बुटवल, माघ ९ (मेसस) । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार सरस्वती पूजा तथा बालबालिकालाई अक्षरारम्भ गराइएको छ । परम्परागत र आधुनिक शिक्षण पद्धतिलाई समेटेर गरिएको अक्षरारम्भ कार्यक्रममा सेतोपाटी र स्मार्टबोर्ड दुवै माध्यम प्रयोग गरिएको थियो । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रविधिमैत्री वातावरणमा संस्कारयुक्त सिकाइ र जीवनोपयोगी ज्ञान प्रदान गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको बताए । उनले प्रारम्भिक बाल शिक्षामा गुणस्तर र व्यवहारिकतामा विशेष ध्यान दिइएको उल्लेख गरे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजू, उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्यहरू ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्यहरू वसन्तकुमार जोशी, रेखा श्रेष्ठ, विद्यालय सहयोग समिति सदस्य प्रवीनमान श्रेष्ठ, विष्णुमाया श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा पाँच जना बटुकले स्वस्तिवाचन गरेका थिए भने एक जना आचार्यले सरस्वती पूजाको महिमा र महत्वबारे प्रवचन दिएका थिए । विद्यालयमा यस वर्ष १२० जना नयाँ बालबालिकालाई अक्षरारम्भ गराइएको प्राचार्य न्यौपानेले जानकारी दिए । हाल करिब २ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेको दीप बोर्डिङ हाई स्कुलले प्रत्येक वर्ष सरस्वती पूजाको अवसर पारेर नयाँ विद्यार्थी भर्ना तथा अक्षरारम्भ कार्यक्रम आयोजना गर्दै आएको छ ।
