विश्वलाई जोड्ने आध्यात्मिक केन्द्र बन्दै लुम्बिनी

–एकै ठाउँमा कैयौं देशका संरचना निर्माण, विश्व शान्ति धामसहितका विश्वकै भव्य संरचना बन्दै

मेचीकाली संवाददाता

८ चैत्र २०८२, आईतवार
15 shares

पवित्र लुम्बिनी क्षेत्रको ड्रोन तस्बिर (हिमालखबरबाट, माथि) । विभिन्न देशले निर्माण गरेका मोनास्ट्रीहरु (तल) । तस्बिरहरू: अमृत गिरी

अमृत गिरी

लुम्बिनी । शान्तिका दूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनी आज केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, विश्व समुदायलाई जोड्ने सांस्कृतिक, आध्यात्मिक र कूटनीतिक थलोका रूपमा विकसित हुँदै गएको छ ।
विभिन्न देशहरूले निर्माण गरेका विहार, गुम्बा र ध्यान केन्द्रहरूले लुम्बिनीलाई ‘विश्व बौद्ध सहर’ का रूपमा स्थापित गरिरहेका छन् । विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राईले उपलब्ध गराएको विवरणअनुसार लुम्बिनी क्षेत्रमा दर्जनौँ देशका बौद्ध विहार तथा मठहरू निर्माण भइसकेका छन् ।

केही संरचनाहरु निर्माणाधीन अवस्थामा छन् । नेपाल, थाइल्याण्ड, क्याम्बोडिया, भारत, म्यानमार, श्रीलंका, क्यानडा, दक्षिण कोरिया, चीन, भियतनाम, जापान, फ्रान्स, रुस, बंगलादेश, जर्मनी, युरोप र अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थाका संरचनाहरु निर्माण भएका छन् । हालै अमेरिकाले पनि विशेष गुम्बा निर्माण गरेको छ ।
ती देशहरूले आफ्ना मौलिक वास्तुकला, संस्कृति र बौद्ध परम्परालाई झल्काउने गरी गुम्बा निर्माण गरेका छन् । यी संरचनाहरू केवल पूजा–आराधनाका स्थल मात्र नभई अध्ययन, ध्यान, अनुसन्धान र अन्तर्राष्ट्रिय सम्पर्क विस्तारका केन्द्रसमेत बनेका छन् । यद्यपि लुम्बिनी परिसरका कतिपय होटल व्यवसायीले यस्ता आवासीय सुविधासहितका संरचनाहरु स्टार होटलजस्ता भएको भन्दै गुनासो गर्दै आएका छन् ।

लुम्बिनी विकास कोषले उपलब्ध गराएको विवरणमा करिब १५ भन्दा बढी देशले प्रत्यक्ष रूपमा संलग्न भएर र अन्य ४२ वटा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले संरचना निर्माण गरेका छन् । लुम्बिनीको पवित्र भूमिमा विभिन्न देशका ३० भन्दा बढी विहार÷संरचना (पूर्वी र पश्चिमी मोनास्टिक जोनमा) मात्रै निर्माण भएका छन् । ध्यान केन्द्र, होटल, शान्ति स्तूप, वल्र्ड पीस प्यागोडा, अनुसन्धान केन्द्र आदि निर्माण भएका छन् । यी संरचनाहरुका लागि अलग अलग ठाउँ तोकिएको छ ।
लुम्बिनी विकास कोषको बिहारहरुको विनियमावली–२०५८ मा आधारित रहेर यहाँ विभिन्न देशहरुले संरचना निर्माण गरेका छन् । यद्यपि यस्ता संरचना निर्माणका लागि भन्द्र जग्गा माग गर्ने, उपलब्ध गराउनेलगायतमा बेथिति भएको भन्दै प्रश्न उठ्दै आएको छ ।

विकास कोषले यसबारेमा केही वर्षअघि कार्यकारी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा ‘लुम्बिनी गुरुयोजना क्षेत्रका प्लटहरुको अध्ययन समिति–२०७७’ गठन गरेको थियो । उक्त समितिले अध्ययन प्रतिवेदन तयार पारेर तत्कालीन मन्त्री, विकास कोषका अधिकारीहरुलाई बुझाएको थियो ।

विश्वका विभिन्न बौद्ध परम्परा एउटै थलोमा अवलोकन
लुम्बिनीको विकासका लागि करिब ५० वर्षअघि जापानी योजनाविद् केन्जो टांगेले संयुक्त राष्ट्रसंघका महासचिव उ थान्तको पहलमा तयार पारेको गुरुयोजनाले लुम्बिनीलाई दार्शनिक र संरचनागत रूपमा अद्वितीय बनाएको छ, जसलाई तत्कालीन राजा महेन्द्रसहित त्यसबेलाका मन्त्रीहरुको सहयोगमा कार्यान्वयन गरिएको थियो । यस योजनाअनुसार लुम्बिनीलाई उत्तर–दक्षिण तीन भागमा विभाजन गरी उत्तरमा लुम्बिनी गाउँ, बिचमा विहार क्षेत्र र दक्षिणमा पवित्र बगैंचा (जहाँ मायादेवी मन्दिर अवस्थित छ) राखिएको छ । लुम्बिनी सबै धर्मावलम्बीका लागि खुला साझा आध्यात्मिक तथा पर्यटकीय स्थल भएकाले यसको संरक्षण, संवद्र्धन र गुरुयोजना अनुरूप विकास आवश्यक छ ।

लुम्बिनीको मास्टर प्लानअनुसार विकास भइरहेको यस क्षेत्रमा ‘मोनास्टिक जोन’ को अवधारणा अत्यन्तै महत्वपूर्ण छ । पूर्वी र पश्चिमी क्षेत्रमा विभाजन गरी विभिन्न देशलाई आफ्ना विहार निर्माणका लागि जमिन उपलब्ध गराइएको छ । यसले लुम्बिनीलाई एक किसिमको ‘जीवित संग्रहालय’ बनाएको छ, जहाँ विश्वका विभिन्न बौद्ध परम्परा एउटै थलोमा अवलोकन गर्न सकिन्छ ।
‘लुम्बिनी केवल धर्मसँग जोडिएको स्थल होइन; यो नेपालको अर्थतन्त्र, पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धको महत्वपूर्ण आधार पनि हो । यहाँ निर्माण भएका प्रत्येक विहारले सम्बन्धित देशसँगको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको छ ।’ लुम्बिनीको बारेमा लामो समयदेखि सोध र प्रचारप्रचारमा संलग्न कोषका सूचना अधिकारी डा.राइको भनाइ छ ।

विश्व शान्ति मन्दिर निर्माण जारी, जमिन विवादपछि अदालतबाट संस्थाको पक्षमा फैसला
लुम्बिनीमा निर्माणाधीन विश्व शान्ति सार्वभौमिक मन्दिर श्याल्पा तेन्जिन रिन्पोछेको अवधारणामा अघि बढिरहेको एउटा प्रमुख परियोजना हो । बौद्ध दर्शन र आधुनिक वास्तुकलाको समन्वयमा तयार गरिएको यो मन्दिरको डिजाइन जर्मनीका आर्किटेक्ट स्टेफन ब्राउनफेल्स र रिन्पोछेले संयुक्त रूपमा तयार पारेका हुन् ।

सन् २०१४ मा परियोजनाको शिलान्यास तत्कालीन भारतीय राजदूत रन्जित रे, हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठद्वारा गरिएको थियो । प्रारम्भिक चरणमा जग्गा अभाव र प्रशासनिक अवरोधका कारण निर्माण कार्य ढिलाई भई सन् २०१८ मा एमइभिपि भवन निर्माण सम्पन्न भएको थियो ।

सन् २०१९ मा मन्दिरको पाइलिङ तथा जग निर्माण कार्य ८.० रेक्टर स्केलसम्मको भूकम्प सहन सक्ने गरी सम्पन्न गरिएको थियो । तर सन् २०२० मा सुरु भएको कोभिड–१९ महामारीका कारण करिब दुई वर्ष निर्माण प्रभावित भयो ।
सन् २०२३ मा पुनः निर्माण सुरु भए पनि लुम्बिनी विकास कोष सँगको जमिन विवाद चर्किएको थियो । संस्थाका अनुसार तत्कालीन विकास कोषकै कतिपय अधिकारीहरु र संघीय सरकारका मन्त्रीहरूसमेतको प्रभावमा परियोजनाको केही जमिन गैरकानुनी रूपमा कब्जा गरिएको आरोप लगाइएको छ ।

जमिन विवाद समाधानका लागि संस्था अदालत पुगेकोमा करिब १८ महिनापछि जिल्ला र उच्च अदालतले संस्थाकै पक्षमा फैसला गरेको जनाएको छ । हाल मन्दिरको पहिलो तल्लाको संरचनाको निर्माण भइरहेको छ भने बाँकी संरचना निर्माण अघि बढाउने तयारी भइरहेको जनाइएको छ । आइतबार कोषका उपाध्यक्ष डा.ल्याहारकाल लामासहित रिम्पोचे र भिक्षूहरुले उक्त संरचनाको अवलोकन गरेका थिए । संस्थाले अदालतको आदेश कार्यान्वयन गर्दै सम्पूर्ण लिज गरिएको जमिन फिर्ता गर्न लुम्बिनी विकास कोषलाई आग्रह गरेको छ । परियोजनाले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको रिम्पोचेले आइतबार परिसरमै पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

मोनास्ट्री व्यवस्थापन र सम्पदा संरक्षणमा चुनौती
लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र मोनास्ट्री (गुम्बा, विहार, ध्यान केन्द्र) निर्माणका नाममा गम्भीर अनियमितता भएको तथ्य ‘लुम्बिनी गुरुयोजना क्षेत्रका प्लटहरूको अध्ययन प्रतिवेदन–२०७७’ ले औंल्याएको थियो । पाँच वर्षअघि बुझाइएको उक्त प्रतिवेदन उपर कारबाही भएको जानकारी सार्वजनिक भएको छैन । विनियमावली विपरीत एकै देश वा संस्थालाई एकभन्दा बढी प्लट वितरण, सम्झौताअनुसार निर्माण कार्य सुरु तथा सम्पन्न नगर्नु, र कतिपय प्लटलाई धार्मिक उद्देश्यभन्दा बाहिर प्रयोग गर्नुजस्ता कमजोरीहरू स्पष्ट रूपमा उल्लेख भए पनि हालसम्म प्रभावकारी कारबाही हुन सकेको छैन ।

४२ संस्थालाई अनुमति दिइएकोमा केहीले काम नै सुरु नगरेका र धेरैले समयसीमा नाघ्दा पनि निर्माण पूरा नगरेको अवस्थामा नियमन निकायको उदासीनताले लुम्बिनीको मूल परिकल्पनामाथि नै प्रश्न उठाएको छ । कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा विज्ञहरुसमेत सम्मिलित समिति गठन भएको थियो । यही व्यवस्थापन कमजोरीसँग जोडिएको अर्को गम्भीर पक्ष लुम्बिनी सम्बन्धी संरक्षण र व्यवस्थापनका विषयमा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले गम्भीर चिन्ता व्यक्त गर्दै सुधारका लागि नेपाललाई समय दिएको थियो । सन् २०२२ को अनुगमन प्रतिवेदनले मायादेवी मन्दिरको संरचनात्मक अवस्था, उच्च जलस्तरका कारण उत्पन्न ओसिलो वातावरण, तथा पुरातात्विक अवशेषमा पर्ने जोखिमबारे चेतावनी दिएको छ । साथै, पवित्र बगैँचाको कमजोर व्यवस्थापन र जापानी प्रोफेसर केन्जो टाँगेद्वारा तयार गरिएको गुरुयोजनाविपरीत जथाभावी पूर्वाधार निर्माणले लुम्बिनीको मौलिकता र विश्वव्यापी मूल्यमा असर पार्न सक्ने औंल्याइएको छ । यद्यपि यसमा हाल सुधार आएको छ ।