तीन सन्तानकी २८ वर्षीया आमा उषा मिर्गौला प्रत्यारोपणको पर्खाइमा, जीवन जोगाउने लडाइँमा साथ दिन अपिल

मेचीकाली संवाददाता

२५ माघ २०८२, शनिबार
173 shares

अमृत गिरी

बुटवल । जीवनमा कतिबेला के आपत आइपर्छ, केही मेसो हुँदैन । यसमा पनि नसोंचेका स्वास्थ्य समस्याका आपतले दिने पीडा त झन भनिसाध्य छैन । मुलुकमा पछिल्ला समयमा नसर्ने रोगको मारमा पर्नेहरुको संख्या अधिक मात्रामा बढिरहेको छ । मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगहरुको फैलावट तीब्र छ । यहीँ नसोंचेको पीडाले थलिएको एउटा परिवार अहिले उपचारार्थ आर्थिक सहयोगको पर्र्खाइमा छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–६, हरेवाबाट परिवारको उज्यालो भविष्यको सपना देख्दै रुपन्देही आएको प्रेम–उषाको जोडीलाई अहिले आपत आइलागेको छ ।

आर्थीक सहयोग गर्न चाहानुहुन्छ भने यो क्यूआर प्रयोग गर्नुहोला

तीन सन्तानको आमा बनेर ३७ वर्षीय श्रीमान् प्रेम गौतमसँग संघर्षकै बीच पनि सन्तोष खोजिरहेकी २८ वर्षीया उषाको जीवनमा अहिले यस्तो बज्रपात परेको छ, जसले केवल उनको होइन, सिंगो परिवारको आशा नै ककथिलथिलो बनाएको छ ।
उषाका दुवै मिर्गौला पूर्ण रूपमा काम नलाग्ने भइसकेका छन् । कसरी यस्तो भयो उनीहरुलाई थाहा छैन । न कहिल्यै अरु कुनै बिमार लागेको, न कहिल्यै मादक पदार्थ सेवन गरेको । जब डाक्टरको कुरा सुने उनीहरुलाई छाँगाबाट खसेजस्तै भएको छ ।
अब मिर्गौला प्रत्यारोपण नै एकमात्र उपाय रहेको चिकित्सकको सिफारिस छ । तर, प्रत्यारोपणका लागि चाहिने लाखौँ रुपैयाँ उषाको परिवारका लागि कल्पनाभन्दा बाहिरको कुरा बनेको छ । उनीहरुको परिवारमा आयस्रोत बनेको पशुपालन पनि उषा बिमारी परेसंगै रोकिएको छ । प्रेम–उषाले वर्षको दुई लाख रुपैयाँ बुझाउने गरी खेत, घर र गोठ भाडामा लिएर पशुपालन सुरु गरेका थिए ।

तीन महिनादेखि उपचार सुरु गरेको यो परिवारमा लाखौँ खर्च भइसक्यो तर रोग झन् बढ्दै गयो र केही दिनअघि मात्रै के रोग हो भन्ने पत्ता लाग्यो । ‘पेट दुख्ने, पिसाबमा समस्या, ज्वरो, खान मन नलाग्ने जस्ता लक्षण देखिएपछि गाउँका साना क्लिनिकदेखि बुटवलका अस्पतालसम्म दौडधुप गरियो तर, काठमाण्डौ पुगेपछि अवस्था थाहा भयो’ पति प्रेमले बताए । लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धबाबा अस्पताल हुँदै अन्ततः काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ हस्पिटल० पुग्दा डाक्टरले सुनाएको खबरले उषा र उनका श्रीमान् प्रेमको खुट्टा भुइँबाट उठ्यो–‘दुवै मिर्गौला फेल’ भन्ने शब्दले ।
डायलासिस गरेर धान्ने कि प्रत्यारोपण गर्ने रु डाक्टरको सल्लाह स्पष्ट थियो–प्रत्यारोपण नै गर्नुपर्छ । तर आवश्यक रकम, बसोबास, औषधि, आवतजावत केहीको जोहो थिएन । मन धमिलो पारेर उनीहरु डेरामा फर्किए र हारगुहार सुरु भयो । अब उनलाई यहीँ माघ २६ गते अस्पतालमा बोलाएको छ ।

सैनामैना–४, मुर्गियामा भाडामा बस्दै आएको परिवारको एकमात्र आम्दानीको स्रोत पशुपालन हो । उनले भाडामा लिएको गोठमा छ वटा गाइ छन् । यो पनि उषा बिरामी परेसँगै अब बन्द हुने अवस्थामा छ । श्रीमान् प्रेम दिनभर बिरामी पत्नीको स्याहार र तीन नाबालक छोराछोरीको हेरचाहमै सीमित छन् । उनका ठूली छोरी १२ वर्षकी, सानी छोरी ८ वर्षकी र छोरा ३ वर्षका छन् । आज यो परिवारसँग अस्पतालसम्म जाने भाडा त के, दैनिक छाक टार्ने उपायमा समेत संकट सिर्जना भएको छ ।
‘मिर्गौला दिन म तयार छु,’ प्रेम भन्छन्, ‘तर मिल्छ कि मिल्दैन, परीक्षण नै बाँकी छ ।’ आउँदो माघ २६ गते यहीँ विषयको परीक्षणका लागि अस्पतालमा बोलाइएको उनीहरू बताउँछन् ।

गाउँपालिका र वडाको सिफारिस
उषाको अवस्थालाई गम्भीर मान्दै चन्द्रकोट गाउँपालिका र वडा कार्यालयले आर्थिक रूपमा अत्यन्त कमजोर भएकाले निःशुल्क उपचार तथा सहयोगका लागि आधिकारिक सिफारिस पत्र जारी गरिसकेका छन् । टिचिङ हस्पिटलको रिपोर्टले पनि उनको अवस्था जटिल भएको पुष्टि गर्छ । तर, कागजले मात्र जीवन जोगिँदैन । आज आवश्यक छ–मानवीय साथ । ‘के गरूँ खै‘ कसैको कुभलो चिताइनँ’ बिरामी उषाको आवाज कमजोर छ । भन्छिन्‌–‘अकस्मात् के आइलाग्यो थाहा छैन । कहिल्यै कसैको कुभलो चिताएको छैन, नराम्रो खानपिन गरेको छैन‘ अब तीन छोराछोरी कसरी पाल्लान् ?

उनको यो बिलौनाले जो–कोहीको मन चिरिन्छ । स्थानीयस्तरमा सहयोग अभियान सुरु गर्न लागिएको छ तर अझै अपूरो छ । मुर्गियाका स्थानीय अगुवा लक्ष्मण न्यौपानेका अनुसार, छरछिमेकी र टोल विकास संस्थाका अगुवा चमेली रायमाझीको नेतृत्वमा सहयोग संकलन सुरु गरिएको छ । तर प्रत्यारोपण जस्तो महँगो उपचारका लागि यो पर्याप्त छैन ।
अब उषाको आशा तपाईँ हामीमा छ, आज उषा कुनै अपरिचित होइनन्‌–उनी आमा हुन्, पत्नी हुन्, सपना बोकेकी साधारण नेपाली महिला हुन् । यदि समयमै सहयोग जुटेन भने, तीन नाबालक छोराछोरीले आमाको माया गुमाउने खतरा छ । सानो सहयोगले पनि एउटा परिवार उज्यालोमा फर्किन सक्छ ।