मुस्ताङ वर्षैभरि पर्यटन गन्तव्य बन्दै

–जाडोयाममै मुस्ताङमा पर्यटकको लहर, जाडोमा एक महिनामै १०,८२२ विदेशी पर्यटक, आन्तरिक पनि दिनहुँ बढ्दै

मेचीकाली संवाददाता

१२ चैत्र २०८२, बिहीबार
14 shares

अमृत गिरी

जोमसोम। नेपालको हिमाली भूभागमा अवस्थित मुस्ताङ पछिल्लो समय देशकै प्रमुख पर्यटन गन्तव्यका रूपमा उदाउँदै गएको छ । गर्मी याम होस् वा जाडो यहाँ हरेक सिजनमा पर्यटकको आगमन भइरहेको छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधताको संगम रहेको मुस्ताङमा मुक्तिनाथ मन्दिर, कागवेनी, लोमानथाङ, मरुभूमि, स्याउ बगान, कालीगण्डकी खोँच, साहसिक ट्रेक र हिमाली सभ्यताजस्ता सम्पदा स्थल र विषयले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन् ।
उत्तरी छिमेकी मुलुक जनवादी गणतन्त्र चीनसँगको सीमा नाका कोरोलाको औपचारिक सञ्चालन, नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय राजमार्ग कालीगण्डकी करिडोरको निर्माण, बेनी–जोमसोम–कोरला सडकको उल्लेख्य सुधार, धार्मिक पर्यटनको आश्थाको केन्द्र र साहसिक पर्यटनको समेत केन्द्र रहेकाले मुस्ताङलाई वर्षैभरिको पर्यटन गन्तव्यका रुपमा विकास गरिरहेको छ ।

मुस्ताङ आफँैमा एउटा गहिरो खोज गर्न बाँकी रहेको सभ्यताको क्षेत्र हो । मुस्ताङलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधता, साहसिक पर्यटनको अद्वितीय संगम रहेको पवित्र क्षेत्रका रुपमा लिइन्छ ।
मुस्ताङमा हिन्दू र बौद्धसमेतले मान्ने अथाह आश्थाको केन्द्र मुक्तिनाथ मन्दिर, श्राद्धको केन्द्र कागबेनी, अलग्गै पहिचान र विशेष सभ्यताको लोमान्थाङ, चिनियाँ नाकाजस्ता स्थलहरूले धार्मिक तथा साहसिक पर्यटनलाई सशक्त बनाएका छन् । मुस्ताङलाई वर्षभरी पर्यटक आकर्षित गर्ने अथाह सम्भावना रहेको क्षेत्रका रुपमा लिइन्छ ।

परम्परागत रूपमा कडा जाडोका कारण अफ–सिजन मानिने मुस्ताङमा यस वर्ष भने जाडोयाममै पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) जोमसोमका प्रमुख राजेश गुप्ताका अनुसार जाडोयामको प्रमुख महिना जनवरीमा मात्रै १०,८२२ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये १०,०४५ सार्क मुलुकका र ७७७ अन्य देशका रहेका छन् । अघिल्लो वर्ष जनवरी २०२५ मा ४,३४६ विदेशी पर्यटक मात्र आएकोमा एक वर्षमै ६,४७६ को वृद्धि भएको छ । त्यतिबेला सार्कबाट ३,८३० र अन्य देशबाट ५१६ पर्यटक आएको कार्यालयमा तथ्यांक छ । यस वर्षको वृद्धि मुख्यतः छिमेकी मुलुक भारतबाट आउने तीर्थयात्रीका कारण भएको तथ्यांकमा देखिन्छ । उनीहरुमध्येको ठुलो हिस्सा मुक्तिनाथ मन्दिरका लागि आउने गरेका छन् ।

एक्याप मुस्ताङ जोमसोमका प्रमुख गुप्ताका अनुसार २०२६ भरि करिब २ लाख विदेशी पर्यटक मुस्ताङ पुग्ने अनुमान गरिएको छ । ‘यहीँ रफ्तारमा हुने पर्यटक वृद्धिले अपेक्षा गरेकोभन्दा धेरै पर्यटक आगमन हुने निश्चित छ’गुप्ताको भनाइ छ ।
स्थानीय अगुवा तथा पूर्वजनप्रतिनिधि सर्मिला गुरुङका अनुसार सडक पहुँच सहज बन्दै जाँदा मुस्ताङको सम्भावना थप उजागर भइरहेको छ । जोमसोमस्थित होटल ब्लू माउन्टेन सञ्चालन गर्दै आएकी सञ्चारकर्मी सम्झना थकालीले पनि दैनिक रूपमा पर्यटक आगमन बढ्दै गएको बताइन् ।

मुक्तिनाथ होटल संघका अध्यक्ष सुरज गुरुङले विगतमा जाडोयाममा बन्द हुने होटलहरू यस वर्ष सञ्चालनमै रहेको र पर्यटक आगमन दर दिनहुँ बढिरहेको बताएका छन् । उनले यसले पर्यटन व्यवसायमा नयाँ उत्साह थपेको उल्लेख गरे ।
तर तीव्र वृद्धि सँगै चुनौतीहरू पनि उत्तिकै छन् । अपर मुस्ताङमा माइनस २० डिग्रीसम्म पुग्ने चिसो, तल्लो मुस्ताङमा माइनस १२ डिग्रीसम्म पुग्ने चिसो, सीमित पूर्वाधार, होटल तथा यातायातको अपुगता र जलवायु परिवर्तनका असरले पर्यटनमा दबाब सिर्जना गरिरहेको छ । यस विषयमा संरक्षणकर्मी र वातावरणविद्हरु पनि चिन्तित छन् । हिमाली भेगमा सरदर कम पानी पर्छ र कतिपय मरुभूमि क्षेत्रमा त पानी नै पर्दैन तर बेलाबेलामा आउने अस्वभाविक बाढी, पहिरो, हिउँपहिरो र अनियमित वर्षाले दीर्घकालीन जोखिम बढाएको विज्ञहरुको भनाइ छ ।

यसैबिच त्रिभुवन विश्वविद्यालयको पिएचडीको सोधकर्ताको टोलीले एक्यापसँगको सहकार्यमा मुस्ताङको पर्यटन सम्भावनाबारे अध्ययन गरेको थियो । अध्ययनमा मरुभूमि जस्तो प्राकृतिक भू–दृश्य, पवित्र स्थल, हिमाली संस्कृति, जैविक खाद्य प्रणाली, उच्च हिमाली कृषि तथा लोमान्थाङका ऐतिहासिक गुम्बा, दरबार र गुफा बस्तीहरू प्रमुख आकर्षणका रूपमा पहिचान गरिएको छ । यसले मुस्ताङलाई वर्षभरि दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने आधार स्पष्ट गरेको छ ।