८ वर्ष बित्दा पनि बनेन पुल

मेचीकाली संवाददाता

२८ असार २०७८, सोमबार
533 shares

हरि शर्मा
परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माण थालनी गरेको पक्की पुल ८ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । निर्माण कम्पनीको लापरबाही र सडक डिभिजन कार्यालयको उदासिनताका कारण बन्दै गरेको पुल अलपत्र अवस्थामा छाडिएको छ । पुल निर्माण हुन नसक्दा १५ मिनेटमा पुग्ने गाउँका लागि स्थानीयहरु १ घण्टा लगाएर आवतजावत गर्नुपर्ने बाध्यता छ । गाउँपालिकाको भूजहवा र मधौलिया गाउँ जोड्ने पुल निर्माणका लागि २०६९ असार २६ गते सम्झौता भएको थियो । पूर्वमन्त्री हृदयेश त्रिपाठीको निर्वाचन क्षेत्रमा पर्ने उक्त पुल तत्कालीन भौतिक, योजना निर्माण तथा यातायात मन्त्री हुँदा उनैले शिलान्यास गरेका हुन् ।

सडक डिभिजन कार्यालय बुटवल अन्तरगतको उक्त पुलको कुल लागत ५ करोड ५४ लाख हो । तर निर्माण कम्पनीले ३ करोड ७१ लाखमा ठेक्का लिएको डिभिजन कार्यालयका इन्जिनियर अशोक पौडेलले बताए । २ वर्षभित्र काम सक्ने गरी काठमाण्डौंस्थित मैनाचोली बक्सिङ्ग जेभी कम्पनीलाई ठेक्का दिइएको हो । समयमा काम नसकेपछि अहिलेसम्म ३ पटक म्याद थपिएको छ । क्षतिपूर्ति लगाउने गरी अन्तिम पटक २०७७ जेठ २६ गतेभित्र काम सक्न म्याद थप गरिएको थियो । तर सो अवधिमा पनि काम पूरा गर्न नसकेको इन्जिनियर पौडेलले जानकारी दिए । लामो समयसम्म काम पूरा नगरेको कम्पनीलाई कार्यालयले कालो सूचीमा समेत राखेको छैन ।

काम गर्दागर्दै अलपत्र अवस्थामा छाडिएको पुलको अन्य काम अरुलाई दिएर निर्माण कार्य अघि बढाउन समेत कार्यालयले पहल गरेको छैन । ‘ठेक्का तोडेर अरुलाई दिँदा झण्झटिलो र लामो समय लाग्ने भएकाले क्षतिपूर्ति लिएर भएपनि सोही कम्पनीलाई काम गर्न भनेका छौं ।’ इन्जिनियर पौडेलले भने । अहिलेसम्म ८८ प्रतिशत काम सकिएको पौडेलको दाबी छ । अहिलेसम्म निर्माण कम्पनीले ५० प्रतिशत भन्दाबढी रकम लगिसकेको कार्यालयले जनाएको छ । २ वर्षअघिदेखि बाँकी काम भएको छैन । काम तत्काल सुरु गर्नका लागि निर्माण कम्पनीलाई पटकपटक ताकेता गरिरहेको र काम सकिएपछि क्षतिपूर्ति कटाएर रकम भुक्तानी गरिने कार्यालयले जनाएको छ ।