटना हुन सक्ने खतरा प्रतिवेदनले औंल्याएको छ । अन्तर्राष्ट्रिय स्तरको कम्पनीबाट जडान गरिएको भएता पनि पोखराको भौगोलिक स्वरूपले ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ को उपयोगितामा प्रश्न खडा भएको प्रतिवेदनले औंल्याएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट ल्यान्डिङको सहजताका लागि जडित आइएलएस उपयोगिताको हिसाबले सीमित रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । भीएनआरपी विमानस्थलको रनवे ३० का लागि ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’को ग्लाइड पाथ करिब ३ नटिकल माइल अन्तिम आगमन खण्डसम्म विश्वसनीय नदेखिने, बारम्बार अव्यवस्थित हुने र उतारचढाव हुने प्रवृत्ति देखिएको छ, जसको सम्भावित कारण अन्तिम आगमन मार्ग अन्तर्गत रहेको उच्च भू–भागबाट हस्तक्षेप हुन सक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको थियो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश (हालका कानुनमन्त्री) अनिलकुमार सिंन्हा संयोजकत्वको समितिले तयार गरेर हालै सरकारलाई हस्तान्तरण गरेको प्रतिवेदनले गलत डिजाइन स्वीकार गरेर विमानस्थल बनाइएको निष्कर्ष निकालेको हो । प्रतिवेदनमा ‘मिस्ड एप्रोच मार्गसँग सम्बन्धित जोखिमका कारण पाइलटले अवतरण गराउन लागेको विमान तुरुन्तै बायाँ मोड लिने प्रतिक्रिया ढिलो भएमा उडान मार्ग सिधै विमानस्थलको दक्षिण पश्चिमी क्षेत्रतर्फ रहेको उच्च भू–भागतर्फ उन्मुख हुन सक्ने सम्भावना उच्च रहने र त्यसले सुरक्षा जोखिम बढाउने,’ प्रतिवेदनमा उल्लेख छ । चिनियाँ ऋण सहयोगमा बनेको विमानस्थलमा केही चार्टर फ्लाइटबाहेक ठूला जहाजबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । उच्चस्तरीय सुझाव समितिले विमानस्थल निर्माणका कयौं विषयमा प्रश्न उठाएको छ ।
