बुद्ध जयन्ती र मजदुर दिवसको संगमः श्रम, करुणा र जागरणको सन्देश

मेचीकाली संवाददाता

१८ बैशाख २०८३, शुक्रबार
60 shares

अमृत गिरी

बुटवल । यस वर्ष वैशाख १८ गते एक विशेष संयोग बनेको छ बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय मजदुर दिवस एकै दिन परेको छ । ईसापूर्व ५६३ तिर लुम्बिनीमा आजकै दिन बुद्धको जन्म भएको थियो । आजकै दिन बुद्धले ज्ञान प्राप्त गरेका थिए भने आजकै दिन बुद्धको ८० वर्षको उमेरमा महापरिनिर्वाण (निधन) भएको थियो । आज २५७० औं बुद्ध जयन्ती मनाइँदैंछ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै सुरु भएको आन्दोलनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । नेपालमा विसं.२००७ सालमा विराटनगरको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । आज १३७ औं मजदुर अर्थात् मई दिवस हो ।

एकातिर शान्ति, करुणा र आत्मजागरणका प्रतीक गौतम बुद्धको स्मरण, अर्कोतिर श्रम, अधिकार र सम्मानका लागि संघर्षको स्मरण गर्ने ऐतिहासिक दिन ।

श्रम प्रशस्त छ, अवसर कम छ
नेपालमा अहिले बेरोजगारी र अधरोजगारी गम्भीर चुनौतीका रूपमा देखिएको छ । विशेषगरी युवा वर्ग ठुलो संख्यामा वैदेशिक रोजगारीतर्फ धकेलिएको छ । गाउँमा श्रमशक्ति भए पनि उत्पादनका अवसर सीमित छन् । कृषि, साना उद्योग र स्थानीय उद्यमहरू पर्याप्त रूपमा विस्तार हुन नसक्दा श्रमिकहरू असुरक्षित र अस्थिर रोजगारीमा सीमित छन् । रोजगार पाएका श्रमिकहरूको अवस्था पनि सन्तोषजनक छैन । न्यून पारिश्रमिक, सामाजिक सुरक्षाको अभाव, असंगठित क्षेत्रमा शोषण, सीपको उचित मूल्यांकन नहुनु जस्ता समस्याले श्रमको गरिमा घटिरहेको छ ।

ट्रेड युनियनलाई सुधार्ने कि खारेज गर्ने ?
अहिले ट्रेड युनियन प्रणालीबारे विभिन्न बहसहरू भइरहेका छन् । कतिपयले युनियनहरू राजनीतिक प्रभावमा परेको र उत्पादनभन्दा आन्दोलनमा केन्द्रित भएको आरोप लगाउँछन् । युनियन खारेज गर्दा श्रमिक अधिकार नै जोखिममा पार्ने चिन्ता पनि उत्तिकै गम्भीर छ । सरकार गम्भीर भएन भने श्रमिकहरूको सामूहिक आवाज कमजोर हुन्छ, न्यूनतम पारिश्रमिक र सुरक्षा सुनिश्चित गर्न कठिन हुन्छ, रोजगारदाताको एकपक्षीय निर्णय हावी हुन सक्छ ।
बुद्ध दर्शन र श्रम
गौतम बुद्धले जीवनमा श्रमलाई केवल आर्थिक क्रियाकलापका रूपमा होइन, नैतिक र आध्यात्मिक अभ्यासका रूपमा हेरे । उनको शिक्षाअनुसार संयक आजीविका, करुणा र मध्यम मार्ग जस्ता प्रमुख सिद्धान्तहरू आजको श्रम बजारमा पनि उत्तिकै सान्दर्भिक छन् । बुद्धका अनुसार श्रम केवल कमाउने माध्यम होइन, आत्मसम्मान र सामाजिक योगदानको आधार हो । जब श्रमसँग नैतिकता र चेतना जोडिन्छ, तब मात्रै दिगो विकास सम्भव हुन्छ भन्ने विषयलाई बौद्ध दर्शनले जोड दिएको छ ।

सर्वोदय श्रमदान नेपालका लागि उपयुक्त मोडेल
श्रीलंकामा एकजना शिक्षकले आफू जन्मेको सानो गाउँबाट सुरु गरेको श्रमदानको आन्दोलनले केही दशकै श्रीलंकाभरि मात्रै होइन विश्वका धेरै मुलुकमा समेत प्रभाव पारेको थियो । अहिले पनि यस अभियानअन्तर्गतका कार्यक्रम भइरहेका छन् । एटी आरियारत्ने नामका ती शिक्षकले सुरु गरेको सर्वोदय श्रमदान आन्दोलनले देखाएको बाटो नेपालका लागि अत्यन्त सान्दर्भिक देखिन्छ ।

विकासको सुरुवात ‘व्यक्तिगत जागरण’ बाट हुन्छ, गाउँ आफैंले आफ्नो विकास गर्न सक्छ, श्रमदानमार्फत सामाजिक एकता र आत्मनिर्भरता बढ्छ । अर्थात् आफ्नो गाउँ आफै बनाऔंको कार्यक्रमले सकारात्मक परिवर्तन ल्याएझैं यो मोडल नेपालका लागि उपयुक्त हुन सक्छ । गाउँमा युवा पलायनको अवस्था, जताततै ज्येष्ठ नागरिक मात्रै रहेको अवस्थामा श्रमदानको संस्कृति उपयुक्त मोडल बन्न सक्छ ।
स्थानीय तहमा श्रमदान अभियान, युवा केन्द्रित उत्पादन कार्यक्रम, सामुदायिक पूर्वाधार निर्माण जस्ता कार्यका लागि सामूहिक श्रमदान गर्न सकिन्छ । विद्यालय र कलेजस्तरमै व्यावसायिक र प्राविधिक शिक्षा विस्तार गर्नुपर्छ । स्थानीय रोजगारी सिर्जना गर्दै कृषि, पर्यटन, साना उद्योग र डिजिटल अर्थतन्त्रमा लगानी बढाउनुपर्छ ।

मजदुरबारे बुद्धको भनाइ
बुद्धले मजदुर तथा सेवकहरूको हक–हित र सम्मानबारे सिलागेवाद सुत्तमा स्पष्ट मार्गदर्शन दिएका छन् । मजदुरको शारीरिक तथा मानसिक क्षमता अनुसार कामको जिम्मेवारी दिनु, कामको उचित पारिश्रमिक र आवश्यक भोजनको व्यवस्था गर्नु, बिरामी पर्दा आराम र उपचारको सुविधा उपलब्ध गराउनु, चाडपर्व वा विशेष अवसरमा बोनस वा उपहारमार्फत मनोबल बढाउनु र नियमित रूपमा विश्राम तथा छुट्टीको व्यवस्था गर्नु’ भनेर उपदेश दिएका थिए ।

आर्थिक यथार्थः चुनौती र अवसर
लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्यापनरत अर्थशास्त्री सुरज घिमिरेका अनुसार अर्थमन्त्री स्वर्णीम वाग्लेले हालै सार्वजनिक गरेको आर्थिक स्थितिपत्रले नेपालको अर्थतन्त्रको चुनौतीपूर्ण चित्र प्रस्तुत गरेको छ । विगत एक दशकमा औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशतमा सीमित रहनु र सार्वजनिक ऋण जीडीपीको ४३.८ प्रतिशत पुग्नुले परम्परागत विकास मोडेलको कमजोरी देखाउँछ ।


यद्यपि, आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउने र ऊर्जा उत्पादन विस्तार गर्ने लक्ष्य राखिएको छ । तर यसको प्रमुख चुनौती पुँजी र लगानीको अभाव हो । वार्षिक ८ लाखभन्दा बढी युवा विदेशिनु र खेतबारी बाँझो रहनुले श्रमको सही उपयोग हुन नसकेको प्रष्ट हुन्छ । यस सन्दर्भमा श्रम–आधारित विकास मोडेल अझ सान्दर्भिक देखिन्छ ।