अमृत गिरी
बुटवल। क्यान्सरको क्षेत्रमा अनुसन्धान र अध्यापन गर्दै आएका नेपाली युवा वैज्ञानिक डा.विशाल ज्ञवाली विश्वस्तरमा पहिलो नम्बरमा परेका छन् । क्यान्सर रोग विशेषज्ञ डा.ज्ञवालीले ‘ग्लोबल अन्कोलोजी’ क्षेत्रमा पहिलो स्थान हासिल गरेका हुन् । नसर्ने रोगमध्ये सबैभन्दा धेरैमा समस्या देखिएको क्यान्सर रोगका बारेमा डा.ज्ञवालीले गरेको अध्ययन उपयोगी हुने भन्दै धेरैले प्रशंसा गरेका छन् ।
उनी प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्म ‘स्कलर जीपीएस’को विश्व नम्बर एक वरीयतामा पर्न सफल भएका हुन् । अहिले नेपाल पनि नसर्ने रोगको उच्च जोखिममा रहेको छ भने घर घरमा र प्राय परिवार जसोमा यसको समस्या देखिएको छ ।
बुटवलको न्यू होराइजन स्कुलबाट एसएलसीमा नेपाल प्रथम भएका डा.ज्ञवाली अहिले क्यान्सर रोगको अनुसन्धान र अध्यापनमा सक्रिय छन् । ‘स्कलर जीपीएस’मा विश्वका हजारौँ विश्वविद्यालय, अनुसन्धान संस्था र तीन करोडभन्दा बढी विज्ञ–वैज्ञानिकहरू समेटिएका छन् । तीमध्ये ज्ञवाली पहिलो नम्बरमा परेका हुन् ।
क्यान्सर क्षेत्रमा विश्वकै प्रतिष्ठित सम्मान मानिने अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी (अस्को) को फेलो फस्को उपाधि पाउने उनी सम्भवतः पहिलो नेपाली हुन् । ‘स्कलर जीपीएस’ले एआईको सहयोगमा अनुसन्धानकर्ताहरूको शैक्षिक योगदान, प्रकाशित शोधपत्र, साइटेसन, प्रभाव र दीर्घकालीन योगदानको विश्लेषण गर्दै वरीयता निर्धारण गर्दै आएको छ ।
कम आय भएका देशहरूमा क्यान्सर उपचार महँगो र मृत्युदर उच्च रहेको यथार्थलाई ध्यानमा राख्दै डा.ज्ञवाली र उनको टोलीले लागत–प्रभावी र बिरामी–केन्द्रित उपचारमा केन्द्रित भएर अनुसन्धान गर्दै आएका छन् । उनको अनुसन्धान र योगदानबाट नेपालसहित विश्वका धेरै देशका क्यान्सर बिरामी, स्वास्थ्यकर्मी र नीतिनिर्माता लाभान्वित भइरहेको बताइन्छ ।
डा.ज्ञवाली पहिलो वरीयतामा परेका ‘ग्लोबल अन्कोलोजी’को मुख्य लक्ष्य उच्च आय भएका देश र न्यून तथा मध्यम आय भएका देशहरूबीचको क्यान्सर उपचार असमानता घटाउनु हो । यस अवधारणाले क्यान्सरको रोकथाम, प्रारम्भिक निदान, प्रभावकारी उपचार र अनुसन्धानमा समान पहुँच विस्तार गर्न जोड दिंदै आएको विज्ञहरु बताउँछन् ।
विश्वभरका विज्ञ, अनुसन्धानकर्ता र अनुसन्धान संस्थाको योगदान मूल्यांकन गर्दै वरीयता निर्धारण गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ ‘विद्वान जीपीएस’ (स्कलर जीपीएस) ले ग्लोबल ओन्कोलोजी क्षेत्रमा डा.ज्ञवालीलाई विश्वकै पहिलो वरीयता प्रदान गरेको हो । धुलो, धुवाँ र प्रदूषणका नकारात्मक सूचकमा मात्रै होइन, ज्ञान, अनुसन्धान र मानवकल्याणका क्षेत्रमा पनि नेपाल पहिलो हुन सक्छ भन्ने सन्देश डा. ज्ञवालीको यो उपलब्धिले दिएको छ ।
हाल क्यानडाको प्रतिष्ठित क्वीन्स विश्वविद्यालयमा सहप्रध्यापका अध्यापनरत डा.ज्ञवाली विश्व स्वास्थ्य संगठन, युरोप र नेपालका क्यान्सरसम्बन्धी विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छन् । उनको मुख्य विशेषज्ञता क्यान्सर, केमोथेरापी, स्तन क्यान्सर, ग्लोबल अन्कोलोजी, मिडल क्लास, मेटा एनालाइसिस, डायबिटिज, कोभिड १९, फुड एडमिनिस्ट्रेसन, क्यान्सर स्क्रिनिङ, कम्युनिटी हेल्थ, लंग क्यान्सर, नियोप्लाज्म, हाइपरटेन्सन र इन्फेक्सनमा रहेको छ । विश्वका हजारौँ संस्थासहित तीन करोडभन्दा बढी विज्ञहरूको प्रोफाइल समेटिएको यो प्लेटफर्ममा डा.ज्ञवाली पहिलो नम्बरमा पर्नु नेपालीका पनि गौरवको कुरा हो भन्दै धेरैले प्रशंसा गरेका छन् ।
क्यान्सर उपचारको खाडल घटाउने अभियान
डा.ज्ञवाली पहिलो बनेको ‘ग्लोबल ओन्कोलोजी’ क्षेत्र उच्च आय भएका देश र न्यून तथा मध्यम आय भएका देश बीच रहेको क्यान्सर उपचारको गहिरो खाडल कम गर्न केन्द्रित छ । रोकथाम, प्रारम्भिक निदान, उपचार, अनुसन्धान र तालिममा समान पहुँच विस्तार गर्नु यसको मुख्य उद्देश्य हो ।
स्रोत साधनहरु सीमित रहेका देशहरूमा क्यान्सर उपचार महँगो र मृत्युदर उच्च रहेको अवस्थामा डा.ज्ञवालीको टोली नवप्रवर्तन, सहकार्य र क्षमता अभिवृद्धि मार्फत समाधान खोज्न निरन्तर सक्रिय छ ।
‘नेपालमै पढेर पनि विश्व जित्न सकिन्छ’
डा.ज्ञवाली नेपालमै हुर्किएर, नेपालमै पढेर विश्वस्तरमा पुगेका उदाहरण हुन् । पहाडी भेग गुल्मीबाट उनको परिवार केही वर्षअघि बुटवलमा बसाई सराई गरेको थियो । उनी २०५९ सालको एसएलसीमा बुटवलको न्यू होराइजन स्कुलबाट नेपाल टप बनेका थिए । डा.विशालको यो सफलताले आफुहरुलाई औधी खुशी लागेको र आफुहरुको उत्पादनले विश्व स्तरमै चर्चा पाएकोमा गौरवान्वित भएको होराइजन स्क्ुलका प्राचार्य लोकनाथ उपाध्यायले बताए ।
काठमाडौँबाहिरको विद्यालय हुँदै ‘त्रिभुवन विश्वविद्यालयबाटै चिकित्साशास्त्र अध्ययन’ गरेका उनी नेपाली शिक्षा प्रणालीकै उत्पादन हुन् । ‘नेपालमा पढेर के हुन्छ र ?’ भन्ने प्रश्नको सशक्त उत्तर बनेका डा.ज्ञवालीले प्रतिभा र प्रविधिको कुनै सीमा हुँदैन भन्ने प्रमाणित गरेको भन्दै वरिष्ठ विश्लेषक नारायण गाउँलेले टिप्पणी गरेका छन् । विश्वले एन्टिबायोटिकदेखि पोलियो खोपसम्म हामीलाई दिएको ऋण सम्झिँदा, डा.ज्ञवालीको योगदानलाई मानवताको सानो ऋण तिर्ने प्रयासका रूपमा पनि हेर्न सकिने भन्दै विल्शेषक नारायण गाउँलेले प्रसंशा गरेका छन् ।
