एनपिएल: लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाडौं बाहिरियो

मेचीकाली संवाददाता

२५ मंसिर २०८२, बुधबार
16 shares

बुटवल । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटको खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो । अब दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । यो खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार काठमाडौँले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रनको योगदान गरे । उनले ३४ बलमा २ छक्का प्रहार गरे । उनी तेस्रो विकेटको रूपमा १२ औं ओभरको अन्तिम बलमा काठमाडौँका रशिद खानको बलमा विकेटकिपर जोन सिमसनबाट समातिएका थिए ।
ओपनिङमा मौका पाएका दिनेश अधिकारी ४ रनमै आउट भए । उनी तेस्रो ओभरमा सनी पटेलको बलमा करण केसीबाट समातिए । कप्तान रोहितकुमार पौडेलले २५ बल खेलेर १ चौका र १ छक्काको मद्दतमा १८ रन बनाउन सके । रोहितलाई नवौं ओभरको अन्तिम बलमा शाहब आलमले बोल्ड गरेका थिए ।

सन्दीप जोरा २३ रन जोडेर आउट भए । २३ बलमा १ चौका र १ छक्का प्रहार गरेका जोरालाई १७ औं ओभरमा सन्तोष यादवले बोल्ड गरेका थिए । दिलिप नाथ ७ रनमा सन्तोष यादवकै एलबिडब्लूको धरापमा परे । अर्को ओभरमा निरोशन डिक्वेलालाई काठमाडौँका कप्तान करण केसीले १४ रनमा बोल्ड गरे । उनले १४ बलमा २ चौका प्रहार गरे । अन्त्यमा रुबेल ट्रम्पलम्यानले चौका प्रहार गरेर लुम्बिनीलाई जिताए ।

बलिङमा काठमाडौँका सन्तोष यादवले २ विकेट लिए । करण केसी, सनी पटेल, शाहब आलाम र रशिद खानले १–१ विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ खराब ब्याटिङ गर्दा १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो । काठमाडौँको सुरूवाती ब्याटिङ लाइनअप कोल्याप्स्ड पारेको लुम्बिनीले पावरप्लेभित्र चार विकेट लिएको थियो । काठमाडौँका शीर्ष चार ब्याटर दोहोरो अंक जोड्न नपाइ आउट हुँदा टोली संकटमा पारेको थियो । पिचमा बल टर्न भइरहदा ब्याटरले संघर्ष गरेका थिए ।

दोस्रो ओभरको पहिलो काठमाडौँका ओपनिङ ब्याटर आकाश त्रिपाठीलाई (१ रन) लुम्बिनीका शेर मल्लले कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । तेस्रो ओभरको पहिलो बलमा काठमाडौँले अर्को विकेट गुमायो । सनी पटेल (७ रन) लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानको एलबिडब्लूको सिकार बने । चौथो ओभरको पाँचौँ बलमा भारतीय मूलका अमेरिका ब्याटिङ अलराउन्डर मिलिन्द कुमार (२ रन) लाई शेर मल्लले बोल्ड गर्दै व्यक्तिगत दोस्रो विकेट लिए ।

पाँचौँ ओपनर बेन चाल्र्सवर्थ (४ रन) पनि पेभिलियन फर्किए । उनी विकेट पछाडि निशोसन डिक्वेलाबाट समातिँदा ट्रम्पलम्याचले दोस्रो विकेट तथा टोलीका लागि चौथो सफलता दिलाए ।
लगातार विकेट लिएको लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले दशौं ओभरमा दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भयो । रोहितले पहिलो बलमा भीम सार्कीलाई दिलिप नाथबाट क्याच गराए । सार्कीले १४ रन जोड्ने क्रममा १६ बलमा १ छक्का प्रहार गरे । उनले जोन सिमसनसँग पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गरे । पाँचौँ बलमा सिमसन पनि एलबिडब्लूको धरापमा परे । सिमसनले १७ बलमा १८ रन जोड्ने क्रममा १ चौका र १ छक्का प्रहार गर्न सफल भए । त्यतिबेला काठमान्डुले ९.५ ओभरमा ६ विकेटको क्षतिमा ५१ रन मात्र जोडेको थियो ।

दुई ओभरको बीचमा थप एक रन जोड्दा काठमाडौँले आफ्नो सातौँ विकेट गुमायो । रशिद खानलाई कप्तान रोहितले २ रनमा जेजे स्मिटबाट क्याच गराएका थिए । १४ औं औभरमा काठमाडौँका आशा गरिएका ब्याटर आदिल अन्सारी १८ रन जोडेर आउट भए । उनले ११ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए। उनलाई शेर मल्लले बोल्ड गर्दै पेभिलियन फर्काए । उनले सन्तोष यादवसँग आठौं विकेटका लागि २० रनको साझेदारी गरे ।
कप्तान करण केसी १४ बलमा ९ रन जोडेर आउट हुन पुगे । अन्तिम ओभरमा सन्तोष यादव २३ रनमा रनआउट भए । काठमाडौँका लागि सर्वाधिक रन जोडेका यादवले १७ बल खेलेर १ छक्का प्रहार गर्न सके ।

बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए । मल्लले ४ ओभरमा २२ रन दिए भने रोहितले २५ रन खर्चिए । यस्तै ट्रम्पलम्यानले २ विकेट लिए । उनले ३.१ ओभरमा १ मेडन राख्दा १० रन मात्र दिए ।
यसअघि सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरिसकेको छ । सुदूरपश्चिमले पहिलो क्वालिफायरको खेलमा विराटनगरमाथि मंगलबार जित हात पारेको थियो । फाइनल प्रतिस्पर्धा शनिबार दिउँसो साढे ३ बजे हुनेछ ।