बुटवल, माघ २६ । हरियाली यातायात, बुटवलले इलाका प्रहरी कार्यालय, बुटवलमा हालै सरूवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवलाई स्वागत गरेको छ । तीन पाङग्रे ई–रिक्सा आवद्ध रहेको हरियाली यातायातले विगतदेखि इप्रका बुटवलका आउने प्रहरी प्रमुखलाई स्वागत, सम्मान र भेटघाट गर्दै आएको छ । सो अवसरमा बोल्दै डिएससपी श्रीवास्तवले बुटवलमा हुने आफ्नो बसाइँमा सबैसँग सहकार्य गरेर अघि बढने बताए ।
रिक्सासँग सम्बन्धित समस्याहरु पनि आफूसँग निधक्क राख्न आग्रह गर्दै उनले छलफलबाटै हरेक समस्याको समाधान निकाल्न सकिने धारणा राखे । आफू बुटवल आएको केही हप्ता मात्र रहेको बताउँदै उनले सबै कुरा बुझने काम गर्ने बताए । समय–समयमा चालकहरुलाई प्रशिक्षण दिएर पुर्नताजगी गराउन पनि आवश्यकता रहने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै हरियाली यातायातका अध्यक्ष कृष्णप्रसाद तिवारीले बुटवलमा ई–रिक्साको क्षेत्रमा बेतिथि देखिएको बताउँदै त्यसलाई निराकरण गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष तिवारीले दर्ता विनाका रिक्सा चल्दा पनि बुटवल उपमहानगरपालिकाले त्यसको चासो नदिदै रिक्साहरु धेरै भइरहेको बताए । रिक्सामा सामान हराउने, त्यसको खोजी गर्नेदेखि दुर्घटनाका समस्याहरु समाधानका लागि संस्थाले प्रहरीसँग सहकार्य गरेर अघि बढ्न आफूहरु सधै तयार रहेको तिवारीको भनाइ थियो । कायक्रमको सञ्चालन नेत्रप्रसाद गैरेले गरेका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य र सल्लाहकारहरुको उपस्थिति थियो ।
