डिजिटल युगमा मौलिकताको सङ्कट

–अनुसन्धान नैतिकतामाथिको चुनौती सामना गर्न लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा विशेष कार्यक्रम

मेचीकाली संवाददाता

२६ बैशाख २०८३, शनिबार
16 shares

अमृत गिरी

बुटवल । डिजिटल प्रविधिको तीव्र विकासले विश्वलाई अभूतपूर्व रूपमा जोडेको छ । विश्वविद्यालयका शोधपत्रदेखि विद्यालयका असाइनमेन्ट,सरकारी तथ्यांकदेखि सामाजिक सञ्जालका सामग्रीसम्म अहिले ज्ञान–उत्पादन र सूचना आदानप्रदानको मुख्य आधार डिजिटल माध्यम बन्दै गएको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई), अनलाइन पुस्तकालय, ओपन एक्सेस जर्नल, डिजिटल डाटाबेस तथा सामाजिक सञ्जालले अध्ययन, अनुसन्धान र सूचना पहुँचलाई सहज बनाएका छन् तर यही प्रविधिको विस्तारसँगै शैक्षिक अखण्डता, अनुसन्धान नैतिकता, मौलिकता र बौद्धिक सम्पत्तिमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

पछिल्ला वर्षहरूमा विज्ञहरूले ‘कपी–पेस्ट कल्चरको विस्तार’, एआइमा अत्यधिक निर्भरता, सन्दर्भ उल्लेख नगर्ने प्रवृत्ति तथा सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोगले अनुसन्धानको विश्वसनीयता कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
यिनै विषयलाई केन्द्रमा राख्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा बुद्ध जन्मस्थल लुम्बिनीमा ‘ज्ञान, अनुसन्धान र नवप्रवर्तन’ कार्यक्रमअन्तर्गत अनुसन्धान विधिसम्बन्धी पाँच दिने विशेष प्रशिक्षण सञ्चालन गरेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनीमा आयोजित कार्यक्रममा बौद्ध दर्शनलगायत विभिन्न विषयका करिब एक सय शोधार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई शैक्षिक उत्कृष्टता र अनुसन्धानमुखी समाज निर्माणतर्फ महत्वपूर्ण पहलका रूपमा हेरिएको छ । यसअघि विश्वविद्यालयले स्नातक तहको बौद्ध दर्शन अध्ययनसम्बन्धी पाठ्यक्रम पुनःताजगी कार्यक्रम सञ्चालन गरिसकेको थियो भने अहिले अनुसन्धान विधि र त्यससँग सम्बन्धित नैतिक पक्षलाई केन्द्रमा राखेर प्रशिक्षण आयोजना गरेको बौद्ध दर्शनका ज्ञाता, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख आचार्य दयानिधि गौतमको भनाइ छ । कार्यक्रमलगत्तै विश्वविद्यालयले प्राचीन पाण्डुलिपिको अवस्था, महत्व र संरक्षणसम्बन्धी पाँच दिने अर्को विशेष कार्यक्रम पनि सञ्चालनको तयारी भइरहेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख तथा बौद्ध दर्शनका ज्ञाता आचार्य गौतमका अनुसार अनुसन्धानको गुणस्तर अभिवृद्धि तथा शैक्षिक अखण्डता प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उनका अनुसार अहिले इन्टरनेटमा उपलब्ध सामग्रीलाई स्रोत नखुलाई सिधै प्रयोग गर्ने, एआइबाट तयार सामग्रीलाई आफ्नै सिर्जना भन्दै प्रस्तुत गर्ने तथा उद्धरण र सन्दर्भ प्रणालीलाई बेवास्ता गर्ने प्रवृत्ति तीव्र बन्दै गएको छ ।

विशेषगरी जेनेरेटिभ एआई उपकरणहरूको प्रयोगले अनुसन्धान र लेखनको स्वरूप नै परिवर्तन गरिरहेको छ । अहिले एआईले निबन्ध, शोध सामग्री, डेटा विश्लेषणदेखि निष्कर्षसम्म तयार गरिदिन थालेपछि लेखकत्व, मौलिकता र जवाफदेहितामाथि विश्वव्यापी बहस चर्किएको छ । सहजताको नाममा सिर्जनात्मकता कमजोर बन्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
डिजिटल युगले अवसरसँगै नैतिक संकट पनि ल्याएको छ । सामाजिक सञ्जालबाट डेटा संकलन, प्रयोगकर्ताको जानकारीबिनै पोस्ट विश्लेषण, अनलाइन सर्वेक्षण र डिजिटल निगरानीजस्ता अभ्यासले गोपनीयता र सहमतिका प्रश्न उठाइरहेका छन् । कानुनी रूपमा सार्वजनिक देखिने सामग्री नैतिक रूपमा प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने बहस अझ जटिल बन्दै गएको छ ।
विशेषगरी बौद्ध अध्ययन, संस्कृति र धर्मसम्बन्धी अनुसन्धानमा डिजिटल पहुँचले नयाँ चुनौती थपेको आचार्य गौतम बताउँछन् । उनका अनुसार त्रिपिटकजस्ता बौद्ध धर्मग्रन्थ अहिले खुला डिजिटल प्लेटफर्ममा उपलब्ध भए पनि परम्परागत व्याख्या, सांस्कृतिक संवेदनशीलता र दार्शनिक सन्दर्भ नबुझी गरिने विश्लेषणले गलत अर्थ उत्पादन गर्ने जोखिम बढेको छ । ‘बौद्ध दर्शनका ‘सम्यक वाचा’, ‘अहिंसा’ र ‘सचेतना’ जस्ता नैतिक सिद्धान्त डिजिटल अनुसन्धानका लागि पनि उत्तिकै सान्दर्भिक छन्,’ गौतमले भने ।

शोध तथा प्रकाशन क्षेत्रमा बढ्दो अर्को गम्भीर समस्या ‘शिकारी जर्नल’ भएको कार्यक्रमका सहजकर्ता प्रोफेसर डा.अरबिन्दकुमार सिंहले बताए । उनका अनुसार प्रकाशन शुल्क लिएर गुणस्तरीय समीक्षा नगर्ने यस्ता जर्नलहरूले अनुसन्धानको विश्वसनीयता कमजोर बनाइरहेका छन् ।
‘प्रकाशित गर, नभए समाप्त हो’ भन्ने दबाबका कारण कतिपय अनुसन्धानकर्ता डेटा हेरफेर, बनावटी तथ्यांक र साहित्यिक चोरीतर्फ धकेलिएका छन्,’ सिंहले भने,‘विश्वविद्यालयहरूमा एमएलए, एपिए वा शिकागो शैलीमा सही उद्धरण गर्ने अभ्यास, साहित्यिक चोरी पत्ता लगाउने सफ्ट्वेयरको प्रयोग, एआई प्रयोगसम्बन्धी स्पष्ट नीति, डेटा सुरक्षा तथा अनुसन्धान नैतिकतासम्बन्धी प्रशिक्षण अनिवार्य हुनुपर्छ ।’

कार्यक्रम संयोजक तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान एकाइ प्रमुख मञ्जिल सुवेदीले डिजिटल प्रविधि आफैं समस्या नभई यसको गैरजिम्मेवार प्रयोग मुख्य चुनौती रहेको बताए । उनका अनुसार अब शैक्षिक संस्थाहरूले केवल प्रविधि प्रयोग सिकाउने होइन, डिजिटल नैतिकता पनि सिकाउनुपर्ने आवश्यकता बढेको छ ।
‘पारदर्शिता, मौलिकता, सहमति र बौद्धिक इमानदारीलाई अनुसन्धान संस्कृतिको आधार बनाउन सके मात्रै डिजिटल नेपाल विश्वसनीय ज्ञान–समाजमा रूपान्तरण हुन सक्छ,’ सुवेदीले भने, ‘अन्यथा सूचना धेरै भए पनि सत्य, विश्वसनीयता र मौलिकता हराउने खतरा बढ्दै जानेछ ।’

कार्यक्रममा बौद्ध दर्शनका विज्ञ डा.फणिन्द्रकुमार न्यौपाने, डा.कुशलराज गौतम, डिजिटल प्लेटफर्म विशेषज्ञ डा.अशोक भण्डारी, डा.बसन्त पौडेल, डा.दिपक आचार्य, धनिश्वर तिमिल्सिना, डा.सारदा पौडेल, डा.सृष्टि भट्टराई, डा.कुलप्रसाद खनाल, नवराज तिवारी तथा आइटी विज्ञ रोशन पौडेललगायतले अनुसन्धान विधिका विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

प्रशिक्षणमा के–के सिकाइयो ?
पाँच दिने प्रशिक्षण कार्यक्रममा अनुसन्धानको आधुनिक प्रविधि, डिजिटल उपकरण र अनुसन्धान नैतिकतासम्बन्धी विविध विषय समेटिएका थिए । प्रशिक्षणमा तथ्याङ्कीय सफ्टवेयरको परिचय, डिजिटल युगमा अनुसन्धान नैतिकता, शैक्षिक अखण्डता तथा साहित्यिक चोरी रोकथाम, डेटा व्यवस्थापन, सफाइ र दृश्यीकरण, खुला विज्ञान तथा अनुसन्धान डेटा साझेदारीका उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिइएको थियो ।

त्यसैगरी बहुभिन्न तथ्याङ्कीय प्रविधिको प्रयोग, उन्नत गुणात्मक डेटा विश्लेषण, विषयगत विश्लेषण, ग्राउन्डेड सिद्धान्त, मिश्रित विधि अनुसन्धान, व्यवस्थित साहित्य समीक्षा तथा मेटा–विश्लेषणसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको थियो ।
सर्वेक्षण डिजाइन, प्रश्नावली निर्माण, स्केल प्रमाणीकरण, तुलनात्मक तथा केस अध्ययन अनुसन्धान, दिगो विकास लक्ष्यहरूको अनुसन्धान र प्रगति मापन, उच्च–प्रभाव अनुसन्धान लेखन, कार्य अनुसन्धान, सहभागी अनुसन्धान विधि, उन्नत अन्तर्वार्ता तथा फोकस समूह छलफल प्रविधिका विषय पनि समेटिएका थिए ।

यसैगरी बाइब्लियोमेट्रिक विश्लेषण, अनुसन्धान म्यापिङ, अनुसन्धान प्रस्ताव लेखन, अनुसन्धान प्रक्रियामा डिजिटल उपकरण र एआइको उपयोग, कार्यक्रम मूल्याङ्कन अनुसन्धान, सहकर्मी–समीक्षा प्रक्रिया तथा प्रकाशन रणनीतिबारे पनि विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए ।
डिजिटल प्रविधिको विकाससँगै अनुसन्धान क्षेत्रमा एआई, अनलाइन स्रोत र डिजिटल डाटाको प्रयोग तीव्र भइरहेका बेला अनुसन्धानको विश्वसनीयता, मौलिकता र नैतिक पक्षलाई सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख आचार्य दयानिधिको भनाइ छ ।