एरोमा हस्पीटालिटीद्वारा राष्ट्रिय कुलिनरी प्रतियोगिताका विजेता विद्यार्थीलाई सम्मान

मेचीकाली संवाददाता

१५ जेष्ठ २०८३, शुक्रबार
22 shares

बुटवल । बुटवलको योगीकुटीस्थित शान्तिकुञ्ज चोकमा रहेको एरोमा हस्पीटालिटीले दोस्रो राष्ट्रिय कुलिनरी प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा दोस्रो राष्ट्रिय कुलिनरी प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा यही जेठ १ र २ गते झापाको दमकमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा एरोमा हस्पीटालिटीबाट दुई समूह सहभागी भएका थिए । तीमध्ये एक समूह सेमिफाइनलबाट बाहिरिएको थियो भने अर्को समूहले उपाधि जित्न सफल भएको थियो । २३ वटा समूहलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको विजेता टोलीले नगद १ लाख रुपैयाँ पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।

उपाधि जित्ने टोलीमा सन्दीप बयाम्बु, प्रेमबहादुर थापा, सागर रायमाझी र अर्जुन जिसी सहभागी थिए । यस्तै सौरभ थापा, यमु राना, कुशल चौधरी र सौरभ थापाको समूह सेमिफाइनलबाट बाहिरिएको थियो । कार्यक्रममा एरोमा हस्पीटालिटीका सञ्चालक रूपेश बस्यालले विद्यार्थीहरूको सम्मान र प्रोत्साहनका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले कुलिनरी क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको उल्लेख गर्दै सीप र मेहनतका आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत अवसर प्राप्त गर्न सकिने बताए ।

सिद्धार्थ हस्पीटालिटीका कर्पोरेट सेफ तथा नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशलले पछिल्लो समय हस्पीटालिटी क्षेत्रको सम्भावना विस्तार हुँदै गएको बताए । उनले नेपालसहित विश्वभरका सेफहरूलाई एकताबद्ध गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सेफ सोसाइटी स्थापना गरिएको जानकारी दिए । ‘केही वर्षअघिसम्म सेफ पेशालाई हेर्ने दृष्टिकोण फरक थियो, तर अहिले यो सम्मानित पेशाका रूपमा स्थापित हुँदै गएको छ’, उनले भने, ‘मेहनत गर्ने युवाका लागि नेपालमै प्रशस्त सम्भावना छन् ।’
उनले प्रतियोगितामा नेपाल, भारत र क्यानडाका सेफहरूले निर्णायकको भूमिका निर्वाह गरेको जानकारी दिँदै आगामी वर्ष उक्त प्रतियोगिता बुटवलमा आयोजना गर्ने तयारी भइरहेको बताए ।

यस्तै लायन एण्ड लेमनका सञ्चालक लक्ष्मणप्रसाद श्रेष्ठले हस्पीटालिटी क्षेत्र अहिले सम्मानजनक र आकर्षक पेशाका रूपमा विकसित हुँदै गएको बताए । उनले यस क्षेत्रलाई केवल खाना बनाउने पेशाका रूपमा नभई रोजगारी, उद्यमशीलता र पर्यटन अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा लिनुपर्ने बताए । उनले युवाको बढ्दो आकर्षणले यस क्षेत्रमा उज्ज्वल भविष्य रहेको उल्लेख गरे ।

प्रतियोगिताका विजेता विद्यार्थीहरु सन्दीप बयाम्बु, अर्जुन जिसी र प्रेमबहादुर थापाले आआफ्नो भनाई राख्दै समूहगत सहकार्य र निरन्तर अभ्यासकै कारण यो सफलता हासिल भएको बताए । उनीहरूले पाल्पा, रुपन्देही तथा लुम्बिनी प्रदेशका मौलिक खानाका परिकार प्रस्तुत गरेर प्रथम हुन सफल भएको उल्लेख गरे । असफलता नै सफलताको आधार भएकाले निरन्तर मिहेनत र अभ्यास गर्ने हो भने सफल हुन सकिन्छ भन्ने कुरा पुष्टि भएको उनीहरूको भनाई थियो ।

कार्यक्रममा अध्ययनरत विद्यार्थी खेमबहादुर कार्कीले स्वदेशमै रोजगारी गर्न चाहने तथा विदेश जाने तयारीमा रहेका युवाका लागि एरोमा हस्पीटालिटी उत्कृष्ट रहेको बताए । सोही अवसरमा एरोमा हस्पीटालिटीबाट तालिम लिएर अस्ट्रेलिया जान लागेका विद्यार्थी अभिषेक भण्डारीलाई पनि सम्मान गरिएको थियो । एरोमा हस्पीटालिटी यस क्षेत्रकै प्रतिष्ठित हस्पीटालिटी तथा कुलिनरी आट्र्स ट्रेनिङ इन्स्टिच्युटका रूपमा परिचित छ । संस्थाले अन्तर्राष्ट्रिय स्तरको कुक, बेकरी, सुसी, बारिस्टा (कफी बनाउने) तथा वेटर सम्बन्धी तालिम प्रदान गर्दै आएको छ ।