बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु, बच्चाको पाखुरा कति मोटो हुनुपर्छ ?

मेचीकाली संवाददाता

१६ बैशाख २०८३, बुधबार
24 shares

बुटवल । ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषण तथा मध्यम कुपोषण जोखिमको समयमै पहिचान र आवश्यक उपचार तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले अभियान सुरु गरेको हो ।

अभियानमार्फत स्थानीय तह, जिल्ला तथा प्रदेशस्तरमा कुपोषणको वास्तविक अवस्था पहिचान गर्दै उच्च, मध्यम तथा न्यून जोखिम भएका क्षेत्रको वर्गीकरण गरी लक्षित पोषण कार्यक्रम तर्जुमा गर्न आवश्यक आधार तयार गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

यही वैशाख १५ देखि प्रारम्भ भएको अभियान ७५३ वटै स्थानीय तहमा चल्नेछ । लेखाजोखा कार्य स्वास्थ्य संस्था तथा खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवनहरू तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन हुनेछन् ।

त्यस क्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका लक्षित बालबालिकाको सङ्ख्या, आवश्यक स्वास्थ्यकर्मी टोली तथा सामग्रीको व्यवस्थापनसहित सुक्ष्म योजना तयार गर्नेछन् । अभियानसम्बन्धी जानकारी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, रेडियो तथा स्थानीय सञ्चारमाध्यममार्फत समुदायसम्म पुर्याइनेछ ।

लेखाजोखा कार्यका लागि आधुनिक उपकरण डिजिटल तौल मेसिन, उचाइ र लम्बाइ मापन बोर्ड तथा पाखुराको घेराइ नापेर कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिनेछ । यस अभियानबाट प्राप्त हुने तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग पुर्याउने मन्त्रालयको विश्वास छ ।

सबैको साझा प्रयासबाट मात्र कुपोषणमुक्त स्वस्थ पुस्ता निर्माण सम्भव हुने जनाउँदै मन्त्रालयले अभियानका क्रममा ६–५९ महिनाका आफ्ना बालबालिकाको पोषण जाँच अनिवार्य रूपमा गराई यस अभियानलाई सफल बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । अभियान यही वैशाख ३० गतेसम्मे चल्नेछ ।

बच्चाको पाखुरा कति मोटो हुनुपर्छ ?

६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाको वायाँ पाखुराको माथिल्लो बीच भागको (मोटाई नाप्ने टेप) को माध्यम द्वारा ख्याउटेपनको स्तर मापन गरिन्छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार वच्चा स्वस्थ जन्मदा पाखुराको मोटाई १० देखि ११ से.मी. हुनु पर्दछ भने जन्मेको १ वर्षमा १६ से.मी. हुनु पर्दछ । त्यस पछि प्रत्येक वर्ष ०.१५ से.मी.का दरले वृद्धि भई ५ वर्ष पुग्दा १७ से.मी. हुन्छ ।

शिशुको पाखुरा नाप्दा १२.५ से.मी. भन्दा माथी भएमा हरियो रंग अर्थात सामान्य अवस्था बुझ्न सकिन्छ भने १२.५ से.मी. भन्दा कम भएमा पहेलो रंग अर्थात मध्यम खालको कुपोषण र ११.५ से.मी. भन्दा कम भएमा रातो रंग अर्थात कडा कुपोषणको भनेर बुझ्न सकिन्छ ।

बच्चाको उमेर अनुसारको उचाइ तथा तौल कति हुनुपर्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मँदाको उचाई कम्तीमा ४५ देखि ५० सेमीको हुनुुपर्दछ। त्यसैगरी सो शिशुको उमेर १ वर्ष पुग्दा २५ सेमी थप हुनुपर्दछ । दोस्रो वर्षमा १२.५ सेमी थप हुनुपर्छ भने तेस्रो, चौथो र पाँचौ वर्षमा ७ देखि ९ सेमीका दरले वृद्धि हुँदै जानुपर्छ।

यसरी वयस्क अवस्थासम्म आइपुग्दा महिलाको औसत उचाई १६३ सेमी अर्थात ५ फिट ३ हुनुपर्दछ र पुरुषको औसत उचाइ १७६ सेमी अर्थात ५ फिट ७ इन्च भएको हुुनुपर्दछ । यो मापदण्ड अनुसार उचाइ वृद्धि हुन नसकेको बालबालिका तथा वस्यकलाई पुड्के भनिन्छ। यस्तो खालको न्युन कुपोषणलाई दीर्घ कुपोषण पनि भनिन्छ। पुड्के बाबुआमाबाट जन्मेको छोराछोरी पनि पुड्को हुने सम्भावना धेरै हुने अध्ययनले देखाएको छ। एक पटक भइसकेको पुड्कोपनालाई कुनै पनि उपचार पद्धति वा सन्तुलित आहारले अग्लो बनाउन सक्दैन।

उमेर अनुसारको तौल नभएको अवस्थालाई कम तौल भनिन्छ। यसको मापन उमेर र उक्त उमेर अनुसार हुनु पर्ने तौलकोे आधारमा गरिन्छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जन्मदा शिशुको तौल २.५ देखि ३.४ केजी हुनुपर्छ , पहिलो ५ महिनामा जन्मदाको भनदा दोब्बर हुनुपर्दछ भने १ वर्षमा तेब्बर हुुनुपर्दछ । त्यसैगरी दोस्रो वर्षमा २।५ केजी थप हुनुपर्दछ भने तेस्रो, चौथो र पाँचौ वर्षमा २–२ केजीका दरले थप हुँदै जानु पर्दछ।

त्यसैले ५ वर्ष भन्दा अगावै बालबालिकाहरुलाई पोषणयुक्त खाना खुवाएमा मात्र यी समस्याको समाधान गर्न सकिन्छ ।

कस्तो खानेकुरा खुवाउनुपर्छ ?
शरीरलाई पौष्टिक तत्व प्रदान गर्ने बोटबिरुवा तथा पशुजन्य श्रोतबाट प्राप्त हुन्छ। खानाले आवश्यक पर्ने शक्ति दिनुका साथै यसले न्यानो राख्छ त्यति मात्र होइन शरीरका मांसपेशीहरुलाई पनि बलियो बनाउँछ। यी तल दिइएका ७ प्रकारका खानेकुराको समूहमध्ये कम्तिमा ४ खानाको समेटिने गरी खानुपर्दछ।
–अन्न, जरा र कन्दमूल
–गेडागुडी, दलहन, तेलहन
–दुधजन्य पदार्थहरु (दुध, दही, पनीर, चिज)
–अण्डा
–मासुजन्य (माछा,मासु, पन्छी, कलेजो आदि)
–पर्याप्त मात्रामा भिटामिन ए पाइने फलफूल तथा सागसब्जी
–अन्य फलफूल र तरकारी तथा सागसब्जी
खानेकुरामा पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज, भिटामिन, रेसा आदि पुगेको हुुनुपर्दछ।