बुटवलको बजेटः २ अर्ब ३५ करोड

मेचीकाली संवाददाता

११ असार २०७९, शनिबार
502 shares

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ । उपमहानगर नगरसभाको एघारौं अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन् ।

बुटवलको बजेटको अंशमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानवापत १ करोड ६१ लाख ३३ हजार, शशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान २ करोड ९९ लाख रहेको छ ।
यस्तै, राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालू आर्थिक वर्षको अल्याको ३४ करोड ५८ लाख रुपैयाँ रहेको छ । नगरसभामा बजेट पेश गर्दै उपप्रमुख अर्यालले उपमहानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरु पनि घोषणा गरेकी छिन् ।

बुटवल उपमहानगरले उपलब्ध स्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ ।

यस्ता छन् बजेटका प्राथमिकता
बुटवल उपमहानगरले यसपटक वडास्तरबाट परिचालन हुने बजेटको सीमालाई बढाएर १६ करोड ५० लाख पु¥याएको छ । बुटवल उपमहानगरपालिकाको बजेटले राजस्वका दरलाई वृद्धि नगरी विभिन्न क्षेत्रमा लाग्ने करमा छुट दिएको छ । उपमहानगरपालिकाले सम्पत्ति कर, बहालकर, हाटबजार बैठकी, इरिक्सा नवीकरण÷रुट इजाजत जस्ता कर तथा गैरकरका दरहरु कम्तीमा १० प्रतिशतसम्म न्यून गरेको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर शुल्क बुझाउने करदातालाई १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
यस्तै सम्पत्ति कर र भूमिकर २०७९ कात्तिक मसान्तसम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने, पेशा व्यवसाय कर र घरबहाल करमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने प्रस्ताव बजेटमा गरिएको छ । बुटवलले नवीकरण गर्न छुटेका व्यवसायहरुको नवीकरण गर्दा अगाडिको कर तथा जरिवानामा समेत छुट दिने भनेको छ ।

यस्तै, राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारका क्रममा व्यवसाय सञ्चालन हुन नसकेर मर्कामा परेका राजमार्ग मोहडाका सटरका व्यवसायीहरुलाई व्यवसाय करमा थप ३५ प्रतिशत छुट उपमहानगरले दिने भएकोे छ । बुटवलले बजेटमार्फत जनतासँग प्रमुख, नगरप्रमुख ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, क्षयरोगमुक्त अभियान, स्वस्थ जीवनशैलीका लागि योग, नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने अवधारणा कार्यान्वयन गर्ने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।
स्वच्छ खानेपानी, फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, शैक्षिक गुणस्तर सुधारजस्ता कार्यक्रम बजेटमा परेका छन् । यस्तै, प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी, कृषि, पशुविकास, श्रम रोजगारी, वन वातावरण, सहकारी प्रवद्र्धन, पर्यटन विकास, छाडा चौपाया नियन्त्रण, रोजगारी सिर्जना जस्ता कार्यक्रमले पनि बजेटमा प्राथमिकता पाएका छन् ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पतालका लागि बजेट परेको छ ।
यस्तै आयुवेदिक अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरु वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु, आमा र बालबालिकाको पोषणलक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिने भएको छ ।